+
+

अभिनेत्रीहरुको साउन : शिवको पूजा, शाकाहारी भोजन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १२:४८

काठमाडौं । हिन्दू महिलाका लागि साउनलाई भगवान शिवको पूजाआजा र उपवासको महिनाको रुपमा लिइन्छ । हरियो रङको लुगा र मेहेन्दी लगाएर हिन्दू महिला उपवासमा बस्छन् । मासांहारी पनि साउनभर शाकाहारी बस्न रुचाउँछन् ।

कतिपयले कठोर व्रत गर्न रुचाउने गरे पनि कतिपय चाहिं माछामासु नखाएरै उपवास बस्ने गर्छन् । केही नेपाली महिला सेलिब्रिटीलाई पनि साउन महिनासँग असाध्यै आस्था छ । उनीहरु कठोर व्रत नै नबसे पनि शाकाहारी रहेर चोखो बस्न रुचाउँछन् ।

अभिनेत्री मिथिला शर्मा साउनलाई भगवान शिवको महिनाको रुपमा लिन्छिन् । सोमबारलाई शिवको प्रिय बारको रुपमा आफूले लिने गरेको उनी बताउँछिन् । ‘केटाकेटी हुँदा यति रंगीचंगी भएर यसरी व्रत बस्ने चलन भएको जस्तो लाग्दैन । अहिले व्रत बस्ने र मन्दिर धाउने प्रवृत्ति निकै बढेको छ,’ उमेरले ६० कटेकी अभिनेत्री शर्मा भन्छिन्, ‘ईश्वरप्रति भक्ति विश्वास जगाउँदै पूजा आराधनामा सरिक हुँदै व्यक्ति स्वयंलाई त फाइदा पुग्छ नै समाजलाई पनि अनुशासित बनाउन मद्दत गरिहेको हुन्छ ।’

साउनमा आफू कठोर व्रत नबस्ने तर भगवान शिवको नियमित पूजा आराधना गरेर सात्विक भोजन गर्ने गरेको अभिनेत्री शर्मा बताउँछिन् । बजारमा हरियो, पहेंलो र रातो रंगको पहिरनमा सजिने प्रवृत्तिलाई उनी व्यापारी चलाएको फण्डाको रुपमा लिन्छिन् । ‘मुख्य कुरा त आन्तरिक चित्तलाई कस्तो साधना वा कर्मले शुद्ध गर्न सकिन्छ भन्ने नै हो,’ उनी भन्छिन्, ‘साउनमा ती रंगमा रंगिनुपर्छ भन्ने छैन । यो केवल व्यक्तिको विश्वास र सोचाइ मात्र हो । चुरा, टीका, कपडा, मेहन्दी लगायत श्रृंगारका विषय त व्यापारीले चलाएका फण्डा मात्र हुन् ।’

अभिनेत्री ऋचा शर्मालाई पनि साउनको महिना निकै प्रिय र पवित्र लाग्छ । उनी साउने सोमबार व्रत नै नबसे पनि खानामा विशेष शुद्धता दिन ध्यान दिने गरेको बताउँछिन् । भन्छिन्, ‘कुनै न कुनै निहुँमा व्रत बस्नु राम्रो कुरा हो । म अन्न वा जल नै त्यागेर व्रत त बस्दिनँ तर यो अवधिमा शाकाहारी भोजन मात्र ग्रहण गर्छु ।’

साउन महिनासँग हरियो रंगको विशेष अर्थ हुन्छ । प्रकृति र वातावरण हरियो त हुने नै भयो श्रृंगारको रंग पनि हरियो नै हुने हुँदा यसले महिलालाई खास तुल्याउँछ ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको लागि पनि साउन महिना विशेष छ । उनी साउनको प्रत्येक सोमबार उत्साहसहित उपवास बस्ने गरेको बताउँछिन् । कुनै कामना सिद्ध गर्न नभई आफ्नै स्वास्थ्यको लागि पनि लाभदायक हुने आत्मविश्वाससहित आफू व्रत बस्ने दीपाश्री बताउँछिन् ।

‘एक त भगवानको सम्झनामा पनि व्रत बसिन्छ  । अर्को कुरा यसले शरीरलाई पनि फाइदा गराउँछ,’ भन्छिन्, ‘साउनको महिना उत्साहको महिना समेत हो । यो महिना मलाई औधी मनपर्छ र यसले चाडबाड सुरु भएको सङ्केत पनि दिन्छ । प्राकृतिक रूपमा पनि सुन्दर हुन्छ । शीतलताको आभास हुने भएकाले पनि उत्साहमय लाग्छ ।’

अधिक मास परेकाले पनि धेरैले असार अन्तिमको सोमबारदेखि नै व्रत थालेका छन् । यस वर्ष अधिक मास परेकाले नियमित व्रत बस्दै आएकाले असारको अन्तिम सोमबार नै सुरु गरेका छन् । पहिलो पटक व्रत बस्न चाहनेका लागि भने मलमासका कारण व्रत सुरु गर्न उचित नहुने शास्त्रीय मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?