+
+

सुटिङमा पदक होइन, प्रदर्शन सुधार्ने मात्र लक्ष्य

नमिता दाहाल नमिता दाहाल
२०८० भदौ ९ गते २०:०७

९ भदौ, काठमाडौं । वर्षमा एउटा पनि राष्ट्रिय प्रतियोगिता नहुने सुटिङ खेलबाट आगामी एसियन गेम्समा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

चीनको होङझोउमा असोज ६ देखि ८ गते (सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म) सम्म हुने १९ औं एसियन गेम्समा सुटिङबाट सुस्मिता नेपाल र श्लिषा भण्डारी सहभागी हुनेछन् । दुई महिनायता सातदोबाटोस्थित सुटिङ हलमा प्रशिक्षण गरिरहेका उनीहरु एक महिनादेखि भने बन्द प्रशिक्षणमा छन् ।

नवौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा १२ जना खेलाडी छनोट भएकामा आर्थिक अभावका कारण अन्तिममा दुई जनालाई मात्र एसियन गेम्समा सहभागी गराउन लागिएको प्रशिक्षक असिम यादवले बताए ।

‘६ महिना/एक वर्ष प्रशिक्षण समय भएको भए केही आश गर्न मिल्थ्यो तर यो लगानी र यो तयारीमा हामी राष्ट्रिय रेकर्ड सुधार गर्ने कोशिस मात्र गर्न सक्छौं’ पदकको आशा नै गलत हुने भन्दै उनी थप्छन्, ‘एक्सपोजर कति छ, खर्च कति गर्नुभएको छ, त्यसपछि मात्र तपाईंले नतिजा खोज्ने हो ।’

१८ औं एसियन गेम्समा पनि सहभागी भएकी सुस्मिता नेपाल त्यति ठूलो प्रतियोगिताअघि पर्याप्त प्रशिक्षण र प्रतिस्पर्धा गर्न नपाएको बताउँछिन् । ‘यो तयारीले केही सहज त होला, तर एक्सपोजर नहुँदा धेरै गाह्रो हुन्छ’ सुस्मिताले भनिन् ।

श्लिषा भने पहिलो पटक एसियन गेम्स सहभागी हुन लागेकी हुन् । नवौं राष्ट्रिय खेलकुदमा उपाधि जितेकी उनले आफूलाई अन्तर्राष्ट्रिय प्रतियोगिता नौलो भएको बताउँछिन् । ‘अनुभव छैन तर आफूमा विश्वास चाहिँ छ । राम्रो स्कोर गर्न सकुँ भन्ने नै लक्ष्य छ’ उनी भन्छिन् ।

रेकर्ड सुधार्ने लक्ष्य

सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ एसियन गेम्सको तयारीका लागि बजेट नआएको बताउँछन् । ‘हामीले एसियन तयारी खर्च भनेर १ रुपैयाँ पनि पाएका छैनौं ।’ खेलाडीको प्रशिक्षणका लागि बुलेट र राइफलको व्यवस्था संघले आफ्नै खर्चबाट गरेको उनले जानकारी दिए ।

हाल खेलाडीले प्रयोग गरिरहेको १ थान बुलेट (५०० वटा) को मूल्य १५ सयदेखि २५ सय रुपैयाँ पर्छ । प्रशिक्षणका क्रममा खेलाडीले दिनमै एक थान बुलेट प्रयोग गर्छन् ।

प्रशिक्षक असिम भने १८ औं एसियन गेम्सको तुलनामा पेस्तोल सेट र बुलेट आधुनिक रहेका कारण यस पटकको एसियन गेम्सको तयारी राम्रो भएको बताउँछन् । ‘यो उपकरणले लगभग एसियन गेम्सको लेभललाई भेट्न सक्छ’, उनले भने ।

प्रशिक्षणमा प्रयोग भएको उपकरणप्रति खेलाडीहरु पनि सन्तुष्ट छन् । यद्यपि लक्ष्य त राष्ट्रिय रेकर्ड सुधारमात्र हो । ‘यो पटक बुलेट र राइफल नयाँ छ, यो पटक हाम्रो राष्ट्रिय रेकर्ड सुधार गर्ने लक्ष्य छ’, सुस्मिताले भनिन् ।

एसियन गेम्समा सहभागी हुने नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल र श्लिषा भण्डारी ।

नेपालले सुटिङको अन्तर्राष्ट्रिय खेलमा ६१९ नै सर्वाधिक स्कोर हो । तर यस पटक भने सुस्मिता र श्लिषा दुवैको लक्ष्य यो रेकर्डलाई तोड्ने हो ।

श्लिषाले गत नवौं राष्ट्रिय खेलकुदमा ६१७.१७ र सुस्मिताले ६१२.१ स्कोर गरेकी थिइन् ।

अभ्यासका क्रममा श्लिषाले ६ सिरिज (१ खेल) मा ६२५ भन्दा माथि स्कोर गरेकी छन् । १ सिरिजमा १० सट हुन्छ । एक खेलाडीले ७५ मिनेट समयको १ खेलमा ६० सट (६ सिरिज) सुटिङ गर्छन् ।

‘सुटिङको लागि जति प्राविधिक ज्ञान चाहिने हो त्यति हाम्रो खेलाडीमा छ’ प्रशिक्षक असिमले भने ।

घट्दो चासो

नेपालमा सुटिङको राष्ट्रिय प्रतियोगिता वर्षमा एउटा पनि हुँदैन । धेरैजसो खेलाडी आफ्नै लगावका कारण मात्र टिकेका छन् । पहिले सुटिङको माग र एक्सपोजर दुबै राम्रो रहेकामा हिजोआज घट्दै गएको प्रशिक्षक असिम बताउँछन् ।

२५ वर्ष खेलाडी र ८ वर्ष प्रशिक्षक बनिसकेका यादव भन्छन्, ‘मैले खेल्न सुरु गर्नु अघिसम्म सुटिङमा निकै राम्रो एक्सपोजर थियो । विदेश जाने चाप हुन्थ्यो तर अहिले प्रतिस्पर्धा माथिल्लो स्तरमा छ, तर एक्सपोजर झन् घटेको छ ।’

एसियन गेम्समा सहभागी हुने दुई खेलाडी र प्रशिक्षक ।

२०३७ सालबाट राष्ट्रिय प्रतियोगिता खेल्न थालेका यादव सुटिङ खेलको स्थिति अहिले भन्दा पहिले राम्रो रहेको सम्झिन्छन् । ३ दशकयता सुटिङमा उपकरण र प्रविधिको विकास भए पनि प्रतियोगिताहरु घटेको उनको भनाइ छ ।

उपकरण ल्याउन झञ्झटिलो ब्यवस्थाका कारण सुटिङ खेल फस्टाउन नसकेको असिमको बुझाइ छ । ‘सुटिङको विकासका लागि नेपालमा सुटिङका उपकरण ल्याउन सहज बनाउनुप¥यो । त्यसपछि मात्र यसमा अरु खेलमा सरह खेलाडी हुन्छन्, धेरैमा प्रतिस्पर्धा भएर राम्रा खेलाडी निस्किन्छन्’, असिम भन्छन् ।

२०७९ जेठ २२ देखि २८ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा १०० जना खेलाडीले सुटिङमा प्रतिस्पर्धा गरेका थिए । एसियन गेम्सका लागि गरिएको खुला छनोटमा ४० जना सहभागी थिए । जसबाट संघले १२ खेलाडी छनोट गरेको थियो ।

तर अभ्यास गर्ने ठाउँको कमी र आर्थिक अभावका कारण अरु १० खेलाडीले प्रतिस्पर्धा नै गर्न पाएनन् । एसियन गेम्समा सुस्मिता र श्लिषा मात्र छनोटमा परे । उनीहरुले १० मिटर रेन्जमा प्रतिस्पर्धा गर्नेछन् ।

वर्षमा एउटामात्र भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हुनुपर्ने प्रशिक्षक यादव बताउँछन् । ‘तर हामीमा न त राष्ट्रिय खेल छ न त अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा नै’ असिम भन्छन् ।

यस्तो अवस्थामा पनि युवा पिँढीमा यो खेलप्रति लगाव भने देखिन्छ । भर्खर विद्यालयस्तरको पढाइ सकेकी श्लिषा यसैमा करिअर बनाउन चाहन्छिन् । ४ वर्षदेखि सुटिङ खेल्न थालेकी श्लिषा भन्छिन्, ‘म सुटिङमा नै लागेर यसलाई नेपालमा एउटा परिचित खेल बनाउन चाहन्छु ।’

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर 

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?