+

विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

२०८० जेठ  ३० गते १२:५७ २०८० जेठ ३० गते १२:५७
विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

३० जेठ,  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम रहने बताएका हुन् ।

क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो ।

जसमा नेपालले युएई विरुद्धको अन्तिम खेलमा डिएलएस मेथडमा ९ रनको रोमाञ्चक जित हात पारेको थियो । जसले कीर्तिपुरमा नेपाली क्रिकेट टिम र समर्थकमाझ खुशी छाएको थियो ।

‘यो छनोटमा पुग्नु अविश्वसनीय थियो,’ शेखले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो । यो सामूहिक प्रयास थियो, सबैको योगदान छ ।’

आसिफले विश्वकपको मुख्य प्रतियोगितामा पुग्दै अर्को इतिहास बनाउने हो भने कडा मिहिनेत गर्ने समय आएको बताए ।

‘मलाई लाग्छ हामी हाम्रो क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं ।’

नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जित्दै ४० अंक जोडेर च्याम्पियन स्कटल्याण्ड र ओमान भन्दा पछि रहँदै तेस्रो भएको थियो । लिग टु बाट यही तीन टिम विश्वकप छनोटमा पुगेका थिए ।

विश्वकप छनोटमा भने नेपालले पूर्व विश्व विजेता वेष्ट इन्डिज र आयोजक जिम्बाव्वेसँगै समूह एमा छ । यस समूहमा नेदरल्याण्ड्स र अमेरिका पनि छन् ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । यी १० टिमबीच भारतमा हुने एकदिवसीय विश्वकपको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

जिम्बाव्वेमा खेल्दा नेपालले कीर्तिपुरको जस्तो ठूलो समर्थकको आवाज पाउनेछैन । जसले घरेलु मैदानमा युएई विरुद्ध ठूलो समर्थन गरेका थिए ।

‘नेपालले हामीले पाएको समर्थन अविश्वसनीय थियो, अन्तिम खेलका लागि हामीसँग धेरै समर्थकहरु थिए । हामी त्यो भीडलाई मिस गर्न जाँदैछौं तर हामीलाई थाहा छ कि नेपालबाट उनीहरूले हामीलाई समर्थन गर्ने छन् । हामी जहाँ खेले पनि फरक पर्दैन, हामीलाई थाहा छ नेपाली जनता हामीसँग छन्, उनीहरू नेपालबाट हाम्रो लागि समर्थन गर्नेछन् ।’

आसिफ शेखले आयरल्याण्ड विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा एन्डी म्याकब्रिनलाई रनआउट नगर्ने निर्णय गर्दा ठूलो प्रशंसा पाएका थिए र त्यसका लागि आईसीसी स्पीरिट अफ क्रिकेट अवार्ड २०२२ प्राप्त गरेका थिए ।

नेपाली टिममा आसिफसँगै उनका दाइ अलराउण्डर आरिफ शेखसमेत छन् ।

प्रशिक्षक देशाईको प्रसंशा

आसिफले मुख्य प्रशिक्षक मोन्टी देशाईले खेलाडीहरुलाई उत्प्रेरित गरेको भन्दै प्रसंशा पनि गरेका छन् ।

देशाईकै प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो भने एसीसी प्रिमियर कप जित्दै एसिया कपमा पनि छनोट भएको छ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

‘देशाई कोचको रूपमा आएको दिन हामी सँगै बस्यौं,’ शेख सम्झन्छन्, ‘हामीसँग भेट भयो र उहाँले भन्नुभयो कि हामी १२ मध्ये १० खेल जित्नेछौं र त्यसपछि हामीले ११ खेल जित्यौं । यो उहाँको हामीमा विश्वास थियो ।’

एसिया कपमा छनोट हुनुअघि पनि देशाईले भारत र पाकिस्तानसँग हामीले खेल्ने छौं भनेर भनेको उनले स्मरण गरे । ‘उहाँ अद्भुत हुनुहुन्छ, उहाँले हामीसँग कडा मेहनत गर्दै हुनुहुन्छ र हामीलाई विश्वास दिलाउनुहुन्छ कि हामी हरेक खेल जित्न सक्छौं ।’

नेपालले अहिलेसम्म आईसीसी पुरुष एकदिवसीय विश्वकप खेलेको छैन । नेपालले अहिलेसम्म खेलेको एक मात्र विश्वकप २०१४ को टी-२० विश्वकप हो ।

प्लेअर टु वाच

गुल्शन झाले २०२१ सेप्टेम्बरमा अमेरिका विरुद्ध ओडीआईमा डेब्यु गर्दा उनी विश्वकै तेस्रो कान्छा खेलाडी बनेका थिए । जतिखेर उनी १५ वर्ष २१२ दिनका थिए ।

गुल्शनले नेपाललाई एसिया कप २०२३ मा छनोट गराउनका लागि युएई विरुद्ध फाइनलमा अविजित ६७ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

उक्त खेल नेपालले ७ विकेटले जित्दै एसिया कपमा छनोट भएको थियो ।

मुख्य खेलाडी रोहितकुमार पौडेल

ओडीआई र टी-२०आईमा गरी ६७ खेल खेलिसकेका रोहित भर्खर २० वर्षका मात्र भए भन्दा विश्वास नहुन सक्छ । उमेर २० वर्ष भए पनि कप्तानसमेत रहेका उनको प्रदर्शन र नेतृत्वदायी भूमिका जबरजस्त छ ।

यदी नेपालले जिम्बाव्वेमा प्रतिस्पर्धात्मक स्कोर बनाउने भएमा कप्तान रोहित मह्तवपूर्ण बन्न सक्छन् ।

नेपालको खेल

नेपालले १८ जुनमा घरेलु टोली जिम्बाव्वेसँग विश्वकप छनोटको पहिलो खेल खेल्दैछ ।

त्यसपछि नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल हुनेछ ।

आसिफ शेख रोहितकुमार पौडेल विश्वकप क्रिकेट छनोट

धेरै कमेन्ट गरिएका

लेखक
आईसीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय