+
+

कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते १४:२३

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् ।

एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल र भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सिमा भनेर अर्घेल्याई गरेको बताएका हुन् । ‘कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याई हो । त्यस्तो पनि गर्न हो ? छिमेकीले त्यस्तो त गर्नुभएन । हामीले हाम्रो दावी छाड्नु हुँदैन’ उनले भने ।

कालापानीमा भारतले ६१ वर्षअघि सेना ल्याएर राखेको भन्दै ओलीले विना सम्झौता, विना जानकारी एकतर्फी रूपमा सेना राखेको बताए । सरकारले पनि लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गरेको भन्दै ओलीले भने, ‘अहिले लिम्पियाधुरा लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको छ । तर दाबी छोड्न हुँदैन। उहाँहरूले (भारतले) उपभोग गरिरहेको किन हो त ?’

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन आफैंले बुझ्ने तयारी गरेको तर सरकार छाड्नुपरेको ओलीले टिप्पणी गरे । ‘ईपीजी प्रतिवेदन म प्रम हुँदा बुझ्ने भनिएको थियो, नबुझ्ने भन्ने थिएन । तर मिती मात्रै तोकिएको थिएन । पछि मैले सरकार छाड्नुपर्‍यो’ उनले भने ।

ईपीपी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?