+
+

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते २०:०७

७ वैशाख, काठमाडौं । नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जिते ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन पनि ७ स्पर्धाको फाइनल भएको थियो ।

पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जिते । उनले फाइनलमा नेपाल एपीएफ क्लबका सुजन तामाङलाई पराजित गरे । नेपाल आर्मीका जंगबहादुर सारु र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतो पहिलो भए ।

उनले फाइनलमा आर्मीका राजेश थापा मगरलाई हराए । एपीएफका लेलिन डंगोल र बागमती प्रदेशका रामभक्त तामाङले कांस्य जिते ।

१०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेश प्रदेशका हिमान्शु गुप्तालाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । बागमतीका आकाश आले मगर तेश्रो स्थानमा रहे । १०० केजीमाथि आर्मीका रन्जेश गोलेले बाजी मारे । उनले फाइनलमा प्रहरीका राजन जोशीलाई निराश पारे । कर्णाली प्रदेशका निश्चल राइ तेश्रो बने ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । फाइनलमा पुनमले प्रहरीकी रजनी मगरलाई पन्छाइन् । बागमतीकी रञ्जना खड्का तेश्रो बनिन् ।

७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पुर्णिमा चौधरीको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी निर्मला घर्ती मगरले कांस्य हात पारिन् । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीमाथि जित दर्ता गर्दै स्वर्ण चुमिन् । कर्णालीकी दिपिका अछाजु तेश्रो भइन् ।

प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?