+
+

माओवादी पदाधिकारी बैठकमा विभाग र जनवर्गीय संगठन घटाउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते २१:३५

१० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट पार्टीका विभाग र जनवर्गीय संगठनको संख्या घटाउने गरी छलफल अघि बढाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकमा नेताहरूले पार्टीलाई विधि र विधानसम्मत बनाएर चलाउनुपर्ने, नेताहरूको कार्यविभाजन टुंगो लगाउनुपर्ने, विभागहरू घटाएर कामकाजी बनाउनुपर्ने तथा जनवर्गीय संगठनको संख्या पनि घटाएर चुस्त प्रकारका संगठन बनाउनु पर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘आगामी केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्ने विषयमा छलफल भयो । आजको बैठकमा हामीले प्रतिवेदन, विधान, कार्यविभाजन, विभाग घटाउने र कामकाजि बनाउने तथा जबसको संख्या धेरै भएकाले घटाउने र थोरै बनाउने विषयमा छलफल भयो,’ सचिव पौडेलले भने, ‘अब अध्यक्ष फर्किनु भएपछि १३ असारमा पुनः बस्छ । त्यसपछि केन्द्रीय समिति बैठकका एजेन्डा र प्रतिवेदनले अन्तिम रूप दिन्छौँ ।’

आगामी १७ असारका लागि तोकिएको पार्टी केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न बसेको उपलब्ध पदाधिकारीहरूको बैठकले बुधबार कुनै एजेन्डा तय नगरे पनि प्रारम्भिक छलफल गरेको सचिव पौडेलले बताए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुक बाहिर रहेकाले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो ।

बैठकमा सहभागी पदाधिकारीहरूले पार्टीलाई विधान र विधिसम्मत चलाउनुपर्ने तथा पार्टीलाई उत्पादनमा जोड्नुपर्ने सुझाव दिएका छन् । साथै, आगामी केन्द्रीय समिति बैठक कसरी प्रभावकारी र फलदायी बनाउने भन्ने विषयमा समेत पदाधिकारीहरू धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?