+
+

‘सिमसिमे पानीमा’ गीतको तीसवर्ष : रेखा शाहले ल्याइन् नयाँ भिडियो र अडियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १७:१७

काठमाडौं । लोकतन्त्रको पुनर्उदयसँगै नेपाली सङ्गीतमा सार्वजनिक भएको गीत ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, लोकप्रिय समेत बनेको थियो ।

उक्त गीत रेकर्ड भएको तीन दशकको अवसर पारेर गायिका शाहले नयाँ अडियो र भिडियो सार्वजनिक गरेकी हुन् । मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङको सङ्गीत संयोजन छ । गीतमा भारतीय वाधवादकको वादन छ । भारतीय फिल्मका चर्चित गीतको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले ‘सिमसिमे पानी’लाई नयाँ स्वरूपमा उतारेका हुन् ।

गीतबारे गायिका शाह भन्छिन्, ‘आधुनिक प्रविधि र सुविधासम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ ।’ लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले श्रोतालाई नयाँ स्वाद दिनेमा गायिका शाह विश्वस्त छिन् । गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ ।

गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन् । रुपेश थापाको छायाङ्कन र निर्देशन रहेका गीतमा मिलन विश्वकर्माको सम्पादन छ । नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ । गीतमा प्रयोग भएका वाधवादकलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छिन् । रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएका भिडियोले दर्शक/श्रोतामा साङ्गीतिक ऊर्जा थप्ने विश्वास गायिका शाहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?