+
+

कांग्रेसलाई नफापेको उपचुनाव

संसदकै ठूलो दल भएर पनि कांग्रेसले समयमा उम्मेदवार चुन्न सकेन । रणनीति बनाएर मैदानमा पुग्दासम्म प्रतिस्पर्धीभन्दा धेरै ढिलो भइसकेको थियो कांग्रेस ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ वैशाख १८ गते २०:३७
इलाम २ का उम्मेदवार डम्बर खड्का र बझाङ १(१) का उम्मेदवार अभिषेक सिंह ।

१८ वैशाख, काठमाडौं । उपचुनावमा उम्मेदवारी दर्ताको समय नजिकै आइसक्दा उम्मेदवार छनोटका विषयमा ठूलो पार्टी कांग्रेस भयानक अलमलमा थियो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गाउँ पसिसक्दा कांग्रेसका आकांक्षीहरु पार्टी सभापति शेरबहादुर देउवा र अरु नेता भेट्न तल्लीन थिए ।

उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्नु २ दिनअघि (२२ चैत) मा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय लियो ।

कांग्रेसको प्रमुख प्रतिस्पर्धी शक्ति एमालेले इलाम–२ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेश सभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय ११ चैतमै गरिसकेको थियो । ढिलो गरी निर्णय गर्दा पार्टीका उम्मेदवारले रणनीति निर्माण र प्रचार प्रसार अवधि समेत कम भएको कांग्रेस नेता एनपी साउद बताउँछन् ।

पार्टीभित्रको आन्तरिक विवादका बीच खड्का र सिंहले टिकट पाएपछि आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेस एकतावद्ध जस्तै देखिएको थियो । इलाम–२ मा महामन्त्री विश्वप्रकाश शर्मा र बझाङमा पूर्वमन्त्री साउदलाई चुनाव परिचालन संयोजक तोकेर कांग्रेस चुनावमा होमिएको थियो ।

आफूले चाहेकालाई उम्मेदवार बनाउन नपाए पनि कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको पार्टीको प्रतिष्ठासँग आफ्नो नेतृत्वको सान्दर्भिकतासमेत जोडिने भएकाले मज्जैले खटिए ।

ढिलोगरी भए पनि आवश्यक रणनीति बनाउने, पार्टीभित्रको मनोमालिन्य घटाउन उनीहरुले भूमिका खेले । तर त्यसले कुनै परिणाम दिन सकेन ।

कांग्रेस इलाम–२ मा एमालेसँग फराकिलो अन्तरले पराजित भयो । बझाङमा आफ्नो स्थान कायम राख्न सकेन । कांग्रेसका पृथ्वीबहादुर सिंहले जितेको स्थानमा उनका छोरा अभिषेक उम्मेदवार भएको स्थान घट्यो ।

बझाङमा चुनावी कमाण्डर रहेका कांग्रेस नेता साउद पार्टीको सांगठनिक अवस्था र एकीकृत समाजवादीका कार्यकर्ता एमाले जिताउन लागेकाले हार्नुपरेको बताउँछन् । ‘एमालेलाई जिताउन एकीकृत समाजवादीका साथीहरु नै अन्तिम समयतिर लागे । सुदूरपश्चिम र केन्द्रको सरकार हेरेर होला’, साउद भन्छन्, ‘हाम्रो संगठन पनि कमजोर देखियो । पार्टी भन्दा पनि व्यक्ति लडेजस्तो देखिने अवस्था बन्यो ।’

विना गठबन्धन चुनाव जितेर देखाउने अवसर समेत कांग्रेसलाई थियो । सत्ता बाहिर हुनु, पार्टीभित्रको विवाद मत्थर, उम्मेदवार जिताउन पार्टीभित्रका समूहबीच विवाद नहुनु सकारात्मक पक्षबाट कांग्रेसले लाभ निकाल्न भने सकेन । इलाम–२ लाई २०५६ देखि एमालेको पकडबाट फुत्काउने अवसरबाट कांग्रेस चुक्यो ।

गठबन्धन नहुनुबाहेक कांग्रेसका लागि उपनिर्वाचन प्रतिकुल थिएन । तथापि, अनुकुल अवस्थालाई पछ्याएर परिणाममा कांग्रेसले देखाउन सकेन । माओवादीको मत एमालेले पाउँदा इलाममा कांग्रेस पराजित हुनुपरेको केन्द्रीय सदस्य रामहरि खतिवडा दाबी गर्छन् ।

‘इलाममा हामी कमजोर होइनौं । एमालेलाई माओवादीको मत नगएको भए कांग्रेसले जित्ने थियो’, केन्द्रीय सदस्य खतिवडा भन्छन्,‘एक्लै लड्न सक्ने आँट उपचुनावले दिएको छ । कांग्रेस निराश छैन ।’

इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै कांग्रेस उम्मेदवार डम्बर खड्का ।

४ मंसिर २०७९ को निर्वाचनमा झिनो अन्तरमा पराजित भएका डम्बर खड्काले पुनः उम्मेदवारको टिकट पाएसँगै देखिएकोे असन्तुष्टि मेटाउन स्वयं महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागेका थिए । २८ चैतमा पार्टीभित्रको आन्तरिक एकता कायम गर्ने उद्देश्य सहित महामन्त्री थापा त्यो क्षेत्रमा गए ।

इलामका जिल्ला तहका नेताहरुका अनुुसार खड्काले टिकट पाएको प्रति कतिपयले महामन्त्री थापासँग असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसलाई साम्य पार्ने प्रयत्न महामन्त्री थापाले गरे । व्यक्ति नभनी पार्टीका लागि जिताउन परिचालन हुन र उपनिर्वाचनले दिने सन्देशको महत्व बुझ्न जिल्लाका नेता कार्यकर्तालाई थापाले आग्रह गरेका थिए । चुनावी कमाण्डर भएर खटिएका अर्का महामन्त्री शर्माले पार्टीभित्रको असन्तुष्टि मेटाउन चुनाव क्षेत्रमै बसेर निरन्तर लागिरहे ।

दुई महामन्त्री, संस्थापनइतरका नेता डा. शेखर कोइराला लगायतका नेताहरु चुनावमा चुनावी प्रचारमा लागेपछि खड्काको पक्षमा पार्टी एकतावद्ध देखिएको थियो । संस्थापनइतरका नेताहरु क्षेत्रमा देखिएपछि उम्मेदवारका आकांक्षी भेषराज आचार्य पक्षका नेता कार्यकर्ता खड्काको पक्षमा खुले ।

आचार्यले खड्कालाई जिताउन प्रचारमा खटिएको चुनावी सभा मार्फत बताए । ‘म मेरो काम गर्छु । म नेपाली कांग्रेसको काम गर्छु, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन हिंडेको छु’, उनले चुनावी सभामा भनेका थिए ।

संस्थापन पक्षका उम्मेदवार खड्कालाई जिताउन मुख्य गरी संस्थापनइतरका नेताहरु खटिएपछि पार्टीभित्रको परिवेश अनुकूल बन्दै गएको थियो । ८ वैशाखमा भएको चुनावी सभामा महामन्त्री थापाले आकांक्षी सबै उम्मेदवारहरु ‘आफू नै डम्बर खड्का’ भनी मत माग्न निर्देशन दिएका थिए ।

सरकार बनाउने चुनाव नभएको तर सिंगो देशलाई सन्देश दिने उनको भनाइ थियो । ‘यो चुनाव सरकार बनाउने चुनाव होइन । यो चुनावले एउटा सांसद र एउटा सन्देश दिँदैछ । सांसदको महत्व इलाममा मात्र होला । तर, सन्देशको महत्व सिंगो देशलाई हुनेछ,’ थापाले भनेका थिए ।

तथापि, कांग्रेसले चाहे अनुसारको नतिजा उपचुनाव भएको दुबै क्षेत्रमा ल्याउन सकेन । अघिल्लो निर्वाचनको मत समेत जोगाउन सकेन ।

इलाम–२ मा कांग्रेस उम्मदेवार खड्का ५ हजार ८३० मतान्तरले पराजित भए । एमाले उम्मेदवार नेम्बाङले २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका खड्काले २१ हजार ९४२ मतमात्रै पाए ।

अघिल्लो चुनावमा सुवास नेम्बाङसँग ११४ मतले हारेका खड्काले उनकै छोरा सुहाङसँग पराजित हुँदा अन्तर बढेर ५ हजार ८३० पुग्यो ।
४ मंसिर २०७९ को आमचुनावमा इलाम–२ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो । उक्त मत हाल खड्काले पाएको भन्दा ३९१ ले बढी हो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर उपनिर्वाचनमा पाएको मत अनपेक्षित रहेको बताउँछन् । उपनिर्वाचनमा पार्टी एकढिक्का जस्तो देखिए पनि भावनात्मक एकता कमजोर हुँदा पराजय ब्यहोर्नुपरेको उनको भनाइ छ ।

‘आशा अनुरुप उपलब्धि हासिल गर्न सकेनौं । चुनावी रणनीति तय गर्न पार्टी लागेको देखिएन’, महरले भने, ‘यो नतिजाले कांग्रेसमा ठूलो पुनर्संरचनाको खाँचो रहेको देखाएको छ ।’

चुनावी रणनीति बनाउँदा पार्टी चुकेको कांग्रेसभित्रका कतिपय नेताको बुझाइ छ । प्रमुख प्रतिस्पर्धी एमाले भएको ठहर गरी प्रचार अभियान गर्नुपर्नेमा रास्वपा लक्षित भएको टिप्पणी पार्टीभित्र भएको छ ।

उक्त टिप्पणीमा सत्यता नरहेको नेता साउद बताउँछन् । ‘हाम्रो प्रतिस्पर्धी रास्वपा हुँदै होइन । उसले हाम्रो मत काट्न नपाओस् भनेर चुनावी गतिविधि भएको हो’, साउदले भने ।

वडामा बहुमत, संघमा पराजित

इलाम–२ का ४२ वडामा गत स्थानीय चुनावमा २२ वडा कांग्रेसले जितेको थियो । माङसेबुङ, फाकफोकथुम, चुलाचुली गाउपालिका, इलाम नगरपालिका (१० नम्बर वडा बाहेक) देउमाई नगरपालिका, माइ नगरपालिकाका ६, ७ र ८ वडा इलाम २ मा पर्छन् ।

इलाम नगरपालिकामा बाहेक सबै पालिकामा कांग्रेस पछि पर्‍यो । इलाम नगरपालिका प्रमुख, उपप्रमुख कांग्रेसले जितेको थियो । स्थानीय तहमा यस पालिकामा कांग्रेसले जितेका वडाहरुमा १, ४, ५, ६, ७, ८, ९ र १२ छन् ।

कांग्रेस उम्मेदवार खड्काले ८ हजार ५०५ मत प्राप्त गर्दा एमालेका सुहाङले इलाम नगरपालिकाबाट ७ हजार ८७४ मत ल्याए ।

सुरुवाती मतगणनामा फाकफोकथुमबाट कांग्रेसले अग्रता लिएको थियो । त्यो अग्रता दुईटा वडामा भन्दा बढी रहन सकेन । फाकफोकथुमको वडा नम्बर १, २ मतगणना सकिँदासम्म अग्रता लिइरहेका खड्कासँग नेम्बाङले ३ नम्बर वडामा पुग्दासम्म घटाइसकेका थिए ।

यी तीन वडाको मतगणना सकिँदा डम्बरको १६ सय ५८ र नेम्बाङको १६ सय ३० मत पाएका थिए । फाकफोकथुम गाउँपालिको सबै मत परिणाम आइसक्दा खड्का ११ सय ५५ मतले पछि परिसकेका थिए ।

एमालेले ४४ सय १३ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सय ५८ मत पायो । गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जित्न नसकेको कांग्रेसले १, २, ४ र ७ मा जितेको थियो ।

गत स्थानीय तहमा जितेका वडा तथा पालिकामा कांग्रेसका उम्मेदवारले पाए अनुसारको मत खड्काले बचाउन सकेनन् । अध्यक्ष सहित अधिकांश वडाध्यक्ष जितेको स्थानमा समेत कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

अध्यक्षसहित चुलाचुली गाउँपालिकाका ६ वडामध्ये पाँच वटा गत स्थानीय तहमा कांग्रेसले जितेको थियो । यस पालिकामा कांग्रेस तेस्रो स्थानमा खुम्चियो । एमालेले चुलाचुलीमा कुल मत ४ हजार ७४ पाउँदा कांग्रेसले २५ सय ८६ मत पायो । स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पार्दै यस पालिकामा ३२ सय ९९ मत ल्याए ।

माङ्सेबुङ गाउँपालिकामा प्राप्त नतिजाले कांग्रेस थप पछि धकेलिन पुग्यो । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष सहित सबै वडामा पराजित भएको हुँदा तुलनात्मक रुपमा कांग्रेस यहाँ कमजोर थियो ।

पहिचान पक्षधरले ह्वात्तै मत बढाउँदा एमालेसँगको मतान्तर कम भयो भने स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई नजिकबाट पछ्याए । माङ्सेबुङमा सबैभन्दा बढी मत पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेससँगै एमालेलाई पनि पछि पारे ।

थेगिमले २६ सय ३९, दोस्रो स्थानमा रहेको एमालेले २५ सय ९१ र कांग्रेसले १४ सय ८० मत ल्याए । यस पालिकाको गणना सकिँदा कांग्रेससँग स्वतन्त्र उम्मेदवारको मतान्तर २०७ मात्रै थियो ।

माइ नगरपालिकाका तीनवटा वडा ६, ७ र ८ पर्ने यस पालिकामा कांग्रेसका लागि सन्तोषजनक मत आउन सकेन । त्यहाँ स्वतन्त्र उम्मेदवारले समेत उसलाई पछि पारे । देउमाई नगरपालिकामा कांग्रेसले ६, ७ र ९ नम्बर वडा जितेकोमा उपनिर्वाचनमा एमाले भन्दा बढी मत ६ नम्बर वडामा मात्रै आयो ।

कूल खसेको ६९ हजार २८७ मतमा आधा मतगणना हुँदासम्म कांग्रेसको प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम देखिएका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?