+
+

प्रधानमन्त्री कप एनभीए क्लब लिग भलिबल असार अन्तिममा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १७:१६

११ असार, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हरेक वर्ष सञ्चालन हुने एनभीए क्लब लिग महिला तथा पुरुष राष्ट्रिय भलिबलको सातौं संस्करण असार २३ देखि ३० गतेसम्म हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी संघले वार्षिक क्यालेण्डरअनुसारको कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

यस संस्करणदेखि प्रतियोगितालाई प्रधानमन्त्री कपका रुपमा आयोजना गरिँदैछ ।

गएको माघ महिनामा काठमाडौंमा आयोजित एनभीए क्लब च्याम्पियनसिपबाट छानिएका पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले क्लब लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब–काठमाण्डौ, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ र शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब–रामेछापबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब–बुटवल र गण्डकी प्रदेश भलिबल संघका टिमहरु खेल्नेछन् ।

क्लब च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमको प्रतिस्पर्धाबाट लिगका लागि टिमहरु छानिएको थियो ।

लिगमा एक टिमबाट तीन बिदेशी खेलाडी राख्न पाइने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बर (नेपाल भलिबल संघले प्रस्ताव गरे अनुसार)मा नेपालमा आयोजना हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा सहभागिताको अवसर पाउने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

लिगमा महिला तथा पुरुषतर्फ उपाधि विजेताले समान ६ लाख रुपैयाँ पुरस्कार पाउँछन् ।

दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ७५ हजार र चौथो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले जनही ३५ हजार तथा विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनाही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि राखेपले ४० लाख रुपैयाँ सहयोग गर्ने तथा माछापुच्छ्रे बैंकले १ लाख ५० हजार रुपैयाँ प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?