+
+

सांसदहरूले भने- संसदीय समिति चलाउन एनजीओ खोज्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १९:०५

२२ चैत, काठमाडौं । सांसदहरूले संसदीय समिति आफ्नै खर्चमा चल्न नसकेको गुनासो गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको थियो । आजको बैठकमा चालु आर्थिक वर्षको बजेटमा सरकारले गरेका प्रतिवद्धता र प्रधानमन्त्रीले संसद्‌मा दिएका आश्वासनको विषयमा छलफल भएको थियो ।

त्यसक्रममा सांसद्हरूले संसद्लाई आवश्यक बजेट उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन कार्यान्वयन नभएको  गुनासाे राखे ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले विषयगत समिति चलाउन गैरसरकारी संस्था (एनजीओ) खोज्नु परेको गुनासो गरे । ‘संसदीय समितिहरू चल्नको निम्ति एनजीओ खोज्नुपर्ने अवस्था छ । यो अवस्थाबाट मुक्त गरिदिन मैले अनुरोध गरें’ प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले थपे, ‘कमसेकम संसद् अर्काको भरमा चल्नु हुँदैन । यसको निम्ति संसद्ले मागेको बजेट दिन प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।’

नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह (गरिमा)ले पनि संसद्का लागि जनशक्ति र बजेट अपर्याप्त रहेको बताइन् । ‘यो संसदीय समिति नेपालको मुटु हो । यहाँ जनशक्तिको अभाव मैले व्यक्तिगत रूपमा पनि धेरै देखेको छु । यसतर्फ सम्माननीय प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराएँ’ उनले भनिन् । गर्नैपर्ने कामका लागि समेत बजेट अभाव रहेको उनले बताइन् । सांसद शाहले भनिन्, ‘समितिको कार्यक्षेत्र ठूलो भएको कारणले गर्दा बजेटको असाध्यै अभाव छ । जसका कारणले समितिले गर्नुपर्ने काम पनि गर्न सकिरहेको छैन ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा रहेको जनशक्ति र बजेटको विषयमा सभामुख, राष्ट्रिय सभाको अध्यक्षले समेत आफ्नो ध्यानाकर्षण गरेको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक संसदीय समितिको लागि र सिंगै संसद सचिवालयको लागि बजेट कमी हुन नदिन सरकार गम्भीर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?