+
+

आक्रामक पोथी बाघ बाँके निकुञ्जको संरक्षणमा

रासस रासस
२०८० भदौ १० गते १९:०५

१० भदौ, बाँके । मानिसलाई आक्रमण गर्ने पोथी बाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखिएको छ । सल्यानको कालीमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथी बाघलाई नियन्त्रणमा लिई संरक्षणका लागि  निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उक्त पोथी बाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई आक्रमण गरी मारेको थियो । अधिकृत शाहका अनुसार नियन्त्रणमा लिइएको उक्त पोथीबाघ १२ वर्ष उमेरको छ । २६८ सेन्टिमिटर लम्बाइ रहेको पोथी बाघको उचाइ ९८ सेन्टिमिटर छ भने छातीको गोलाइ ९४ सेन्टिमिटर भएको उनले जानकारी दिए ।

हाल बाघको स्वास्थ्य अवस्था पूर्णरुपमा राम्रो रहेको शाहको भनाइ छ । उहाँका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दीपेन्द्र खड्का, हिरेप्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् ।

गेम स्काउट दीपेन्द्र खड्का अनुसार बाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैंसीको मासु खुवाउने गरिएको छ । ‘भोकाएको अवस्था बुझेर तीनदेखि पाँच दिनको फरकमा आहारका रुपमा भैंसीको मासु दिने गरेका छौं’, उनले भने । बाघ बस्ने ठाउँको आवश्यकताका आधारमा सरसफाइ पनि भइरहेको खड्काले जानकारी दिए ।

उनले भने, ‘बाघलाई तीन वटा ब्लकमा राखिएको छ । तीनमध्ये एउटामा बाघलाई थुनेर राख्छौं र अन्य दुई वटा ब्लक सफा गर्छौं । सफा गरिएको ब्लकमा मासु राखिदिएर बाघले मासु खान गएको मौका छोपी फेरि अर्को ब्लक सफा गर्छौं ।’

बाघलाई आहार दिंदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए । उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

वन्यजन्तुका लागि बनाइएको उक्त ‘होल्डिङ केज’को क्षेत्रफल १८६ मिटर रहेको गेम स्काउट हेमराज रोकायले जानकारी दिए । ‘उक्त क्षेत्रफलभित्र तीन वटा ब्लकमा मांसहारी वन्यजन्तु संरक्षणका लागि घर बनाइएको छ’ उनले भने, ‘सोही घरमा पोथी बाघलाई संरक्षणका लागि राखिएको छ ।’

खैरी चेक पोष्टमा रहेको उक्त क्षेत्रको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतको शिवखोला गुल्मको टोलीले गरिरहेको गणपति अशोक खड्काले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?