+
+

बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

रासस रासस
२०८० जेठ १२ गते ८:२७

१२ जेठ, बागलुङ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहोर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन ।

ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहोर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहोर खोलामा बग्ने गरेको छ । अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहोर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ ।

फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहोरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहोर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।

बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन् । पैदलयात्रुलाई फोहोरको दुर्गन्धले समस्या भएको छ । बुर्तिबाङबजारको फोहोर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ ।

कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए । फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ ।

“बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहोर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ”, उनले भने ।

सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए । वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ । सिर्पाली भन्छन्, “फोहोर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ ।”

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?