+
+

कपनको खोलामा काठमाडौं–बुढानीलकण्ठ आमनेसामने

‘भोलि दुवै मेयर नापी विभाग चावहिलमा गएर नक्सा हेर्छौं, नक्सा हेरेपछि धोबीखोला देखि खहरेखोलाको माथिल्लो स्थानसम्म नापजाँच गरेर मात्रै के गर्ने भन्ने कुरामा टुंगो लगाउँछौं,’ मेयर अधिकारीले भने । 

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन २५ गते २०:५१

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका बिहीबार मध्याह्न बुढानीलकण्ठ नगरपालिका सिमानानेर पर्ने कपन खोला माथिका संरचना हटाउने भन्दै दुई डोजर, ठूलो संख्यामा प्रहरीसहित गयो ।

काठमाडौं वडा ७ को र बुढानीलकण्ठ नगरपालिका–१० को सिमाना खहरे खोला साततल्ले चोकमा नगर प्रहरी सहित डोजर पुगेपछि स्थिति तनावग्रस्त बन्यो । बुढानीलकण्ठका १० नम्बर वडाध्यक्ष नवराज भट्टराई स्थानीयबासीसहित डोजर रोक्न आइपुगेका थिए । सोही क्रममा काठमाडौं महानगर प्रहरीले भट्टराईलाई छेकेका थिए ।

भट्टराईले आफूमाथि काठमाडौं नगर प्रहरीले बल प्रयोग गरेको बताए । ‘छलफलविना एक्कासी डोजर आएपछि के हो भनेर बुझ्न जाँदा म माथि दुव्र्यवहार भयो । हातपात गर्न खोजे, त्यसपछि स्थानीयले पनि विरोध गर्दा केही समय अवस्था बिग्रिएको हो,’ अनलाइनखबरसँग उनले भने ।

महानगरपालिकाले साँध–सिमानामा पर्ने स्थानमा सम्बन्धित पालिकासँग छलफल नै नगरी सडकपेटीबाट ठेला उठाउँदा गर्ने व्यवहार गरेको भन्दै उनले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ज्यादती गरेको आरोप लगाए ।

‘माथिल्लो तहमा रिपोर्टिङ गर्नुस्, छलफल र समन्वय विना डोजर चलाउन मिल्दैन भन्दा, पाण्डेले एकदम हेपेर बोले । त्यसपछि नगर प्रहरीले दुव्र्यवहार गरे’, भट्टराईले भने ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने वडाध्यक्ष भट्टराईले डोजरको चाबी नै खोस्न आएको दाबी गरे । ‘महानगरको सम्पत्तिमाथि नै हमला गर्ने शैलीमा आउनुभयो, डोजर छेकेर तमासा गरेपछि महानगरले छेकेको मात्रै हो’, पाण्डेले बताए ।  

वारिपारी दोहोरो नारा

साततल्ले चोकको खहरेले काठमाडौं र बुढानीलकण्ठको सिमाना छुट्याउँछ । वडाध्यक्ष हित स्थानीयले डोजर रोकेपछि काठमाडौं ७ का स्थानीयले बुढानिलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरे । काठमाडौं महानगर चावहिलतर्फ पर्छ भने बुढानीलकण्ठ कपनतर्फ पर्छ  ।

काठमाडौंका स्थानीयले खोला खोल्नुपर्ने माग राखेका थिए । त्यसको काउन्टरमा साततले चोकमा काठमाडौैं महानगर र नगर प्रहरी विरुद्ध बुढानीलकण्ठ नगरपालिकाका बासिन्दाले नारा लगाए । विशाल ट्रेड टावर अगाडि दोहोरो झडपको स्थिति आएपछि नेपाल प्रहरीले सशस्त्र प्रहरी बलले हस्तक्षेप गरेको थियो ।

कपनमा ठूलो संख्यामा स्थानीय जम्मा भएपछि बुढानीलकण्ठ नगरपालिकाका प्रतिनिधि, काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र नेपाल प्रहरीबीच छलफल भएको थियो ।

‘त्यहाँ कुरा गर्ने वातावरण थिएन, नजिकैको एक ठाउँमा गएर त्रिपक्षीय छलफल गरेका थियौं, तर त्यहाँ पनि नगर प्रहरी प्रमुख पाण्डेले झुट बोले’, वडाध्यक्ष भट्टराईले भने । काठमाडौंका मेयर बालेन शाहले बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारीसँग समन्वय गरेर डोजर पठाएको भन्दै झुट बोलेको भट्टराईले बताए ।

‘नगर प्रहरीले प्रमुख अधिकारीसँग छलफल नै नगरी छलफल गरेको र सिडिओले पनि डोजर चलाउन अनुमति दिएको बताए, जबकी त्यस्तो अवस्था नै थिएन’,  उनले भने । मेयरहरुले दोहोरो कुरा गरेपछि डोजर तत्कालको लागि रोकिएको थियो ।

मिठाराम सभागृह आएपछि फर्कियो डोजर

विहीबार करिब १२ बजेदेखि दिनभरि दुईवटा डोजर र ठुलो संख्यामा कपनमा जम्मा भएको नगर प्रहरी अपरान्ह भने यत्तिकै बागदरबार फर्केको छ । बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीले काठमाडौंका मेयर बालेनलाई फोन गरेर विना समन्वय सिमानामा डोजर चलाउन नमिल्ने बताएका थिए ।

अधिकारीलाई मेयर बालेनले राष्ट्रिय सभागृहको कार्यकक्षमै छलफल गर्न बोलाएका थिए । त्यहाँ अधिकारीले बालेनलाई समन्वय विना डोजर चलाउन कसरी पाउनुभयो भनी प्रश्न गरेका थिए ।

जवाफमा बालेनले आफूलाई खोलामा डोजर लगाउन सबै क्लियर भइसकेको रिपोर्ट आएकोले डोजर चलाउन अनुमति दिएको बताएका थिए ।

अधिकारीले बुढानीलकण्ठ नगरपालिकालाई नापी विभागले दिएको नक्सामा खोला नै नभएको बताएपछि मेयर बालेन नापजाँच गरेर मात्रै खोला उत्खननको काम अगाडि बढाउने कुरामा सहमत भएका थिए ।

‘भोलि दुवैजना नापी विभाग चाबहिलमा गएर नक्सा हेर्छौं, नक्सा हेरेपछि धोबीखोलादेखि खहरेखोलाको माथिल्लो स्थानसम्म नापजाँच गरेर मात्रै के गर्ने भन्ने कुरामा टुंगो लगाउँछौं,’ मेयर अधिकारीले अनलाइनखबरसँग भने । दुईमेयरको छलफल पछि डोजर र नगर प्रहरी पर्केका थिए ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?