+
+
गन्तव्य :

तिलस्मी रारा, अद्भुत रारा

सरोज कटुवाल सरोज कटुवाल
२०८० जेठ २५ गते १७:५३

विरलै हुन्छ तर कहिलेकाहीं विचित्रै हुन्छ ! विना कुनै योजना, विना कुनै जोरजाम, मेरो रारा यात्रा त्यही एउटा विचित्र थियो ।

एक बिहान मित्र केशव बोहोराले कफीको कप समाउँदै भने- भोलि रारा जाने हो ? रारा जाने रहर मनमा पलाएको धेरै भएको थियो । केशवजीको प्रस्तावले मेरो रहरमा पखेंटा लगाइदियो । मैले स्वीकारोक्ति स्वरूप मुन्टो हल्लाएँ । मुस्कुराउँदै केशवजीले कफी कप मतिर अघि सार्दै भन्नुभयो, चियर्स…!

भोलिपल्ट बिहान ६ बजे घरबाट एयरपोर्टतर्फ निस्किएँ । बिहानको चिसो काठमाडौं ! सडक बत्ती एकोहोरो घोसेमुन्टो लगाएर बलिरहेको थियो । उपत्यका वरपरका डाँडा उक्लिएर अलिअलि घामको उज्यालो शहरमा पोखिंदै थियो । सडक र शहरले विस्तारै गति लिंदै थियो । एयरपोर्ट पुग्दा केशवजी चिया सुर्काउँदै मलाई नै पर्खिरहेका रहेछन् । सधैं झैं, प्लिज मलाई माउन्टेन साइडको विन्डो सिट गर्दिनुस् न है भन्दै एयरपोर्ट पुगेर मैले बोर्डिङ पास लिएँ ।

जहाज उडेको १ घण्टा १० मिनेटपछि हामी नेपालगञ्ज पुग्यौं ।

नेपालगञ्ज पुगेर हामी मुगु जाने अर्को जहाज चढ्यौं । यो मेरो जीवनको पहिलो टि्वनअटर जहाजको उडान थियो । मेरो पहिलो उडान नेपालकै सबैभन्दा जोखिमयुक्त एयरपोर्टमध्ये एक ताल्चा एयरपोर्ट पुगेर टुंगियो । जहाजबाट ओर्लिएपछि रारा जाने उकालो बाटो देखियो । उकालो चढ्नुअघि हामी झोला मिलाउन थाल्यौं ।

उति नै बेला ‘घोडा चाहिन्छ सर ?’ एकजना दाइ आएर सोध्नुभयो । चाहिंदैन दाइ, मैले भनें । केशवजीले भन्नुभयो- हैन नम्बर चैं लिई राखौं क्यार ! बाजविर दाइ रारा… मैले उनको नम्बर नोट गरें । हामी उकालो लाग्यौं । करिब आधा घण्टा जति हिंडेपछि केशवजीले झोला फ्यात्त भुईंमा फाल्दै लामो सास फेर्नुभयो । ए दाइ घोडा लिएर छिट्टै आउनु न है ! केशवजीले हिंड्न नसक्ने संकेत देखाउन थालेपछि मैले बाजविर दाइलाई फोन लगाएँ । बाजविर दाई आउन्जेल हामीले त्यही उकालोमा ज्यान बिसायौं ।

बाजविर दाइ घोडा लिएर आइपुगे । हामी फेरि अघि बढ्यौं । हजुरको झोला म बोकिदिन्छु सर केही समय हिंडेपछि बाजविर दाइले मलाई भन्नुभयो । पर्दैन दाइ यस्तो उकालो-ओरालो त घाँस-दाउरा बोकेर कति गरियो गरियो । मैले थोरै फुर्ती लगाएँ । हो र ! मेरो कुरा सुनेर आश्चर्य भावमा बाजविर दाइले मलाई सोधे- सरको घर कता नि ! इलाम, मैले जवाफ दिएँ । म पनि इलामकै भइसकें नि, भर्खरै आइतबारेमा जग्गा किनेर घर बनाएका केशवजीले शानसहित कुरा थपे । बाजविर दाइ मुस्कुराए । गफिंदै हामी उकालो चढिरहृयौं ।

उकालोमा कतै घना त कतै पातला जंगल भेटिए । घाम छेकेर साना ठूला रूखहरूले हाम्रो बाटो घरी उज्यालो घरी अँध्यारो बनाउँथे । एउटा पहाड नसकिंदै अर्को पहाड, एउटा खोंचपछि अर्को खोंच, कतै कतै अजंगका काला पहाड र तिनै पहाडका टुप्पोमा थोरबहुत हिउँ, कतै तेर्साे कतै उकालो त कतै ओरालो बाटो भएर हामी रारा भेट्न लम्किरहृयौं । बोलिरहे झैं गाइरहे झैं लाग्ने चराका हुलहरू घरी यता घरी उता गरिरहन्थे ।

बाटोभरि चिसो हावा र तातो घामको बेजोड दोहोरी चलिरहृयो । हामीलाई ज्याकेट फुकाल्न र लगाउनको हैरानी भयो । हामीलाई डोर्‍याएर रारा लैजाने बाटो र यात्रा उति सहज थिएन तर कम्ती मात्रै रोमाञ्चक थिएन । हाम्रो पुरानो एक रुपैयाँको नोटमा भएको हिमाल यही हो है सर, उकालो हिंड्दा हिंड्दै पारिपट्ट िचंखेली हिमाल देखाउँदै बाजविर दाइले भने ।

बन्दुक झैं लामो क्यामरा झिकेर केशवजी खिचिक् खिचिक् पार्दै फोटो खिच्न थाल्नुभो । चंखेली हेर्दै केही समय थकान मेटाएर फेरि हामी अघि बढ्यौं । अब पुग्नै लाग्यो सर… बेला-बेला बाजविर दाइले उकालोमा मलाई हौस्याइरहे । तपाईं त बेजोडै हिंड्न सक्नुहुनेरहेछ… बेला-बेला फुर्काइरहे उकालोमा ।

दिन उज्यालिएको थियो । आकाश विछट्टै खुलेको थियो । बाटोले करिब ४ घण्टा जति डोर्‍याएपछि देखियो नीलो… गाढा नीलो रारा । हावासँगै किनारलाई छुँदै ढलपल.. ढलपल… गर्दै हल्लिरहेको रारा । वरिपरि पहरेदार पहाडहरूले घेरिएर मुस्कुराइरहेको रारा । हाँसका बथान स्वच्छन्द रूपले पौडी खेलिरहेको रारा । हावाले ल्याएको लहरमा लहरिरहेको रारा । विशाल रारा । तिलस्मी रारा । अद्भुत रारा । नीलो आकाशसँग जोडिए झैं देखिने नीलो रारा । पहिलो पटक रारालाई देख्दा मलाई यो छुट्याउन पनि सकस भएझैं भयो कि रारासँग आकाशले रंग सापटी मागेर आकाश यति नीलो छ कि आकाशसँग रंग सापटी मागेर रारा ।

ओ माई गड… केशवजी घोडाबाट ओर्लिएर दौड्दै तालतिर जानुभयो । मैले झोला बिसाएँ, जुत्ता खोलें र म पनि त्यतैतिर दौडिएँ । सर यताउता पनि हेर्दै गर्नु है फेरि आर्मीले देख्यो भने गाली गर्छ- मलाई दौडिएको देखेर बाजविरले सचेत गराए । तालमा पुगेर मैले अञ्जुलीभरि रारा उठाएँ र एकोहोरो हेरिरहें । कति नै बेर अडिन्थ्यो र ! मैले अञ्जुलीमा उठाएको रारा थोपा-थोपा गर्दै रारामै मिसियो । मैले फेरि हत्केलामा पानी लिएँ र मुख धोएँ, शिर भिजाएँ । आँखा चिम्लिएर धेरैबेर रारामा पैताला डुबाएर बसिरहें ।

हामीले त्यहाँ अनेकन् फोटो, भिडियो खिच्यौं । हामी त्यहाँ झण्डै एक घण्टा जति बस्यौं तर हामी त्यहीं हरायौं । सर अब जाउँ है अझै धेरै हिंड्न छ, बाजविर दाइले भने । हुन्छ हामीले टाउको हल्लायौं । रारा किनारै किनारको तेर्सै बाटो देखेर केशवजीले पनि हिंडेर जाने निधो गर्नुभयो । कतै तालै तालको छेउ कतै तालभन्दा अलिक माथि कतै जंगल, कतै कतै काठको पुल हुँदै हामी लम्किरहृयौं । बाटोमा फाट्टफुट्ट भेटिने गुराँसका फूलहरूले हामीलाई स्वागत गरिरहे झैं लाग्थ्यो । फोटो, भिडियो, किस्सा, कथा, थकान, विश्राम बाटोमा यस्तै सिलसिला चलिरहृयो ।

बाटोमा एक किनार छेउ नेपाली सेनाको क्याम्प भेटियो । सँगै एउटा क्यान्टिन पनि । चिया खाँदै एकछिन थकाइ मारौं है ! मैले प्रस्ताव गरें । मेरो कुरा सुनेर बाजविर दाइले भने, अब त धेरै छैन सर पुग्नै लागियो । घाम डुब्न लागेको थियो । आज पूणिर्मा थियो त्यही भएर जून पनि उदाउँदो थियो । मैले चिया खाँदै डुब्दो घाम रारामा पौडिरहेको हेरिरहें । नीलो रारा क्षणभरमै सुनौलो भयो । त्यो बेला हाँसका बथान सुनमा डुबुल्की मारिरहे झैं देखिन्थे ।

काठमाडौंमा घाम झुल्किएको मेरो दिन मुगु रारा किनारमा घाम अस्ताएसँगै सकियो । त्यहाँबाट हिंडेको केही समयपछि होटल पुगियो । झोला बिसाइयो र थाकेका खुट्टालाई केही समयलाई आराम दिएर केहीबेर फोनको ग्यालरी हेर्न थालियो ।

रारामा ठोक्किएर आएको चिसो हावाले झोलाको ज्याकेट सम्झायो । राराको चिसो थेग्ने न्यानो भएर खान गइयो । आन्तरिक पर्यटकले भरिभराउ थियो होटल अझभन्दा थेगिनसक्नु थियो । पर्यटकको व्यवस्थापनमा धेरै समस्या छन् जुन जति सक्दो छिटो सुधार गर्नुपर्छ भन्ने स्पष्ट देख्न सकिन्थ्यो ।

खाना खाने बेला हरेकले आ-आफ्ना अनुभवहरू सुनाइरहेका थिए । त्यहाँ जति सुन्दरताका अनुभव सुनाइए त्यति नै कष्टका किस्सा पनि । जति रारालाई स्वर्गसँग तुलना गर्ने भेटिए, रारा यात्रा धेरै गाह्रो र कष्टकर रहेछ भन्ने पनि त्यति नै भेटिए ।

पूणिर्माको रात थियो मैले सोचें आज मुर्माटपबाट जून रारा तैरिरहेको कस्तो देखिन्छ होला ? मैले होटल धनीसँग एउटा इच्छा जाहेर गरें । दाइ मलाई एकजना साथी दिनुस् न म मुर्माटपबाट पूणिर्माको रारा हेर्छु । हा हा हा… मेरो कुरालाई उडाए झैं उनि हाँसे । हैट् धेरै उकालो छ सर साहुजी फेरि बोल्न थाले । चार घण्टा जति लाग्छ । बाटोमा भालु लाग्छ । बाघ आउन सक्छ । बँदेल आयो भने ? साहुजीले मलाई डर देखाए ।

छेवैमा बसेका बाजविर दाइले साहुजीको कुरामा समर्थन गरे । मैले मुख बिगारें । भोलि जाउँ सर म लिएर जान्छु तपाईंलाई बाजविर दाइले मलाई सान्त्वना दिंदै भने । उसो भए घाम झुल्किएको हेर्न पुग्ने है त ! मैले प्रस्ताव गरें । ओके सर बिहान ४ बजे है त । बाजविर दाइले जवाफ दिए । हामी कोठातिर लाग्यौं ।

साँच्चै बिहान चारै बजे बाजविर दाइ हामीलाई उठाउनै आइपुगे । केशवजीलाई सञ्चो नभएर नजाने निधो गर्नुभयो । हामी दुई जना उकालो लाग्यौं । जंगलको बीचको उकालो बाटो हुँदै हामी रोकाया गाउँ पुग्यौं । म एकैछिन रोकिएर यताउता आँखा डुलाउन थालें । ढुङ्गाले बनेको र माटोको छाना भएको होचा-होचा घरहरू मेरो लागि नौला थिए । हिउँ पर्ने सिजनमा यहाँको कष्ट कस्तो हुन्छ भनेर मलाई बाजविर दाइले सुनाए । सुन्दा मात्र पनि अन्दाज लगाउन सकिन्थ्यो त्यो समय कति कठिन हुन्छ होला ।

हुन पनि हिउँ केही क्षण देख्नेलाई जति रमाइलो छ भोग्नेलाई उति नै गाह्रो पनि । आँखा उठाएर माथि हेरें मुर्माले पर्खिरहेको थियो Û राराको सग्लो रूप हेर्न हामी फेरि उकालो उक्लिन थाल्यौं । उकालोमा घरी सास फुलाउँदै घरी थाकेको शरीर बिसाउँदै घरी-घरी रारालाई हेर्दै करिब अढाइ घण्टाको उकालो यात्रापछि पुगियो मुर्माटप ।

बिहानको ६.३० बजेको हुँदो हो हामी माथि पुग्दा । डाँडाको टुप्पोमा रेडियो नेपालको एउटा रिले स्टेशन मात्र थियो । त्यस बिहान डाँडामा हामी सबैभन्दा पहिले पुगेका थियौं । मलाई रारामा झुल्केको घामको सम्झना आफूसँगै लिएर जानु थियो । मैले क्यामरा सेट गरे र टाइमल्याप्स खिच्न सुरु गरें ।

मेरो अघिल्तिर पूर्वी क्षितिजमा थोरै लालिमा देखिन थाल्यो । रातो क्षितिजको लालिमा धर्सो जस्तै भएर विस्तारै आकार लिन थाल्यो । मेरो आँखा सूर्यको प्रतीक्षामा पूर्वी क्षितिजतिर एकाग्र भयो । यस बेलासम्म २/४ जना अरू मान्छे पनि आइपुगे । माथि पूर्वी डाँडामा घाम उदाउने सुरसारमा थियो तल रारा हेर्दा लाग्थ्यो ऊ मीठो निद्रामा मस्त छ ।

क्षितिज झैं लाग्ने लालिमाले विस्तारै आकार लिन थाल्यो । विस्तारै घामको रातो झुल्को देखियो । वरपर पहाड र हिमाल बीच घेरिएर सुन्दरताका अनगिन्ती आभाहरू बीच मुस्कुराइरहने नीलो रारामा रातो घाम पोखियो उति नै बेला मेरोबाट आँसु ।

रारा रातो भयो मेरो आँखा चिसो । मैले रारालाई गर्लम्म अँगालो हालें । हरेक दिन घाम झुल्कियो तर मेरो लागि आज झुल्किए जस्तो घाम आजपर्यन्त कहिल्यै झुल्किएको थिएन । हेरिरहन मन लाग्ने घाम । सानो कलिलो घाम । रातो-रातो, पहेंलो-पहेंलो रंगको घाम । हेर्दा आँखालाई पनि शीतल हुने घाम ।

त्यस दिन मैले एकैपटक घाम र रारा धीत मरुन्जेल हेरें । आँखामा नअट्ने रारालाई मुर्माबाट एकै पटकमा हेरें । बटुका जस्तै देखियो रारा । घाम विस्तारै तेजिलो हुँदै क्षितिज छाडेर आकाश उक्लन थाल्यो । रारा उज्यालिन थाल्यो । घाम हेर्न नसकिने गरी चम्किलो भयो । रारा हेरिरहन मन लाग्ने गरी नीलो भयो । घामले आफ्नो सौर्य देखायो राराले आफ्नो सुन्दरता । वाह् सुन्दर हुनु त यस्तो पो हुनु, ताल हुनु त रारा जस्तो पो हुनु !

तर मुर्माबाट रारा हेर्दा हेर्दै एकमनले सोचें यो सुन्दर रारा हेर्दा शिथिल मुगु किन छुट्छ ? यो अद्भुत सौन्दर्यसँगै यहाँबाट कुरुप मुगु पनि त देखिन्छ जुन प्रायःजसोले नदेखे झैं गर्छन् नलेखुँ झैं गर्छन्- भोक, रोग, अभाव, दबाबका कथाहरू ।

मुर्माबाट रारा हेर्दा सदियौंदेखि भोको पेट र रोगी शरीर लिएर रारा आउने पर्यटकलाई स्वागत गरिरहेको मुगु किन छुट्छ ? राराको सुन्दरतामा हराउन आएका आगन्तुक भित्र्याएर सामान्य भन्दा सामान्य औषधोपचार खोजिरहेको मुगु किन छुट्छ ? सहज सडक सुविधा पर्खिरहेको मुगु किन छुट्छ ? साक्षरताको हाँगो समाएर माथि उक्लिन पर्खिरहेको मुगु । राराको सुन्दरता र मुगुको कष्ट बीचको विरोधाभास किन छुट्छ ?

सदियौंदेखि पहाडले बर्बर शासन जमाएको मुगुमा जीवन कति गाह्रो होला जहाँ आजको आधुनिक जमानामा जीवनलाई सहज बनाउने आयामहरू शून्य बराबर छन् । मन सानो भयो । मैले प्रार्थना गरें कि जसरी हरेक मान्छेहरू राराको यात्रा संकल्प पूरा गर्न आउँछन् यहाँ उसैगरी राज्य संयन्त्र पनि मुगुको भविष्य फेर्न आइपुगोस् । तिनीहरूको आँखाले मुगु देखोस् । मुगुमा अर्को दुःखको फोटो नखिचियोस् दुःखको अर्को कथा नलेखियोस् । सूर्योदय सकेर मैले अनेकन् फोटो भिडियोहरू खिचें जुन मेरा लागि राराको सम्झना हुनेछन् र यो अद्भुत बिहान हेर्ने सौभाग्यको सबुत पनि ।

हामी मुर्मा छाडेर रारा भेट्टाउन विस्तारै ओरालो र्झन थाल्यौं । रारा पुग्दा केशवजी बोटिङ सकेर बसिरहेका थिए । अब एकछिन् पछि त हावा चल्न सुरु हुन्छ रे तपाईं पनि बोटिङ गरिहाल्नुस् केशवजीले सुझाए । म डुंगा चढें, डुंगा तालको मध्यभागतिर हुइँकियो ।

मैले दुवै हात खोलें, आँखा बन्द गरें र आफूलाई रारामाथि उडेझैं महसुस गरें । ताल छोएर आएको चिसो हावाले मलाई सप्रेम छोइरहृयो जसरी एउटा प्रेमीले आफ्नो प्रेयसीलाई छुन्छ । यति उचाइमा हुनु र यति गहिरो हुनु । यति विशाल हुनु र यति सुन्दर हुनु ! वाह् प्रकृति । दिनभर मैले रारालाई सम्पूर्ण रूपले हेर्ने कोसिस गरें ।
माथि मुर्माबाट हेरें ।

रारालाई छोएर नजिकैबाट हेरें ।
हात फैलाएर अँगालो हालेर हेरें ।
विशाल तालको बीचमा गएर हेरें ।
राराको गहिराइमा डुबेर हेरें ।
राराको लहरमा लहरिएर हेरें ।
रारालाई छोएर हेरें ।
राराले शिर भिजाएर हेरें ।
रारामा पैताला डुबाएर हेरें ।
मैले रारामा उदाउँदो घामले नुहाएको हेरें ।
अस्ताउँदो सूर्यले डुबुल्की लगाएको हेरें ।
मैले अनेक तरहले राराको अद्भुत सौन्दर्य हेरें ।
राराको Åदय महसुस गर्ने कोसिस गरें ।

दिनभर रारामा हराएर घाम अस्ताउने बेला केशवजी र म किनार छेउमा नेपाली सेनाले चलाएको क्यान्टिनमा चिया खान गयौं । क्यान्टिनमा पुगेर केशवजी गफिन थाल्नुभो ।

म चियाको कप समाएर बाहिर निस्किएँ र चौरमा बसें । घाम विस्तारै अस्ताउन लाग्यो । रारा सुनौलो रंगमा नुहाउन । चौरमा बसेर रारा हेर्दै मैले सोचें- मवीवी शाह पनि मैले जसरी नै दिनभर रारा घुमे होलान् । अनेक तरहबाट रारा हेरे होलान् । राराको हृदय देखे होलान् र यतै कतै चौरमा बसेर लेखे होलान्-

सुन्दरताको भण्डार रारा
के खनायौ यसै रारामा
राराकी अप्सरा…

गोधूलिमा रारा किनारै किनार एउटा बाटो देखियो जुन क्षितिजसम्म पुगे झैं देखिन्थ्यो यो त्यही बाटो थियो जुन बाटो भएर भोलिपल्ट बिहानै म फर्किएँ । जुन बाटोमा म जति अघि बढें भूस्वर्ग झैं रारा मबाट उति नै पछि छोडियो ।

            

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?