+
+

बिस्कुट स्वास्थ्यका लागि कति फाइदाजनक ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख २४ गते १७:२३

काठमाडौं । धेरै नेपालीको बिहानको सुरुवात चिया र बिस्कुटबाट हुन्छ । बालबच्चाको पनि मुख्य रोजाइमा यो पर्छ । कोही बिरामीलाई भेट्न जाँदा पनि हामी प्रायः बिस्कुट लिएर जान्छौं ।

बिस्कुट उपभोग गर्नेहरुको संख्या निकै भएकाले बजारमा पनि विभिन्न प्रकारका बिस्कुट पाइन्छन् ।  ती बिस्कुटमध्ये पनि डाइजेस्टिभ बिस्कुट स्वस्थकर भनेर खोजीखोजी खाने गरेको पाइन्छ ।

बिस्कुट स्वस्थकर छ त ?

‘बिस्कुट कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसमा केही मात्रा प्रोटिन र मिनरल्स पनि हुन्छ,’ पोषणविद् सञ्जय महर्जन भन्छन्, ‘एकदमै भोक लागेको बेला बिस्कुट खाइयो भने यसले भोक मेटाउँछ । तर कस्तो बिस्कुट खाने, कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्छ ।’

बिस्कुटमा हुने सबैभन्दा खराब तत्त्व ट्रान्स फ्याट हो । साथै यसमा गुल्टेन, चिनी र पिठो मिलेर बनेको हुन्छ । साथै यसलाई प्रसोधन गरेर लामो समय टिक्ने गरी प्याकेटमा प्याक गरिन्छ । दैनिक रूपमा बिस्कुट खाँदा स्वास्थ्य लाभ भन्दा हानि हुने महर्जन बताउँछन् ।

बिस्कुटले स्वास्थ्यमा गर्ने नकारात्मक असर

मुटुको समस्या

बिस्कुटमा हुने ट्रान्स फ्याटले कोलेस्टेरोल बढाउँछ र हृदयरोग निम्त्याउँछ । साथै उच्च रक्तचापका बिरामीमा रक्तचाप बढाउन सक्छ । त्यसैले मुटुरोगबाट पीडित व्यक्तिले दैनिक बिस्कुट सेवन गर्न नहुने उनी बताउँछन् ।

सुगर लेभल बढाउँछ

बिस्कुटमा चिनी प्रचूर मात्रामा हुन्छ, यसले शरीरमा सुगर लेभल बढाउँछ । त्यसैले मधुमेहको समस्या भएका व्यक्तिले पनि बिस्कुटको सेवन गर्नु लाभदायक हुँदैन । दैनिक  लामो समय बिस्कुट खाँदा मधुमेहका जोखिम पनि बढ्न सक्ने महर्जन बताउँछन् ।

मोटोपन

दैनिक बिस्कुट खाँदा मोटोपन छिटो बढ्न सक्ने महर्जन बताउँछन् । ‘यसमा धेरै क्यालोरी हुन्छ । किनकि बिस्कुट पनि एक प्रकारको जंकफुड हो । त्यसैले बिस्कुट खाँदा तपाईंलाई प्राकृतिक रूपमा भोक कम लाग्छ । साथै यसको ट्रान्स फ्याट, पिठो र चिनीले तपाईंको तौल बढाउँछ ।’

पेटसम्बन्धी समस्या

प्रायः बिस्कुटहरू मैदाबाट बनेको हुन्छ । त्यसैले बिस्कुटमा फाइबरको मात्रा लगभग हुँदैन । दैनिक बिस्कुट खाँदा कतिपयलाई कब्जियतको समस्या हुन सक्छ । साथै बिस्कुटको धेरै सेवनले मेटाबोलिजमलाई सुस्त बनाउने महर्जन बताउँछन् ।

अन्यभन्दा डाइजेस्टिभ बिस्कुट स्वास्थ्यकर हो ?

अन्यको तुलनामा डाइजेस्टिभ बिस्कुट स्वास्थ्यका लागि केही मात्रामा राम्रो हो । यसमा प्रोटिन र फाइबर हुन्छ । यद्यपि यसमा नुन, चिनी, ट्रान्स फ्याट भने हुन्छ । जसले स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविद् महर्जन बताउँछन् ।

‘डाइजेस्टिभ बिस्कुटमा हुने ट्रन्सफ्याट, नुन र चिनीले पनि उच्च रक्तचाप, मधुमेह र मुटु रोगको जोखिम बढाउँछ,’ उनी भन्छन्, ‘अन्य बिस्कुटजस्तै डाइजेस्टिभ बिस्कुटलाई पनि लामो समय टिकाउन प्रिजर्भेटिभहरू थपिन्छन् । यसमा उच्च सोडियम पनि हुन्छ ।’

डाइजेस्टिव बिस्कुटमा १० प्रतिशत सेचुरेटेड फ्याट हुन्छ, जुन हाम्रो शरीरको लागि राम्रो नभएको महर्जन बताउँछन् ।

डाइजेस्टिभ बिस्कुटमा अन्यको तुलनामा चिनी कम हुने भएकाले मधुमेहका बिरामीले खान मिल्छ भनिन्छ । ‘अरु बिस्कुटको तुलनामा चिनी कम हुन्छ । तर चिनीको प्रयोग नै नभएको भने हुँदैन । त्यसैले यो धेरै खाँदा हानि पुर्‍याउन सक्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?