+
+

महिला भलिबलमा उपाधि जित्ने पुलिसको आत्मविश्वास

नमिता दाहाल नमिता दाहाल
२०८० असार २८ गते १९:२७

२८ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको महिलातर्फ आफूले खेलेका ४ खेलमा अपराजित रहँदै पूरै १२ अंक बटुलेको पुलिस फाइनल पुगेको हो ।

गतसंस्करणमा उपविजेतामा चित्त बुझाएको पुलिस यस पटक भने अपराजित लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा छ । प्रशिक्षक रुपककुमार विष्ट अपराजित रहेर फाइनल पुग्न सफल आफ्नो टिममा बढेको आत्मविश्वास र बलियो मानसिकताले लक्ष्य सम्भव भएको बताउँछन् ।

‘फाइनल पुग्नु हाम्रो लागि धेरै पक्षहरुमा आएको सुधार हो । जसमा खेलाडी र टिमको मेहनत, मेरो मेहनत र विभागले दिएको सेवा र सहुलियतका साथसाथै मजबुत भएको आत्मविश्वास निकै महत्वपूर्ण रह्यो’, उनले भने ।

बुधबार दशरथ रंगशालको कभर्ड हलमा भएको चौथो खेलमा एपीएफलाई सोझो सेटमा हराएसँगै महत्वपूर्ण ३ अंक बटुल्दै प्रतियोगितामा फाइनल प्रवेश गर्ने पुलिस पहिलो टोली बनेको हो ।

टिममा बढेको आत्मविश्वास नै टिमको अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको टिमकी कप्तान कमला पुनले पनि बताइन् ।

‘पहिला एउटा खेलाडी चल्दा अर्को चल्दैनथ्यो अहिले टिममा सबैले सबैलाई विश्वास गर्ने माहोल छ । सबैमा उत्तिकै दरो आत्मविश्वास छ’, कमलाले अनलाइनखबरसँग भनिन् ।

अपराजित रहँदै फाइनल प्रवेश गरे तापनि प्रतिस्पर्धामा सबै टिम उत्तिकै प्रतिस्पर्धी भएको प्रशिक्षक विष्टले बताए । ‘हामीले सबै खेल सोझो सेटमा नै जितेका छौं, अंक बाँडेका छैनौं । तर पनि सबै टिम उत्तिकै प्रतिस्पर्धी छन् ।’

प्रतियोगितामा दुई विभागीय टोलीलाई पनि सोझो सेटमा पराजित गरेको पुलिस भने आफ्नो अविजित लय कायम राख्ने रणनीतिमा छ । उनले भने, ‘खुसी लागेको छ । जे रणनीति बनाएको थिएँ, जे डिजाइन थियो त्यो कार्यान्वयन हुँदैछ । हामी न्यू डाइमन्डसँग पनि अविजित भएर जान चाहन्छौं, तर प्रतिस्पर्धी हो कमजोर रुपमा पक्कै लिएका छैनौं ।’ प्रशिक्षकको रुपमा आफू आफ्नो टिमले गरेको प्रदर्शनमा निकै खुसी रहेको विष्टले बताए ।

बलियो प्रतिस्पर्धीविरुद्ध पुलिसको दरो आत्मविश्वास

अहिलेको प्रतिस्पर्धा हेर्दा पुलिसले फाइनलमा न्यु डाइमन्ड र एपीएफमध्ये एउटा प्रतिस्पर्धी पाउने छ । फाइनल पुग्ने अर्को टोलीको टुंगो शुक्रबार पुलिस र न्यू डायमन्डबीचको खेलबाटै लाग्ने छ ।

बिहीबार एपीएफसँग सोझो सेटमा पराजित भएको न्यू डाइमन्डलाई फाइनलमा पुग्नका लागि शुक्रबार हुने खेलमा पुलिसलाई सोझो सेटमा हराउनुको बिकल्प छैन । महिलातर्फ पुलिस ४ खेलबाट १२ अंक, एपीएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकको स्थितिमा छन् ।

फाइनल पुग्ने होडमा रहेका विभागीय टिम एपीएफ घरेलुमा प्रतिस्पर्धामा निकै बलियो टिम हो भने न्यू डाइमन्ड युवा खेलाडी रहेको अर्को बलियो टिम हो । पुलिसले एपीएफलाई सोझो सेटमा हराइसकेको छ भने न्यू डायमान्डसँग खेल्न बाँकी छ । तर आफूले सोझो सेटमै हराइसकेको एपीएफसँग पनि हारेको न्यु डायमन्डलाई पुलिसले सजिलो प्रतिद्वन्द्वीका रुपमा लिएको छैन ।

‘हाम्रो लागि फाइनल सहज हुँदैन । जो आए पनि एकदमै बलियो प्रतिस्पर्धी आउने हो । हामी जित्ने मानसिकता त राख्छौं, तर प्रतिस्पर्धा चुनौतीपूर्ण भने हुनेछ ।’ पुलिसका प्रशिक्षक रुपककुमार विष्टले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘खेल कुन बेला कता बग्छ भन्ने थाहा हुँदैन । नतिजा के हुन्छ थाहा हुँदैन ।’

पुलिसमा हाल फर्किएको लयको कारण पहिले भन्दा सबै पोजिसनको खेल बलियो भएको कप्तान कमला बताउँछिन्, ‘अहिले हाम्रो ब्लक, डिफेन्स र स्पाइक सबै राम्रो छ । त्यसैले पनि यो पटक सहज भयो ।’

पुलिस गत संस्करणमा आर्मीसँग हार बेहोर्दै उपविजेता बनेको थियो । अहिले भने डिफेन्डिङ च्याम्पियन आर्मी समूह चरणमै सिमित रह्यो ।

पुलिसको टिममा हाल आत्मविश्वास सँगै खेल पनि सुधार भएको बताउँदै कप्तान कमलाले भनिन्, ‘हुन त अहिले खेलेकै खेलाडी थिए तर पहिला हाम्रो ब्लक र डिफेन्स तथा रिसिभ कमजोर थियो । अहिले ती पक्षहरु सुधार भएको छ । दुवै ओपन र ब्याक स्पाइक चलेको छ । त्यहि भएर हाम्रो टिम बलियो देखिएको हो ।’

‘टिम ४÷५ अंक तल पर्दा पनि हामी सक्छौं भन्ने आत्मविश्वास बढेको छ । जसले गर्दा हामीले यहि लय कायम राख्छौं भन्ने आश छ’, कप्तान कमलाले भनिन् । फाइनल खेलमा जुन टिमसँग परे पनि आफ्नो तर्फबाट शतप्रतिशत दिएर उपाधि जित्ने लक्ष्य रहेको कप्तान कमला र प्रशिक्षक विष्टले बताए । ‘फाइनलमा के हुन्छ थाहा छैन तर हामी हाम्रो उत्कृष्ट दिएर उपाधि जित्ने नै लक्ष्य बोकेर हिडेंका छौं,’ प्रशिक्षक विष्टले भने ।

विष्टकै भनाइलाई सापटी लिएर कप्तान कमला भन्छिन्, ‘यहि लय कायम राख्दै विपक्षी जो भए पनि राम्रो खेलेर उपाधि जित्ने चाहना छ ।’

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?