+
+

३ दलबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १२:५८

१९ असार, काठमाडौं । प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।

मंगलबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए ।

उनले दलहरुले सहमति नगरे आफूले सभापति चयनको प्रक्रिया अघि बढाउने समेत बताएका छन् । ‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ? मिलाउनुहुन्छ भने तुरुन्त मिलाउनुस्’ बैठकमा दलका नेताहरुसँ भएको छलफलबारे सभामुख घिमिरेले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईहरुले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।’

संसदीय गतिविधिलाई सक्रिय बनाउने काम राजनीतिक दल र तिनका नेताहरुको भएको भन्दै सभामुख घिमिरेले यो आफ्नोमात्रै जिम्मेवारी नभएको बताए । ‘यसलाई अविलम्ब टुंग्याइहाल्ने, तुरुन्तै गर्ने कुरा भएको छ’ उनले भने ।

उनका अनुसार दलहरुले सभापति चयन प्रक्रिया अघि बढाउन म्यान्डेट दिएका छन् । कानुनमन्त्री गुरुङका अनुसार संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुनेछ । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नेछन् ।

दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन भएको छैन् । हाल ती समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?