+
+

एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते ६:४९

१४ वैशाख, काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ ।

जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ ।

यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।

आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा  नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो । नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।

यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

यस समूहमा आज हुने हङकङ र कुवेतबीचको खेलको विजेता सेमिफाइनल पुग्नेछ । हङकङ तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ । दुई खेल जितेर चार अंक जोडेको कुवेत तेस्रो स्थानमा छ ।

कुवेतलाई पराजित गरेमा हङकङ समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।  कुवेतले हङकङलाई पराजित गरेमा भने यूएई र कुवेतको समान ६ अंक हुनेछ यस्तोमा रनरेट निर्णायक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?