+
+

निर्माण व्यवसायीले भेटे शहरी विकास मन्त्री, व्यवसायीको समस्या सम्बोधन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १८:४६

२९ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको टोलीले शहरी विकासमन्त्री सीता गुरुङसँग भेटवार्ता गरेको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले मन्त्री गुरुङसँग भेट गरी निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न माग गरेको छ ।

सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन भएता पनि निर्माण व्यवसायीहरूको समस्या समाधान हुन नसकेको गुनासो मन्त्री गुरुङ समक्ष व्यवसायीहरुले राखे । मूल्य समायोजन नहुँदा व्यवसायीहरू मारमा परेको भन्दै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । कोभिड कहर, निर्वाचन, चाडपर्व, खानी तथा नदीजन्य सामग्रीको उत्खननमा लगाइएको रोक, भुक्तानी अभावका कारण व्यवसायीहरूले समयमै काम गर्न नसकेको तर्फ मन्त्री गुरुङको गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष सिंहले बताए ।

सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रुपमा २०८१ असार मसान्तसम्म म्याद थपका लागि अध्यक्ष सिंहले माग गरे । २०८१ असार मसान्तसम्म पनि कार्य सम्पन्न नहुने आयोजनाहरूको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन नियम बमोजिम सुविस्ताको आधारमा अन्त्य गर्न सकिने अध्यक्ष सिंहको प्रस्ताव थियो ।

व्यवसायीहरुसँगको भेटमा मन्त्री गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न निर्माण व्यवसायीहरूसँग आग्रह गरिन् । मन्त्री गुरुङले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाइन् ।

निर्माण उद्योगसँग शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयले प्रत्यक्ष सरोकार राख्ने भएकाले दुवै मन्त्रालयको सहकार्यमा निर्माण उद्योगको विकासका लागि नीतिगत निर्णय गरिने मन्त्री गुरुङको भनाइ छ । निर्माण व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएको तर्फ संकेत गर्दै मन्त्री गुरुङले समस्या समाधानका लागि पहल गर्ने बताइन् । सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायी लगायतका सरोकारवाललाई संलग्न गराइने मन्त्री गुरुङले बताइन् । निर्माण व्यवसायीहरूलाई क्षमता भन्दा बढी काम नलिन उनको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?