+
+
सातौं प्रधानमन्त्री कप एनभीए भलिबल :

चोटको चपेटामा डिफेन्डिङ च्याम्पियन आर्मी

नमिता दाहाल नमिता दाहाल
२०८० असार २५ गते १९:१०

२५ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आर्मीको महिला टिम यसपटक कमजोर देखिएको छ ।

चिर प्रतिद्वन्द्वी नेपाल पुलिस र एपीएफ क्लब दुवैसँगको खेल हारेको आर्मी पुरानो लयमा छैन । छैटौं संस्करणमा पुलिसलाई सोझो सेटमा हराएको आर्मी सातौं संस्करणको आफ्नो दोस्रो खेलमा उहि पुलिससँग ३–० को सेटमा पराजित भयो ।

आर्मीका प्रशिक्षक लोकबहादुर बुढा आफ्नो टिम कमजोर बनेको स्वीकार्न हिचकिचाउँदैनन्, ‘अहिले हाम्रो टिम कमजोर नै देखिएको छ । हामीले राम्रो गर्न सकेको छैनौं ।’

आर्मीका पुराना खेलाडीलाई इन्जुरीको समस्या छ । त्यसले अनुभवी खेलाडी टिममा नरहेको उनले बताए । ‘अहिले हाम्रा पुराना खेलाडी कृपा अधिकारी आफैं ढाडको समस्याका कारण राम्रोसँग खेल्न सकेकी छैनन्, शान्ति थारु पनि पूर्ण फिट छैनन्’, प्रशिक्षकले भने ।

आर्मीको प्रदर्शन खस्किंदा पुलिस भने बलियो देखिएको छ । आफ्नो टिममा खेलाडी नहुनु र प्रतिस्पर्धी पुलिसको टिमले लय समात्नुले आर्मीलाई उपाधि रक्षाको चुनौती बढेको छ ।

‘पुलिसका धेरै खेलाडी राष्ट्रिय टिममा विदेशी प्रशिक्षकसँग प्रशिक्षण गरेर आएका छन् जसले गर्दा हाम्रा खेलाडीले त्यो बल उठाउन सकेका छैनन्,’ सोमबार सोझो सेटमा पराजित भएपछि आर्मीका प्रशिक्षक बुढाले अनलाइनखबरसँग भने ।

त्यसो त राष्ट्रिय टिममा बेल्जियमका प्रशिक्षक जान डी ब्रान्टसँगै प्रशिक्षण गरेका मिडल ब्लकर सफिया पुन र संगम महतो आर्मीको टिममा छन् । तर उनीहरुले टिमको आवश्यकता अनुसार पोजिसन चेन्ज गरेर खेल्नु परेको छ । संगमले मिडल ब्लक सम्हालिरहेकी छिन् भने सफियाले डिफेन्स र स्पाइक दुवैको जिम्मेवारी सम्हालेकी छिन् ।

आर्मी स्पाइक, फिनिसिङ बल रेज गर्ने तथा डिफेन्समा निकै कमजोर देखिएको छ । ‘हाम्रो स्पाइक कमजोर छ । फिनिसिङ बल हान्न नसक्ने छन् । पुलिसका खेलाडीले हानेको हाइ बल उठाउन सक्दैनन् । डिफेन्स र ब्लक पनि भइरहेको छैन’, प्रशिक्षक लोकबहादुरले टिमको स्थिति बताए ।

यसअघि खेल्दै आएको एपीएफसँगको करार तोडेर राष्ट्रिय टिमकी स्पाइकर आरती सुवेदी आर्मीमा गएकी छिन् । तर औंलामा समस्या भएका कारण उनी अझै ३ महिना कोर्ट बाहिर रहने छिन् ।

डिफेन्डिङ च्याम्पियन आर्मीमा जति खेलाडी छन् उनीहरुको बेन्च बलियो छ तर प्रदर्शन भने नामको तुलनामा निकै कमजोर छ । भएका खेलाडीको प्रदर्शनमा पनि प्रशिक्षक खुसी छैनन् ।

प्रतियोतिगामा एपीएफसँगको खेल कम ब्याक गरेर पनि हारेकोमा प्रशिक्षक बुढालाई दुख लागेको छ ।

‘एपीएफसँग तेस्रो र चौथो सेटमा कमब्याक पनि गरेको हो । तर पाँचौं सेटमा हामीले हार्‍यौं’ ३-२ ले हारेको खेललाई स्मरण गर्दै उनले भने, ‘अब हामी अर्को टिमले नराम्रो खेलेको खण्डमा मात्रै फाइनल पुग्न सक्छौं नत्र उपाधिको लागि सोच्नु निकै गाह्रो कुरा हो ।’

टिममा समझदारी बढेकाले सफलता

आर्मीलाई सोझो सेटमा हराउँदै लिग तालिकाको शीर्षमा रहेको पुलिस भने उपाधि जित्ने आशामा छ । खेलेका तीनै खेल जितेर ९ अंकसहित लिग अंक तालिकाको शीर्ष स्थानमा रहेको पुलिसका प्रशिक्षक रुपककुमार विष्ट टिमको सुधारिएको प्रदर्शनबाट खुसी छन् ।

आर्मीलाई हराउनुअघि पुलिसले एभरेष्ट भलिबल क्लब–बुटवल र गण्डकी प्रदेश भलिबल संघलाई पनि ३-० को सोझो सेटमा हराएको थियो ।

‘हाम्रो राम्रो भएको छ । हामी पहिला पनि राम्रै थियौं तर यसो भन्दैमा विपक्षी टिम नराम्रो भने होइन’, उनले भने ।

खेलाडीमा चोट हुँदा आर्मी कमजोर देखिएको उनले बताए । ‘शान्ति थारु चोटबाट कमब्याक गर्दैछन् । केही चोटको समस्या पनि हो । तर म भने आर्मीको स्पाइक कमजोर भएको मान्दिनँ’, रुपकले भने ।

‘उहाँहरु पनि बलियो टिम हो । खेलको कुरा हो । आज नराम्रो भए पनि भोलि राम्रो हुन सक्छ । एपीएफसँग आर्मीले जुन किसिमले कमब्याक गर्‍यो, त्यो प्रतिस्पर्धात्मक थियो’, उनले विपक्षी टिमको बारेमा भने ।

राष्ट्रिय टिम, पूर्व राष्ट्रिय टिम तथा घरेलु प्रतियोगितामा नाम चलेका खेलाडी रहेकाले आर्मीको बेन्च बलियो छ । तर हाल पुलिसको टिममा सबै कुराको तालमेल मिल्दा नतिजा निस्किरहेको प्रशिक्षक विष्टको भनाइ छ । ‘आर्मीको बेन्च राम्रो छ । तर हाम्रो टिमवर्क अहिले निकै राम्रो रहेकाले हामी बलियो देखिएका हौं ।’

पुलिस भने यो लयलाई कायम राख्दै उपाधि जित्न चाहन्छ । ‘सबै टिम विजेता बन्न चहन्छन् । खेल हो के हुन्छ भन्न सकिन्न । दुई टिम केही कमजोर देखिए पनि चार टिम उस्तै छन् । हामी यही लयलाई कायम राख्दै विजेता नै बन्न चाहन्छौं’, रुपकले अनलाइनखबरसँगको कुराकानीमा भने ।

प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब–बुटवल र गण्डकी प्रदेश भलिबल संघ प्रतिस्पर्धी छन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?