+
+

एक विधवाको बहीखाता

सम्झन्थें! जसका श्रीमान्‌ ‘रातो’ क्रान्तिमा होमिएका थिए, उसैकी श्रीमती ‘रातो’बाट निषेधित थिएँ। यस्ता निषेधको राजनीतिसँग लडिरहें र लडिरहेकी छु आजसम्म पनि।

शोभा बजगाई शोभा बजगाई
२०८० भदौ १४ गते ८:३३

प्यारा !

हामी यहाँ आराम छौं। तपाईं पनि आरामसँग बस्नुहोला। भूगोल फरक छ हाम्रो। संसार पनि फरक छ। तर भूगोल र भौतिक संसारले सम्झनामा बाँध लगाउन कहाँ सक्ने रहेछ र !

अकथित र अलिखित भावनाले पनि त निकास खोज्ने रहेछ नि ! पोखिन अनुमति नपाएका भोगाइका फेहरिस्त आज मौका जुर्‍यो पोख्नलाई।

जीवनमा कति भन्न मन लागेका तर भन्न नसकेका कुरा हुन्छन्। कति भनेर पनि नसुनिएका कुरा हुन्छन्। तिनै कुरा गर्छु र मन हलुङ्‌गो बनाउँछु।

तपाईं यतिका वर्ष कहाँ जानुभयो? के खानुभो? कोसँग बस्नुभो? किन घर फर्कनुभएन? फर्कनुपर्छ नि ! अर्कै घर गृहस्थी बनाउनु भो कि ? मलाई तपाईं गएदेखि धेरै वर्षसम्म यस्तै प्रश्नहरूले घोचिरह्‍यो।

तपाईं अफिसबाट आउने वेला घडी हेरेर बरण्डामा बस्थें र उही हिरो साइकल कुदाउँदै आउनुभो कि? भनेर बाटोमा हिंडेका एउटा-एउटा हिरो साइकल हेर्थें। यो मेरो कुराइ जहिले पनि एउटा मौन सन्नाटामा टुङ्‌गिन्थ्यो।

आँखा भुतुक्क भएर गल्थे। भान्सामा कैयौं पटक भात डढ्‍थ्‍यो। तर तपाईं आउनुभएन। अहँ, आजसम्म पनि आउनुभएन र अब आउनुहुन्न भन्ने विश्वास गर्न जबरजस्‍ती बानी पारें।

मानिस फर्कनलाई त फर्कने ठाउँमा जानुपर्ने रहेछ। जान त जानुभयो, सबै जना एक दिन जानै पर्ने ठाउँ जानुभो। तर किन कुवेलामै जानुभो ? असमयमै जानुभो? अनि नफर्कने ठाउँमा जानुभो भनेर सोध्न मन छ एक पटक।

छोरीले बुबा खोजिरही। अरुले नबुझ्ने भाषामा सबैसँग सोधिरही, कहाँ जानुभो ? भनेर धेरैपछिसम्म। उसलाई अझै जवाफ दिन सकेको छैन मैले। किनकि मैले बुझेको छैन, मान्छेहरू मर्नु भनेको यहाँ नहुनु हो कि स-शरीर नहुनु हो ? या सम्झना नहुनु हो कि उपस्थिति नहुनु हो?

तपाईंलाई घरको आँगनमा, करेसाबारीमा, बरण्डामा, भान्सामा, ओछ्यानमा सबैतिर उसैगरी देख्छु र बात मार्छु। सँगै हाँस्छु। खाना पस्केर दिन्छु। तर फरक यत्ति हो, पहिला तपाईं खाना खानुहुन्थ्यो। मिठो नमिठो भन्नुहुन्थ्यो। तर आजभोलि तपाईंलाई दिएको खाना उस्ताको उस्तै हुन्छ। जहाँको त्यहीँ हुन्छ।

मसँग हाँस्नुहुन्न। म हाँस्दा एक्लै हुन्छु। रुँदा त एक्लै हुने नै भएँ। मानिसहरू मर्ने भन्ने कुरा मलाई विश्वास लाग्दैन। तपाईं हामीसँग नहुनु भनेको तपाईं नै ‘नहुनु’ त होइन नि ! मात्र अर्को संसारमा बसाइँ सर्नु हो। यही भन्दै छोरा-छोरी हुर्काएँ।

छोरोको त न तपाईंलाई सम्झना आउला, न त उसलाई नै। उसले सोध्दैन। तर हाम्रो छोरो जन्मियो भन्ने खबर नै तपाईंले सुन्नुभएको छैन होला। कसले सुनायो होला र ? खुब ठूलो स्वरमा भन्न मन छ मलाई, तपाईं गएको २२ दिनपछि हाम्रो छोरो जन्मियो भनेर।

तपाईं गएपछि सबै आफ्नाहरू फेरिए। समाजका मान्छे पनि फेरिए। भगवान समेत फेरिए। त्यै भएर मैले भगवान पूजा गर्न छोडें। व्रत लिन छोडें। तीर्थ जान छोडें।

ती फेरिएका सबै मान्छेसँग म बोल्न छोडें। हिंड्ने बाटो फेरियो। बाटोको लय फेरियो। मान्छेहरूका बोली फेरिए। व्यवहार फेरिए अनि मेरो दिनचर्या पूर्ण रूपमा फेरियो।

तपाईं गएको ३/४ वर्षपछि गाउँका साथीहरू मिलेर फिल्म हेर्न गयौं ‘कन्यादान’। ‘कन्यादान’ विधवाको कथा थियो। गौरी मल्ल विधवाको भूमिकामा थिइन्। उनलाई मरिहत्ते माया गर्ने हिरो भुवन केसी थिए।

मलाई त्यो हेर्दा फिल्म कहिल्यै नसकिए नि हुने जस्तो लाग्यो। विधवालाई पनि माया गर्न छुट रहेछ। उनको भावना बुझ्ने पनि मानिस हुँदारहेछन् यही समाजमा भन्ने लाग्यो। यो अनुभूतिले मात्र पनि थोरै उज्यालो बनायो मलाई। यथार्थमा उज्यालिने अनुमति कहाँ थियो र मलाई ?

त्यसपछि छुटेका प्रेमीहरू सम्झनामा आए। असल पुरुषहरू कल्पनामा आए। फिल्मको हिरो भुवन केसीलाई पटक-पटक सम्झें। सपनामा देखें धेरैपटक। मैले उनीहरूलाई सम्झेर गलत त गरिनँ नि शोभाको बुबा ? सपनै देखेर केही भुल त गरिनँ नि ?

मैले बुझेसम्म श्रीमान्‌–श्रीमती एक सह-अस्तित्वको सम्बन्ध हो। तर श्रीमान्‌ नहुनु श्रीमतीको स्वाधीनता पनि सँगै लिलामी हुनु त हैन नि !

थाकेर आउँदा तिमी गल्यौ होला भन्ने मान्छे नहुनु, तिमीलाई यो मन पर्छ ‘खाउ’ यो मन पर्दैन ‘नखाउ’ भन्ने मान्छे नहुनु, ढंग-बेढंगका कुरा सुनिदिने मान्छे नहुनु, ‘जन्मदिन’ सम्झिदिने मान्छे नहुनु, हृदयका रहरहरू छोइदिने मान्छे नहुनु, ‘म’ छु नि! भनेर उभिदिने मान्छे नहुनु, खासमा त के जीवन बाँच्नु रहेछ र ! मुटु लाटिएर बाँच्नु पो रहेछ। अँध्यारो जीवन उभिनु पो रहेछ।

हुन त अँध्यारो- उज्यालो एक सापेक्षता हो। तर मेरो जीवनमा निरपेक्ष अँध्यारो खस्यो। मेरो मात्र हैन, हर विधवा महिलाको जीवन यही अँध्यारो बाटो भई झर्छ जस्तो लाग्छ मलाई।

जीवनसाथी विना यो समाजमा महिला पूर्ण अशक्त भएर बाँच्छन्। मानसिक, सामाजिक र संवेगात्मक रूपमा अशक्त। अलि राम्रो लवाइखवाइ भएन भने निरीहताको प्रश्न। ठिकठाक भएर हिंड्यो भने चरित्रको प्रश्न।

आर्थिक आर्जन गर्न कमाउन नसक्दा के सक्थी सबै ‘श्रीमान्‌”ले गर्थ्यो। उसैको ‘भर’ थियो भनेर परनिर्भरताको प्रश्न। अलि कमाउन थाल्यो फेरि के गरी ‘कमाउँछे’ त्यसले भन्ने प्रश्न। यस्ता प्रश्नहरूको स्पष्टीकरण पटक-पटक दिइरहें।

आमा भन्नुहुन्थ्यो- ‘विधवाले चिटिक्क भएर बस्नुहुँदैन। राम्री भएर हिंड्नुहुँदैन। लुम्री-झुम्री भएर बस् नि ! अनि मात्र लोग्नेमान्छेको आँखामा परिंदैन।’

धेरै वर्ष यस्तै भएर बसें। आठ वर्ष दशैंको टीका लगाउन कहीँ गइनँ। जब जब दशैं आउँथ्यो, अत्यास लाग्थ्यो। दशैंको टीकामा मेरो लागि रङ मुछिंदैनथ्यो … वर्षौंसम्म।

सम्झन्थें! जसका श्रीमान्‌ ‘रातो’ क्रान्तिमा होमिएका थिए, उसैकी श्रीमती ‘रातो’बाट निषेधित थिएँ। यस्ता निषेधको राजनीतिसँग लडिरहें र लडिरहेकी छु आजसम्म पनि।

सन्तानहरूको एकल अभिभावकत्त्व ग्रहण गर्दा आएका अप्‍ठ्याराहरूको त कुरै नगरौं। छोराछोरीलाई माया गर्दा गाली गर्ने र गाली गर्दा माया गर्ने मान्छे नहुनु, उनीहरूको लागि असन्तुलित हुर्काइरहेछ।

यही असन्तुलनको बीच मारमा जहिले छोराछोरी परे। विना कारण गाली गरें। विना गल्ती मरुन्जेल कुटें। अहिले सम्झेर पश्चात्ताप लाग्छ। उनीहरूमा बालावस्था, किशोरावस्था र युवावस्था कहिले कसरी आयो पत्तै पाइनँ। कस्तो मनोविज्ञानमा हुर्कें ? कसरी पढें? आफूलाई कस्तो बाटोमा हिंडाएँ? यी मेरा लागि परका कुरा थिए।

उनीहरूका सफलतामा पूर्ण रूपमा पोखिएँ। दु:खमा पनि त्यसरी नै सम्पूर्णतामा पोखिएँ। यसरी उनीहरूका सम्पूर्णतामा आफू भने जहिले अपूर्ण बनें। म ‘म’ हुनलाई पनि ‘हामी’ हुनुपर्ने रहेछ। छोराछोरीले व्यावहारिक कठिनाइ नबुझ्दा बच्चासँग आफू पनि बच्चै बनें।

हामीले अभाव सँगै सिक्यौं। संघर्ष सिक्यौं। कैयौं पटक लड्दै-उठ्दै गर्‍यौं। छोराछोरीलाई सपना देख्न सिकाएँ। देखेका सपनाको उडान भर्न सिकाएँ। हरसम्भव मान्छे बन्न सिकाएँ। जे सिकाएँ एक्लै सिकाएँ।

पाइला–पाइलामा समाजको नाममा अजङ्गको जिनिस मेरो खबरदारी गर्न बसेको थियो। घरमा को आउँछन् ? कस्ता मान्छे आउँछन् ? कोसँग कसरी बोल्छे? कहाँ जान्छे? सामाजिक नियम पूरा गर्छे कि गर्दिन ? समाजले बनाएको मर्यादामा बस्छे कि बस्दिनँ ? भन्ने विषयमा विभिन्न नामधारी समाजका एजेन्टहरूले रखबारी गरिरहे।

उनीहरूका डरलाग्दा आँखाका चेपबाट भाग्दै सकसपूर्ण यात्रा तय गरें। तर अप्‍ठ्‍यारो परिस्थितिमा सहयोग गर्ने मानिस भने औंलामा गन्ने मात्र थिए।

तपाईं भौतिक रूपमा नहुँदा मलाई जीवनभरि नै असुरक्षा महसुस भइरह्यो। यो असुरक्षाको ‘जड’ तपाईं नहुनुको भन्दा पनि ‘एकल’ भएर स्वायत्त नहुनुको हो। स्वायत्त हुन नपाउनुको हो।

उत्पीडनका धेरै स्वरूप भोग्नुपर्ने रहेछ ‘एकल’ हुँदा। महिला हुनुको, शक्तिहीन हुनुको र ‘घरमूली’ भएर पनि समाज र परिवारले ‘मूली’ नमानिनुको उत्पीडनले क्षत–विक्षत बनिरहें। आमाको ‘एकल’ अभिभावकत्त्व समाजले सहज रूपमा नस्वीकार्दा छोराछोरी र ममाथि हुने प्रहारले आजसम्म पनि नियमितता पाइरहेको छ।

आमा-बाबु (दुवै)को जिम्मेवारी पूरा गर्दा मैले ‘आफू’ हुन सधैं बिर्सें। त्यसवेला तैंले आफूलाई बिर्सिस् भनिदिने पनि कोही भएन। सुन्दा स-साना लाग्ने यी गतिविधि मेरो आत्मबल र आत्मसम्मान कमजोर पार्ने प्रत्यक्ष कारण हुन्। मेरो भावनात्मक र वैचारिक जग कमजोर पार्न सिङ्‌गो सामाजिक संयन्त्र लागिपर्ने रहेछ।

मैले बुझेसम्म श्रीमान्‌–श्रीमती एक सह-अस्तित्त्वको सम्बन्ध हो। तर श्रीमान्‌ नहुनु श्रीमतीको स्वाधीनता पनि सँगै लिलामी हुनु त हैन नि ! निर्बाध रूपमा जीवनलाई उपभोग गर्न मैले आफूलाई रोकेर ‘पज’ गर्दै तपाईंको सतीत्वमा भएको प्रमाण पेश गर्दै अगाडिको यात्रा तय गर्नु त हैन नि ! मेरो यौन आवश्यकता र भावनात्मक अपूर्णतामाथि लगाइएको अङ्‌कुश र सङ्‌कुचनको उपचारमाथि मैले प्रश्न गर्न पाउने कि नपाउने ?

अब म उत्तर मात्र दिइरहने छैन। विलय भएको मेरो स्वामित्वको हिसाब पनि खोज्नेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?