+
+

निजी पार्किङमा पनि महानगरकै शुल्क, दुई पाङ्‍ग्रेलाई घण्टाको २५ रुपैयाँ, चार पाङ्‍ग्रेलाई ७५

व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन १ गते १९:५९

१ साउन, काठमाडौ । काठमाडौं महानगरपालिकाभित्र निजी क्षेत्रले सञ्चालन गरेका पार्किङहरुले महानगरले तोकेभन्दा बढी शुल्क उठाउन नपाउने भएका छन् । यसअघि महानगरले टेन्डरमार्फत दिएका पार्किङ क्षेत्रमा लाग्ने शुल्क तोकिए पनि निजी पार्किङका लागि तोकिएको थिएन । त्यसैले निजी पार्किङ सञ्चालन गर्नेहरुले आफूखुसी शुल्क असुल्दै आएका थिए ।

तर, अब निजी क्षेत्रले सञ्चालन गरेका पार्किङ क्षेत्रका लागि पनि शुल्क तोकिएको र त्यो काठमाडौं महानगरले ठेक्कामार्फत उठाउने पार्किङ शुल्क बराबर हुने महानगरका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए ।

महानगरले दुई पाङ्ग्रे सवारी साधनका लागि आधा घण्टा पार्किङ गर्दा १५ रुपैयाँ, १ घण्टाका लागि २५ रुपैयाँ शुल्क तोकेको छ । एक घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको ५ रुपैयाँ थप शुल्क लाग्ने व्यवस्था महानगरले गरेको छ ।

यस्तै, चारपाङ्ग्रे सवारी पार्किङ गर्दा आधा घण्टाका लागि ४० रुपैयाँ र १ घण्टासम्मको ७५ रुपैयाँ शुल्क तोकिएको छ । त्यसभन्दा धेरै पार्किङ गर्नेको हरेक १५ मिनेटको १५ रुपैयाँ शुल्क थप हुँदै जाने छ । टेन्डरमार्फत महानगरले उठाउने पार्किङ शुल्क यसअगाडि नै तोकिएको भएपनि निजी तथा व्यावसायिक पार्किङ क्षेत्रमा पार्किङ शुल्क तोकिएको काफ्लेले बताए ।

‘पार्किङ गर्दा अब महानगरभरि एउटै शुल्क हुन्छ, महानगरले वा महानगरबाट ठेक्का पाउनेले तथा निजी क्षेत्रबाट उठाउने पार्किङ शुल्क एउटै हुनेछ,’ काफ्लेले अनलाइनखबरसँग भने ।

महानगरपालिका मेयर बालेन्द्र शाहले ल्याएको चालु आर्थिक वर्ष ०८०/०८१ को आर्थिक ऐनमा पार्किङ शुल्क तोकिएको छ । २७ असारको नगरसभाले उक्त ऐन पास गरेको थियो ।

महानगर आफैंले सञ्चालन गर्ने पार्किङमा भने क्षेत्र तोकेर शुल्क निर्धारण गरिएको छ । न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौर)सम्म काठमाडौंको मध्य भागमा तोकिएका स्थानलाई क्षेत्र नम्बर १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत् दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ गरेबापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्‍ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्‍ग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा १०० रुपैयाँ कायम गरिएको छ ।

अपाङ्‍गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेका अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने व्यवस्था आर्थिक ऐनमा छ ।

पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य बिलिङ गर्नु पर्ने व्यवस्था पनि महानगरले गरेको छ ।

निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने पनि महानगरेका आर्थिक ऐनमा उल्लेख छ ।

यसैबीच महानगरका मेयर शाहले आर्थिक ऐनको प्रावधानअनुरुप काठमाडौं महानगरभित्रका व्यावसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताल लगायत स्वास्थ्य सेवा प्रदायक संस्था)हरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने जानकारी दिएका छन् ।

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङबापतको शुल्क संकलन गर्न निषेध गरिएको छ ।

सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ । सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिने पनि ऐनमा उल्लेख छ ।

व्यावसायिक पार्किङ सञ्चालन गर्नेलाई कर छुट

व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले १० वर्षसम्म पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको सम्पत्ति कर छुट हुने व्यवस्था पनि आर्थिक ऐनमा गरिएको छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यावसायलाई व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट दिने व्यवस्था पनि ऐनमा गरिएको छ ।

भवन निर्माण गर्दा तथा नक्सा पास गर्दा भवनको क्षेत्रफल र उपयोगिताका आधारमा तोकिएको क्षेत्रमा अनिवार्य पार्किङ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?