+
+
सन्दर्भ : मदनजयन्ती :

मदनको सृजनात्मकतालाई आजको पुस्ताले कसरी लिने ?

मदन भण्डारीद्वारा प्रतिपादित जबजबाट नयाँ पुस्ताले एक होइन अनेक शिक्षा लिन सक्दछ। के सिक्ने ? कसरी सिक्ने ? मदनको सृजनात्मकतालाई कसरी बुझ्ने ? नयाँ पुस्ताकै खोज, विवेक र छनोटमा भर पर्दछ।

रश्मि आचार्य रश्मि आचार्य
२०८० असार १४ गते १४:५८

पुष्पलाल श्रेष्ठ, बीपी कोइराला र मदन भण्डारीमा एउटा गज्जबको समानता देखिन्छ। पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्र तयार पार्दै गर्दा, बीपीले प्रजातन्त्रिक समाजवादको विचारधारा अगाडि बढाउँदै गर्दा र मदन भण्डारीले नेपाली धर्तीमा मार्क्सवादको सृजनात्मक प्रयोगको रूपमा जनताको बहुदलीय जनबाद (जबज) को नयाँ विचारधारा बहसमा ल्याउँदै गर्दा तीनै जना युवा उमेरका थिए। उनीहरूले अगाडि सारेका विचारधारा आज थप परिष्कृत भएका छन् वा कुन अवस्थामा छन् ? यसको विश्लेषणात्मक पाटो बेग्लै छ।

‘सिद्धान्त र व्यवहारमा शून्यता देखिन थालेको’ वर्तमान कालखण्डमा मूलतः मदन भण्डारीको सृजनात्मकतालाई आजको पुस्ताले कसरी लिने ? भन्ने सवालमा यहाँ संक्षिप्त चर्चा गर्न खोजिएको छ।

जबजको पृष्ठभूमि

सन् १९९० मा बर्लिनको पर्खाल ढलेसँगै सोभियत रूसको समाजवादी सत्ता संकटमा पर्‍यो। यो परिघटनालाई विश्वबाट कम्युनिष्ट विचार समाप्त भयो भनेर पूँजीवादीहरूले प्रचार गरिरहेको समयमा समग्र घटनाहरूबाट पाठ सिक्दै नेपालका कम्युनिष्टहरू भने मदन भण्डारीको अगुवाइमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न तल्लीन थिए।

तत् समयमा देशमा भर्खरै बहुदलीय व्यवस्था स्थापना भएको थियो भने त्यो परिवर्तनको लागि वामपन्थी र कांग्रेसबीच सहकार्य भएको थियो।

यस्तो पृष्ठभूमिमा संविधानको सर्वोच्चता, विधिको शासन, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, मानवअधिकारको रक्षा, बहुलवादी खुल्ला समाज, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष जस्ता विशेषता समावेश गरेर मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को मार्गचित्र प्रस्तुत गर्नुभएको थियो।

वास्तवमा तत्कालीन समयमा संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज र प्रतिस्पर्धामा श्रेष्ठताको अवधारणा अगाडि सारेर कम्युनिष्ट आन्दोलनको लोकतन्त्रीकरणको एजेण्डा अँगाल्नु कम्युनिष्ट पार्टीको लागि असाध्यै जोखिमको विषय थियो।

खुल्ला राजनीतिमा शान्तिपूर्ण संघर्षको कार्यनीति अपनाएर जनताको बीचमा जानु कम्युनिष्टहरूको लागि विल्कुलै नयाँ अभ्यास थियो। खासगरी विश्व कम्युनिष्ट आन्दोलनले व्यहोरेको अनपेक्षित धक्काबाट शिक्षा लिएर तथा नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै अनुभवहरूको सिंहावलोकन गरेर नेपाली परिवेश सुहाउँदो दृष्टिकोणको रूपमा मदन भण्डारीले जबजलाई अगाडि सार्नुभएको थियो।

मदनले यो रोडम्याप बनाउँदै गर्दा एकातर्फ केही कम्युनिष्ट घटकहरू (जो आज मदनले नै अंगीकार गरेको बाटोकै वरिपरि छन्) तिनले जबजलाई वर्ग समन्वयवादी विसर्जनको बाटो भनेर आक्षेप लगाएका थिए भने अर्कोतर्फ पूँजीवादपन्थीहरूले मदन भण्डारीलाई ‘कम्युनिष्टहरू लोकतन्त्रवादी हुनै सक्दैनन्’ भनेर गोयवल्स शैलीमा उछित्तो काढिरहेका थिए। अनेकौं कोणबाट लगाइएका त्यस्ता आरोप र कुप्रचारलाई मदन भण्डारीले डटेर सामना गर्नुभयो।

जति बढी आलोचना हुँदै थियो त्योभन्दा तीव्र गतिमा जनताको बीचमा मदनको विचार लोकप्रिय हुँदै थियो। परिणामतः प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर प्रगतिशील सुधार मार्फत देशमा आमूल परिवर्तनको मार्ग सुनिश्चित गर्न २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनबाट संसदमा सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) हुन पुग्यो।

अल्पमतको भए पनि पहिलो कम्युनिष्ट सरकार बनाएर नौ महिनामै लोकप्रिय सरकार सञ्चालन गर्ने मानक त्यो सरकारले खडा गर्‍यो। मार्क्सवादको सृजनात्मकताको एउटा रूप जन–जनले अनुभूत गर्ने गरी स्थापित भयो।

आलोचनाका २७ बुँदा

मदन भण्डारीको सृजनात्मकता २०४७ को संविधान बन्ने समयमा पनि प्रकटित भयो। तथ्यले भन्छ, ‘मदन भण्डारीले २०४७ को संविधानमा दर्ज गरेका आलोचनाका २७ बुँदा यस्ता ‘पिन पोइन्ट’ थिए जुन २०६२/६३ को जनक्रान्ति सफल भए पश्चात् भएको २०६३ को संसदीय घोषणाको आधार भूमि बन्न गए। अन्ततः २०७२ को संविधानले तिनै बुँदाहरूलाई रिट्ठो नबिराई आत्मसात् गरेको पाइन्छ।

२७ बुँदाको सार थियो, ‘सार्वभौमसत्ता जनताको हातमा रहेको स्पष्ट किटान हुनुपर्छ, एउटा व्यक्ति अर्थात् राजा राष्ट्रियता र जनएकताको प्रतीक हुन सक्दैन, ऊ संविधानको एकल संरक्षणकर्ता हुन सक्दैन, सार्वभौम अधिकार भएका जनता मात्र त्यसका संरक्षक हुन सक्दछन्, राजा पूर्ण रूपमा संविधानको मातहत हुनुपर्छ, राजा र राजपरिवारको सम्पत्तिमा पनि नागरिकसरह कर लाग्ने व्यवस्था गरिनुपर्छ, राजाका तजविजी र विशिष्ट अधिकार पूर्णतः हटाउनुपर्दछ, राजाले संविधान विपरीत काम गरेको खण्डमा महाअभियोग लगाउन पाइने अधिकारको व्यवस्था गरिनुपर्छ, देश धर्मको सवालमा निरपेक्ष हुनुपर्छ, सबै भाषालाई समान व्यवहार गर्न नेपाली भाषालाई राजकीय वा सरकारी कामकाजको भाषा मात्र मान्नुपर्छ, ‘श्री ५’ हटाएर नेपाल सरकार भन्ने व्यवस्था हुनुपर्छ, शाही सेना भनिएको ठाउँमा नेपाल सेना भन्ने व्यवस्था हुनुपर्छ, सरकारी सार्वजनिक संस्थान र निकायहरू सबै ठाउँमा रहेको शाही शब्द हटाउनुपर्छ, संविधान सर्वोपरि हुनुपर्छ, संविधानको स्रोत जनता हुनुपर्छ, सेना र प्रहरी शक्ति जनप्रतिनिधिसभाको हातमा हुनुपर्छ, संविधानमा देशका सबै जाति, भाषा, धर्म र संस्कृतिको पूर्ण समानताको ग्यारेण्टी गरिनुपर्छ, मौलिक अधिकारहरूको निर्वाध रूपमा ग्यारेण्टी गरिनुपर्छ।’ उल्लिखित थुप्रै जनसवाललाई मदन भण्डारीले बहुतै सचेततापूर्वक सूत्रबद्ध गर्नुभएको थियो।

यसकारण भन्न सकिन्छ मदनले दर्ज गरेका आलोचनाका २७ बुँदाले सृजना गरेको राजनीतिक र वैचारिक भाइब्रेसन, त्यसले जनतामा पारेको सकारात्मक प्रभाव र राजतन्त्र विरुद्ध निर्माण हुन पुगेको जनमत, त्यसको जगमा उठेको २०६२÷६३ को जनआन्दोलन, संविधानसभाको बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा र २०७२ को नयाँ संविधान निर्माणसम्मका हरेक चरणमा गहिरिएर खोज्दा मदन भण्डारीलाई प्रत्यक्ष भेट्न सकिन्छ।

नेपालको संविधानको मूल मर्म नै मदनले अगाडि सारेका दृष्टिकोणहरूबाट प्रक्षेपित छ। मदनले भने झैं ‘यदि संविधान, संविधानको हिसाबले मात्रै रह्यो भने त्यसको केही पनि मतलब हुँदैन। जनताको जीवनको निम्ति त्यसको मतलब हुनुपर्छ।

जनताको दैनिकी सुधार्न र जीवनयापनमा आमूल परिवर्तन ल्याउन संविधान कामयावी बन्न सक्यो भने मात्रै यो जनताको अमूल्य सम्पत्ति बन्न सक्दछ।’

साँचो अर्थमा भन्ने हो भने संविधानलाई जनताको अमूल्य सम्पत्ति बनाउन मदनको जोड आज पनि उत्तिकै सान्दर्भिक छ।

मदनको अभाव

दुःखद् पक्ष, २०५१ मा नेपालमा पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार बन्दै गर्दा मदन भण्डारीले उक्त सरकार देख्न पाउनुभएन। उहाँको असामयिक निधनले देशले अपूरणीय क्षति व्यहोर्नु पर्‍यो। पार्टी र कम्युनिष्ट आन्दोलनले असाधारण क्षमताको विचारक, चिन्तक र युगसापेक्ष पथप्रदर्शक गुमाउनु पर्‍यो।

अमेरिकाबाट प्रकाशित हुने न्यूज विकले मदनको अन्तर्वार्ता छाप्दै ‘नेपालमा कार्ल मार्क्स  जीवित छन्’ भनेर शीर्षक दिनु उनको विचारको ओझ कति थियो भन्ने पुष्टि गर्ने ज्वलन्त उदाहरण हो।

यस्ता परिघटना एक होइन अनेकौं छन्। करिब ४२ वर्षको उमेरमा नै देश, दुनियाँ र विश्वलाई समेत थर्कमान बनाउन सक्ने सामथ्र्य मदन भण्डारीले प्रदर्शन गर्नुभयो।

उहाँका ओजस्वी विचार, संसदमा प्रस्तुत धाराप्रवाह विश्लेषण, उहाँमा रहेको सैद्धान्तिक स्पष्टता र सरलता विशेषतः देश र राजनीतिप्रति चासो राख्ने युवा पुस्ताका लागि प्रेरणादायी छन्।

विचार, राष्ट्रियता, जनजीविका र संगठन सम्बन्धी मदनका कालजयी विश्लेषण उनीहरूको लागि मुख्य गाइडलाइन हुन्। प्रतिस्पर्धामा श्रेष्ठता, पहलकदमीबाट नेतृत्व विकास, परिवर्तनशीलता, पार्टी र समाजको लोकतन्त्रीकरण, देशको समृद्धि पथ जस्ता मदनका ‘की वर्डस्’ नेपाली समाज र राजनीतिज्ञ सबैलाई हरदम मार्गदर्शन गरिरहने खालका छन्।

यिनीहरूको युगसापेक्ष परिष्कृत व्याख्या गरेर डेलिभरी केन्द्रित कार्ययोजना बनाउनु समयले आजको पुस्ताको काँधमा सुम्पिएको हस्तान्तरित जिम्मेवारी हो।

विचार

जतिवेला मदनको अगुवाइमा जबज विकास भयो त्यो समयमा जबज नअँगालेको भए नेपालको कम्युनिष्ट आन्दोलन आज कुन अवस्थामा रहन्थ्यो होला ? आजको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय परिवेशमा जबजको थप परिष्कृत रूप कस्तो हुन्छ ? संविधानले अंगीकार गरिसकेको समाजवाद उन्मुख अवस्थामा पुग्न यसले कुन चरणसम्म योगदान गर्न सक्छ ?

देशमा देखिन थालेको सिद्धान्त र व्यावहारिक शून्यताको भुमरीलाई चिर्न जबजले के-कस्ता औजार प्रदान गर्दछ ? आदि सवालमा वैचारिक तथा सैद्धान्तिक बहसको खाँचो छ। यो बहस सञ्चालन गर्ने र नयाँ उचाइमा जबजलाई परिष्कृत गर्ने अभिभारा विशेषतः नयाँ पुस्ताकै काँधमा छ।

यो छलफल चलाउँदै गर्दा कम्युनिष्टहरूले सत्तामा पुगेपछि कति उपलब्धि हासिल गरे ? निर्वाचनलाई वर्ग संघर्षको रूपमा परिभाषित गरिसकेपछि उनीहरूलाई वर्ग-संघर्षको लडाइँमा फ्रन्ट लाइनर बनाएर उतार्न के-कस्ता कार्यक्रमिक योजना दिए त ? त्यसको युगीन अभिभारा बोकेका फ्रन्टलाइनरहरू वर्तमान समयमा के गर्दैछन् ? देशभरका कम्युनिष्ट सत्ता (स्थानीय, प्रदेश र संघ) कत्तिको जनपक्षीय थिए वा छन् ? यसको गम्भीर समीक्षा जरूरी छ।

कम्युनिष्ट पार्टीले सरकार चलाउँदा समेत शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले वहन गर्ने नीति अर्थात् संविधानमै उल्लिखित मौलिक हकहरू पूर्ण रूपले कार्यान्वयन किन हुन सकेनन् ? आम जनताले देख्ने र बुझ्ने गरी समाजवादका आधार तयार गर्ने ठोस कार्यक्रम कहिले बन्छ ? नेपालको समृद्धिको मौलिक पथ कस्तो हो ?

एकातर्फ दस्तावेजमा दलाल पूँजीपतिसँग जनताको प्रधान अन्तरविरोध रहेको उल्लेख गर्ने अर्कोतर्फ व्यवहारमा दलाल पूँजीवादकै शरण पर्ने तरिकाले उत्पादनशील राष्ट्रिय पूँजीको निर्माण कसरी सम्भव छ ? यस्ता तमाम विरोधाभासको तार्किक समाधानको लागि नयाँ पुस्ताको चासो र पहलकदमी अत्यावश्यक छ।

पहलकदमी विना परिणाम निस्कँदैन र परिणाम विना परिवर्तन मापन हुन सक्दैन। राजनीतिक परिवर्तन हुँदैमा स्वतः सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन हुँदैन। त्यसका लागि पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठताको ‘मदन सूत्र’ लाई नयाँ पुस्ताले अँगाल्नै पर्दछ।

राष्ट्रियता

राष्ट्रिय राजनीतिमा विशेषतः कम्युनिष्टहरूलाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न मदन भण्डारीको महत्वपूर्ण योगदान छ। टनकपुर परियोजना सम्बन्धी सम्झौता बारे २०४९ चैत २४ मा प्रतिनिधिसभामा उहाँले व्यक्त गरेको धारणा यसको एउटा ज्वलन्त उदाहरण हो।

जुन सम्बोधनमा उहाँले ‘२.९ हेक्टर जमिन त के ! एकइञ्च जमिन कसैलाई दिने छुट न सरकारलाई छ, न त संसदलाई नै’ भनी सरकार र संसद दुवैलाई खबरदारी गर्नुभएको छ। यस्तो खबरदारी उहाँले राष्ट्रका ज्वलन्त मुद्दाहरूमा दर्जनौं पटक गर्नुभएको छ। राष्ट्रभक्ति, देशप्रेम र स्वाधीनताको भावले ओतप्रोत उहाँका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्।

तथ्यहरूले भन्दैछन्, ‘नेपालको समृद्धिको मुख्य बाधक राजनीतिक अस्थिरता हो। राजनीतिक अस्थिरताले समृद्धिलाई मात्र रोकेको छैन, राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ता जस्ता ज्यादै संवेदनशील पाटोमा प्रत्यक्ष दक्खल दिएको छ। ‘नियन्त्रित अस्थिरता’ रूपी छिमेक नीति हाम्रा लागि गम्भीर सतर्कता अपनाउनुपर्ने पाटो बनेको छ। विश्व राजनीतिमा आइरहेका बदलावहरूको प्रभाव समेत हामीले सामना गर्नु परेको छ।

विभिन्न वहानामा विश्वका शक्ति राष्ट्रहरूको चासो नेपालमा केन्द्रित भइरहेको सन्दर्भमा नेपालको राष्ट्रिय हित र स्वार्थ कसरी जगेर्ना गर्ने ?

‘अबको विश्व शक्ति एशिया हो’ भनेर विश्लेषकहरूले प्रक्षेपण गरिरहेको कारण विश्वको शक्ति एशियामा केन्द्रित हुँदै गरेका परिदृश्यहरू एकपछि अर्को देखा पर्दैछन्। यसमा पनि एशियाका दुई महाशक्ति हाम्रा दुई छिमेकी भएकोले हामीतिर सबैका आँखा सोझिएका छन्।

नेपाल कतै भूराजनीतिक द्वन्द्वको शिकार त हुने होइन ? यसको असंलग्न परराष्ट्र नीति खण्डित त हुने होइन ? संशय खडा भएको तथा सरकारका पछिल्ला कदमहरू देशको लागि सुखद नरहेको परिप्रेक्ष्यमा युगसापेक्ष नीति तथा रणनीतिहरू बनाउनुपर्ने अभिभारा समेत नयाँ पुस्ताकै काँधमा छ।

जनजीविका

आँकडाले भन्छ, नेपालको विद्यमान मूल्यवृद्धि हालसम्मकै उच्चदरको हो। उच्च मूल्यवृद्धिले गर्दा जनताको दैनिकी कष्टकर बन्दै गइरहेको छ।

दैनिक उपभोग्य वस्तुहरूको कालोबजारी उस्तै छ। खेती गर्ने बेलामा किसानहरूले मल नपाएर हाहाकार मच्चिएको छ। दैनिक ज्यालादारी मजदुर, किसानको चुलो बल्नै नसक्ने अवस्थामा देखिएको छ।

एकातर्फ देशको आर्थिक अवस्था नाजुक बन्दै जानु अर्कोतर्फ कृषि, वन र मत्स्यपालन पेशा प्रधान रहेको हाम्रो जस्तो देशमा करिब ९ महिनामै डेढ खर्ब भन्दा बढीको खाद्यान्न, घ्यू-तेल र तरकारी आयात गरेर खाने अवस्था आउनु कुनै पनि कोणबाट सकारात्मक संकेत होइन। यो क्रम बढ्दै जाँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा धरापमा पर्ने निश्चित छ।

यो दुरवस्थाको समाधानको लागि मदनले भने जस्तै जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सिद्धान्त र त्यस अनुरूपको व्यवहार अपरिहार्य छ। जुन सिद्धान्तले व्यवहारतः जनताको अपेक्षा अनुरूपको डेलिभरी दिएर समस्याहरूको शीघ्र हल गरोस्।

नेपाली समाजमा देखिएको निराशा र आक्रोशलाई उधिनेर देशलाई अस्थिरताको भुमरीमा धकेल्न भइरहेका अनेकौं कोसिस र योजनाबद्ध षडयन्त्रप्रति उत्तिकै चनाखो हुनुपर्ने अवस्था आएको छ। यस्तो संगीन घडीमा आम जनतामा विश्वास जागृत गर्न सक्ने दूरदृष्टि भएको, आँट र अडान सहितको देशको भलो चिताउने नेतृत्वको खाँचो छ।

मदन भण्डारी भन्नुहुन्छ, ‘सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्दछ।’ अर्थात् सिद्धान्तले जीवनलाई पछ्याउनु र बाटो देखाउनुपर्छ। यसको अर्थ हुन्छ, सिद्धान्त निर्माण र आम जनताको जीवनबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। सिद्धान्तले जनताको जीवन, दैनिकी, समाजको प्रगति र अन्ततः राष्ट्रको समृद्धिमा परिवर्तन ल्याउन सक्नुपर्छ। मदनको व्याख्यामा जनजीविका हराएको कागजी सिद्धान्त जीवन्त सिद्धान्त हुनै सक्दैन।

तसर्थ, जनताको जीवनसँग अभिन्न रूपले जोडिएको सिद्धान्त र त्यस अनुसारको व्यवहार नै आजका समस्याको समाधानको मुख्य कडी हो। तब मात्र ‘सिद्धान्तको रंग खैरो र व्यवहारको रंग हरियो हुनुपर्छ’ भनेर मदनले गरेको व्याख्याले सार्थकता पाउनेछ। सिद्धान्त र व्यवहारबीचको यो सम्बन्धलाई नयाँ पुस्ताले जस्ताको तस्तै बुझ्न र व्यवहारमा कार्यान्वयन गर्न जरूरी छ।

संगठन

सिद्धान्तको कार्यान्वयन र संघर्ष सञ्चालनको लागि संगठन अपरिहार्य पक्ष हो। त्यसमा पनि कम्युनिष्ट पार्टीको संगठन कस्तो छ, त्यसैमा उसको शक्ति मापन हुन्छ। विभिन्न क्षमता भएकाहरूको उचित संयोजन संगठनभित्र हुनुपर्छ भनेर मदनले औंल्याउनुभएको छ।

एकै प्रकारका मानिसहरूको बोलवाला र एकपाखे चिन्तनले पार्टी संगठन बलियो हुन नसक्ने निचोड उहाँको पाइन्छ। पार्टीले दिने नतिजा मूलतः संगठनात्मक शक्तिमा भर पर्छ।

संगठनात्मक शक्ति भित्र पार्टी र जनसंगठनको शक्ति पर्दछ। ती सबै संरचनाहरू निश्चित विधि, प्रक्रिया र अनुशासनमा चल्नुपर्छ। पछिल्लो समय जनसंगठनहरूको भूमिका माथि अझ खासगरी नयाँ पुस्ता संगठित हुने संगठनहरू शून्य सृजनशीलताको शिकार भएका छन्।

विभिन्न समुदाय, तह र तप्काका आवाजलाई बुलन्द गर्ने तथा आलोचनात्मक चेतको विकास गर्ने संगठनहरू नै संकटग्रस्त भएपछि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको पाटो कसरी सार्थक होला ? यस्ता तमाम प्रश्नहरूको वस्तुनिष्ठ जवाफ खोज्न पछिल्ला घटनाक्रमहरूले बेस्सरी झक्झक्याएको छ।

नेपाली समाजमा देखिएको निराशा र आक्रोशलाई उधिनेर देशलाई अस्थिरताको भुमरीमा धकेल्न भइरहेका अनेकौं कोसिस र योजनाबद्ध षडयन्त्रप्रति उत्तिकै चनाखो हुनुपर्ने अवस्था आएको छ। यस्तो संगीन घडीमा आम जनतामा विश्वास जागृत गर्न सक्ने दूरदृष्टि भएको, आँट र अडान सहितको देशको भलो चिताउने नेतृत्वको खाँचो छ।

अर्को शब्दमा भन्ने हो भने मदनको जस्तै अडान र दूरदृष्टि भएको नेतृत्व देशले पुनः खोजेको छ। त्यो रिक्तता पूरा गर्न अब नयाँ पुस्ता अगाडि सर्नुको अर्को विकल्प छैन।

निचोडमा भन्न सकिन्छ, मदनका यस्ता धेरै सन्दर्भबाट नयाँ पुस्ताले एक होइन अनेक शिक्षा लिन सक्दछ। के सिक्ने ? कसरी सिक्ने ? मदनको सृजनात्मकतालाई कसरी बुझ्ने ? नयाँ पुस्ताकै खोज, विवेक र छनोटमा भर पर्दछ।

(लेखक नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?