+
+

काभा वुमन्स भलिबलमा सेमिफाइनल खेल आज, काजखस्तानसँग नेपालको परीक्षा

लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपालको लागि काजखस्तान ठूलो परीक्षाको रुपमा हुनेछ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ १२ गते ७:०५
नेपालको भलिबल टिम

१२ जेठ, काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ ।

नेपाललले दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोलीको रुपमा रहेको काजखस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस क्रममा काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलंका र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलंका र उज्वेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

यता घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

एसियालीदेखि विश्वस्तरसम्म नै खेल्दै आएको काजखस्तान यस प्रतियोगिताको उपाधिको ठूलो दाबेदारको रुपमा छ । लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपालको लागि काजखस्तान ठूलो परीक्षाको रुपमा हुनेछ । बलियो टोली भएपनि यस पटक काजखस्तानको टिममा युवा खेलाडीहरुको बाहुल्य छ । एक जना खेलाडी मात्र ३० वर्षका छन् भने बाँकी सबै सन् २००० भन्दा यता जन्मेका खेलाडीहरु छन् ।

नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न काजखस्तानलाई पराजित गर्नुपर्नेछ । काजखस्तानसँगको हारले भने नेपालको उपाधि जित्ने लक्ष्यसहित दोस्रो स्थान पनि गुम्नेछ ।

नेपाली टिममा कप्तान अरुणा शाही र सरस्वती चौधरी सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । प्रशिक्षण दौरान चोट लागेपछि सरस्वतीले कीर्गिस्तान विरुद्ध पहिलो खेल खेलिनन् । बंगलादेश र भारतविरुद्ध खेलेकी उनले भारतविरुद्ध राम्रो प्रदर्शन गरेकी थिइन् । यस्तै स्पाइकरमा उषा भण्डारी र निरुता ठगुन्नाले पनि भारतविरुद्ध राम्रो खेलेका थिए ।

६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टिममा समावेश गरेको नेपालले काभा च्यालेन्स कपअघि आन्तरिक तयारी बाहेक कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन ।

नेपालले उपाधि जित्ने सम्भावना कायम राख्न काजखस्तानलाई पराजित गर्नुपर्नेछ । काजखस्तानसँगको हारले भने नेपालको उपाधि जित्ने लक्ष्यसहित दोस्रो स्थान पनि गुम्नेछ । सेमिफाइनलमा पराजित भए नेपालले तेस्रो स्थानको लागि खेल्नुपर्नेछ ।

काजखस्तानकाे भलिबल टिम

समूह चरणमा एक मात्र बलियो टोली भारत विरुद्ध खेलपछि नेपालले धेरै कुरा सिक्ने मौका पाएको कप्तान अरुणा शाही र प्रशिक्षक जान डी ब्रान्टले बताएका थिए ।

नेपालले प्रतियोगिताअघि ठूला टोलीसँग अभ्यास खेल खेल्न नपाउँदा भारतविरुद्ध एक्सपोजरको कमी प्रष्टै देखिएको थियो । भारत विरुद्धको खेलमा गरेको गल्ती काजखस्तान विरुद्ध नदोहोर्याउने नेपालको लक्ष्य छ । घरेलु दर्शक र कवर्टको साथ पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेर भारतसँग नै फाइनल खेल्ने योजनामा छ ।

नेपाल र काजखस्तान खेल्नुअघि भारतले पहिलो सेमिफाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । भारत अपराजित हरँदै समूह ‘ए’ को विजेता बन्दा उज्वेकिस्तान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

पछिल्लो पटक सन् २०२१ मा बंगलादेशमा भएको एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपमा उज्वेकिस्तान उपविजेता बनेको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?