+
+

एसीसी प्रिमियर कप : आज नेपालको खेल साउदीसँग, नजर सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते ७:३२

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरबसँग खेल्दा नेपालको नजर सेमिफाइनलमा हुनेछ ।

समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान (माथिल्लो) मा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ ।

नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाट ४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदीको समान २–२ अंक छ ।

नेपालले ११ वर्षपछि साउदीसँग ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१२ मा एसीसी ट्रफी एलिटमा नेपालले साउदी अरबलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यसयता दुवै टिममा धेरै परिवर्तन भएको छ । नेपाली टिममा त्यसबेला खेलेका ज्ञानेन्द्र मल्ल मात्र हालको टिममा छन् । यद्यपि उनले अघिल्ला दुई खेल बेन्चमै बिताएका थिए । आजको खेलमा ज्ञानेन्द्रले अवसर पाउने सम्भावना पनि छ ।

साउदी टिममा भने त्यसबेलाका कुनै पनि खेलाडी अहिले छैनन् ।

क्रिकेट विश्वकपको पछिल्ला तीन सिरिजदेखि लयमा रहेको नेपालले जारी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?