+
+

स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते ११:२२

६ भदौ, काठमाडौं । सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका थिए ।

उनले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् ।

टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको थियो सिफारिस

जेबी टुहुरेलाई जनगायकको उपाधि दिलाउनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पहल गरेको थियो ।

प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा (प्रगती)का अनुसार गत साउन ३१ गतेको प्रतिष्ठानको बैठकले जेबी टुहुरेलाई जनगायकको उपाधि दिलाउन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मन्त्रालयले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेको थियो ।

प्रतिष्ठानको सिफारिस र मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव महराले आफूहरुको सिफारिसमा जेबी टुहुरेलाई मरणोपरान्त जनगायकको उपाधि प्राप्त भएकोमा खुसी लागेको बताइन् ।

२०२४ सालदेखि नै जनताका गीत गाउन थालेका टुहुरे

२०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार समेत थिए ।

उनकै स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । गत वर्ष धरानमा आयोजित जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीत लेखेका लव प्रधानलाई सम्मान गरिएको थियो ।

यस वर्ष भने कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई सम्मान गरिँदै छ । सम्मान कार्यक्रम यही भदौ १० गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गर्न लागिएको जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?