+
+

किन आवश्यक छ कांग्रेसमा वैचारिक बहस ?

मानिसको जीवनसँग गाँसिएको खास मुद्दा भनेकै आर्थिक विकास हो। यो विषयमा हामीले भाषण मात्रै गर्‍यौं, अब काम गर्ने बेला आएको छ।

डा. कृष्णप्रसाद पौडेल डा. कृष्णप्रसाद पौडेल
२०८० साउन ३ गते १०:१२

आम नागरिकलाई नेपाली कांग्रेसको सभापति को बन्यो, को बन्छ र संसदीय दलको नेतामा कसले जित्यो, कसले हार्‍यो, यसले केही फरक पर्दैन। फरक पर्दछ त कांग्रेसको देशको विकासको मोडेल के हो ? अबको १५ वर्षमा देश कहाँ पुग्दछ ? सुशासन कायम गर्न यसले के गर्दछ ? संविधानको पूर्ण कार्यान्वयन गर्ने आधार के हो ? कानुनी राज्यको प्रत्याभूति दिलाउन यसले लिने बाटो कस्तो छ ? भू-राजनीति र वैदेशिक नीति कसरी तय गर्दछ ? साथै सबैभन्दा महत्वपूर्ण कुरा राजनैतिक अखण्डता बारेमा धारणा के हो ?

करिब १ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आन्तरिक खिचातानी भन्दा पनि यी र यस्तै लोकतन्त्रलाई बलियो बनाउने र देशको आर्थिक विकास गर्ने मुद्दाले प्रवेश पाओस् भन्नेमा आम कार्यकर्ताको चासो रहेको छ।

यस बीचमा कांग्रेसले थुप्रै कार्यहरू गर्नुपर्ने थियो तर त्यो नेतृत्वले आवश्यक नै ठानेन। नेतृत्वलाई सही दिशामा हिंडाउन युवा महामन्त्रीद्वय, अन्य पदाधिकारी, कार्यसम्पादन समितिका सदस्यहरू र केन्द्रीय कार्य समितिका सदस्यहरूले समेत आ-आफ्नो भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने प्रष्ट छ। यसबाहेक पार्टीको बौद्धिक वर्ग समेत मूकदर्शक बनेर बस्यो।

सातवटै प्रदेश कार्यसमिति, ७७ वटा जिल्ला कार्यसमिति, १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमिति, ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति, ७५३ वटै स्थानीय तहका कार्यसमिति, ६ हजार ७४३ वडा कार्यसमिति र तत्तत् वडामा रहेका टोल ईकाइ कार्य समितिले तत्तत् नेतृत्वले गरेका गलत कार्यको विरुद्ध आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र नागरिकका पक्षमा तत्तत् ठाउँका जनप्रतिनिधिलाई कार्य गर्नको लागि प्रश्न किन उठ्न सकेन ? वा उठाउन सकेनन् ? आजको कांग्रेसलाई माया गर्ने पुस्ताले यी सबै ठाउँमा रूपान्तरण खोजिरहेको छ। रूपान्तरण बहसले होइन कार्यदिशाले हुनेमा द्विविधा नहोला।

नेपाली कांग्रेसको स्थापनाको आठ दशक पुग्दा पनि किन पार्टी वैचारिक रूपमा सबल र सक्षम बन्न सकेन। पार्टीको संगठन दिनानुदिन कमजोर किन हुँदैछ ? कांग्रेसले किन आम नागरिकका दैनिक जीवनसँग जोडिएका मुद्दा बोकेर घर-घर र टोल-टोलमा जान सकेन ? के नेतृत्व वर्ग यी सबै कुरामा जानकार छ त ?

म जन्मँदै कांग्रेस थिएँ किनभने मेरो बुवा, काकाहरू साथै मैले चिनेका जति सबै कांग्रेस थिए। अब यो भाष्यले काम गर्दैन। बुवा कांग्रेस भएकै भरमा छोरा-छोरी कांग्रेस हुने दिन गए। आजको पुस्ताले पार्टीले लिने कार्यदेश तथा नीतिमा आफ्नो भविष्य खोज्दछ। कांग्रेसले आम नागरिकको अभिभावक बन्ने गरी कार्य गर्न तीनवटा कुरामा प्रष्ट ध्यान दिन जरूरी छ- पार्टीको आन्तरिक लोकतन्त्र, देशको समग्र आर्थिक विकासको मोडेल र सुशासन।

पार्टीको आन्तरिक लोकतन्त्र सांगठनिक विस्तारको लागि हो भने देशको समग्र आर्थिक विकासको मोडेलले अन्य पार्टीका समेत कार्यकर्ता र आम नागरिकको मन जित्नको लागि मात्रै नभई आर्थिक र सामाजिक विकासको लागि पनि हो। सुशासनले कानुनी राज्यको प्रत्याभूति दिलाउँछ।

संगठन नै पार्टीको प्राण हो। यसलाई आत्मसात् गर्दै नेपाली कांग्रेसले वैचारिक बहस र पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणसँगै संगठन विस्तार अगाडि बढाउनुपर्छ। यसका लागि कांग्रेसले केही काम गर्नुपर्छ।

संगठन विस्तार

केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिन ढिला गर्नुहुँदैन। केन्द्रीय विभागहरूलाई तुरुन्त पूर्णता दिनुपर्छ। नेपाली कांग्रेसको विधान बमोजिम स्थापना भएका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूको नेतृत्व निर्वाचन मार्फत समयमा नै चयन गर्नुपर्छ।

प्रशिक्षण

केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले विधानले प्रदान गरेको कार्य गर्नुपर्छ। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) ले व्यवस्था गरे बमोजिमका सबै तहमा प्रशिक्षण दिनुपर्छ।

वैचारिक बहस

पार्टीको छुट्टै थिंक ट्यांकको व्यवस्था गर्नुपर्छ। यस्तो थिंक ट्यांकले पार्टीको लागि आवश्यक पर्ने विविध विषयमा सही सूचना तय गर्नुपर्छ। पार्टीको नेतृत्वले सार्वजनिक ठाउँमा कुनै विषयको बारेमा बोल्दा थिंक ट्यांकले तयार गरेको सूचनालाई आधार बनाउने, विश्वको बदलिंदो परिवेशलाई मध्यनजर गर्दै लोकतन्त्रको संस्थागत विकास र सबलीकरणको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिने र लिन लगाउने गर्नुपर्छ।

पार्टी अडिट

पार्टीले गरेका कार्यको अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्र बनाई ‘पार्टी अडिट’ गर्ने पद्धति बसाल्नुपर्छ। यस्तो पद्धति नेपाली कांग्रेसको आठवटै तहको संरचनामा गर्न आवश्यक छ।

नागरिकको जन-जीवनसँग जोडिने

आम नागरिकले दैनिक रुपमा भोग्नु परेका समस्याको बारेमा जानकारी लिंदै सोको समाधानको लागि सम्बन्धित निकायमा आ-आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्छ। आम नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउने कार्यको जिम्मेवारी लिनुपर्छ।

अब हामीले राजनैतिक परिवर्तनको मुद्दा बोकिराख्नुपर्ने अवस्था छैन। राजनीतिक अधिकार प्राप्तिको लडाइँ मुख्य कुरा होइन। संविधान र कानुनमा त्यसलाई निश्चित गरिसकिएको छ। अबको एजेण्डा भनेको आर्थिक विकास र समुन्नत नेपालको स्थापना हो।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा संगठन सुदृढीकरणका साथै आर्थिक विकासका लागि आयात प्रतिस्थापन र निर्यात प्रबर्धनका कार्यक्रमको बारेमा गहन रूपमा बहस चल्न आवश्यक छ। मानिसको जीवनसँग गाँसिएको खास मुद्दा भनेकै आर्थिक विकास हो। यो विषयमा हामीले भाषण मात्रै गर्‍यौं, अब काम गर्ने बेला आएको छ। यसको समग्र मार्गचित्र नेपाली कांग्रेसले दिन सक्नुपर्दछ अन्यथा यसको इतिहासले मात्रै आगामी दिनमा आम नागरिकको मन र मस्तिष्कमा बस्न सकिंदैन।

हाम्रो अहिलेको अवस्थालाई हेरौं कामका लागि विदेशिनुपर्ने, दक्ष कामदार विदेशबाट मगाउनुपर्ने विडम्बनापूर्ण अवस्था छ। यसलाई अन्त्य गर्नुपर्नेछ। यसको सुरूवातको बहस कसले गर्ने ? अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार नभए तापनि संघीय सरकारमा नेपाली कांग्रेसका ९ वटा मन्त्रीहरू छन्।

सात वटै प्रदेशको सरकारमा नेपाली कांग्रेसको उपस्थिति छ। ३२९ वटा स्थानीय तहमा नेपाली कांग्रेसको प्रमुख/अध्यक्षले सरकार चलाइरहेका छन्। यस्तो अवस्थामा पनि हामीले आर्थिक विकासका मुद्दामा केही गर्न सकेनौं भने यो पुस्ताले नेपाली कांग्रेसलाई कदापि क्षमा गर्ने छैन। तत्तत् तह र सरकारमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेसका जनप्रतिनिधिले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मर्मलाई आत्मसात् गर्दै आर्थिक विकासको रणनीति तय गर्न नेपाली कांग्रेसले विलम्ब गर्नुहुँदैन।

सुशासनलाई सहस्राब्दी विकास लक्ष्यको एक प्रमुख लक्ष्यका रूपमा लिइएको छ। सुशासन भन्नाले आफ्नो राज्यको नागरिकको नागरिक स्वतन्त्रता, व्यक्तिगत मानवअधिकार र न्यायसंगत समाज निर्माणका लागि राज्यद्वारा स्थापित प्रणालीलाई जनाउँछ। सुशासनले सरकारलाई प्रतिनिधि संस्था भन्दा पनि उत्तरदायी संस्थाको रूपमा खोजेको हुन्छ। सुशासनले नैतिक वैधानिकता, संवैधानिक वैधता तथा राज्यका लक्ष्यहरूमाथि सुनिश्चितताको वातावरण सृजना गर्नुपर्दछ।

राजनैतिक तथा सामाजिक नेतृत्वमा रही जिम्मेवारीको वहन गर्दा जनता र सरकारप्रति जवाफदेहिता निर्वाह गर्दै आफ्नो पदीय मर्यादाप्रति समर्पित रही गर्ने दायित्वबोधका बारेमा नेपाली कांग्रेस स्पष्ट हुन जरूरी छ। अतः सुशासन स्थापनाको लागि नागरिकप्रति दर्शाएको जवाफदेहिता, उत्तरदायित्व, नैतिक आचरण, पारदर्शिता, विधिको शासन, सहभागिता, मानवअधिकारको अवस्था, सूचना प्रवाह प्रणाली, बजेट विनियोजनको अवस्था लगायतमा नेपाली कांग्रेसको स्पष्ट धारणा आओस्। सुशासन कायम गर्नको लागि पार्टी सभापतिले चौडा छाती बनाउन समेत आवश्यक छ।

अन्त्यमा, आसन्न केन्द्रीय कार्यसमितिको बैठक समग्र सांगठनिक सुधार, आर्थिक विकासको एजेण्डा र सुशासन कायम गर्ने रणनीतिको स्पष्ट धारणा सहित खाका र कार्यादेश कोर्न सफल रहोस् भन्ने कामना गर्दछु।

(लेखक नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?