+
+

आतोओडामाथि पोखरामा परिचर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १२:१३

१७ भदौ, पोखरा । उपन्यासकार जानुका खतिवडाको उपन्यास आतोओडामाथि पोखरामा परिचर्चा गरिएको छ ।

आख्यानकार सरूभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समीक्षक डा. ईश्वरमणि अधिकारीले सीमान्तकृत सन्थाल समुदायको भुइँमान्छेको कथा बोकेको उपन्यास सरल भाषामा सहज एवम् मिठो भाषाशैलीसहित बुनिएको बताए । उनले सीमान्तकृत वर्गको आन्दोलनको पृष्ठभूमि उल्लेख गर्दै ‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको’ भन्ने आन्दोलनबारे जानकारी नलिई यो उपन्यास पढ्दा त्यसले बुझाइ अपूर्ण हुने बताए ।

दिव्या कोइराला, विपी कोइराला, जगन्नाथ आचार्य, भीमदत्त पन्तलगायतले चलाएको भूमिसुधार आन्दोलनको प्रभाव सन्थाल समुदायमा पर्न नसक्नु बिडम्बना भएकोमा उनले आश्चर्य प्रकट गरे । सन्थाल जातिको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको समग्र जीवनसङ्घर्षको गाथा नै आतोओडा भएको उनले बताए ।

सन्थाल समुदायबाहेकका उपन्यासका अन्य पात्रले सन्थाललाई दुःख दिने गरी मात्रै प्रस्तुत गरिएको बताउँदै मुख्यपात्र फूलमुनि सुरुमा हठी देखिए पनि परिस्थितिसँग सम्झौता गरेको देखाइएकोमा असन्तुष्टि व्यक्त गरे ।

आत्मिक, अलौकिक, बाध्यात्मक, घरजमलगायतका प्रेमका विविध रूपको चित्रण उपन्यासमा छ ।

पुस्तकमाथि बोल्दै हसिना बस्नेतले झोडा फाँडेर बसेका सन्थालका पुर्खाले औलो र जंगली जनावरको आक्रमण सहेर सभ्यता निर्माण गरेका तर राज्यले तिनको अस्तित्वसमेत स्वीकार गर्न नसकेको यथार्थ उपन्यासले बोकेको सुनाइन् ।

सामाजिक यथार्थवादी धाराको उपन्यासमा फूलमुनि र बुधिनका माध्यमबाट सन्थाल समुदायको जीवनशैली प्रस्तुत गरेको बताइन् । राज्यका कर्मचारीले सन्थाल समुदायलाई हेपेको देखाएर तमाम सीमान्तकृत वर्गलाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको कुरा उल्लेख गरिएको सुनाइन् ।

कार्यक्रममा समालोचक डा. अशोक थापाले नागरिकता किनबेच हुने देशमा माटासँग सदियौँदेखि सम्बन्ध भएको सन्थाल जातिले नागरिकताबाट बञ्चित बनाइने देशको कथा उपन्यासमार्फत उठाएर उपन्यासकारले ऐतिहासिक महत्त्वको उपन्यास नेपाली साहित्यलाई दिएको जनाए ।

राजनीतिक आन्दोलनमा सन्थाल जाति चाहिने तर सन्थाललाई नागरिकता चाहिँदैन भन्ने सोच राज्यसँग रहनु बिडम्बना भएको बताए ।

कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तले भाषिक, सांस्कृतिक एवम् जातीय रूपमा धनी भएर पनि लेखनमा त्यतातर्फ ध्यान पुग्न नसकेको बताए । हाम्रो नेपाली समाज आन्दोलन गर्न जान्ने तर थिचिएकालाई उठाउन नजान्ने मूर्ख समाज बनेकामा दुःख पोखे । सत्ता र व्यवस्था बदल्न खप्पिस तर अवस्था बदल्नतिर ध्यान नदिने राजनीति बाटो बिनाको पुलजस्तो भएको बताए । अहिले सबै अहङ्कारको मिसाइल बोकेर एक अर्कालाई प्रहार गरिरहेका छन् र त्यसको सिकार सीमान्तकृत एवम् पिछडिएको समुदाय बनेको उल्लेख गरे ।

२००७ सालदेखि आजका मितिसम्म अनवरत एकैखाले असन्तुष्टि र विद्रोह लेख्नुपरेकामा लेखकहरू समस्यामा परेकाले समाजको लुकेको पक्ष उजागर गर्नेतर्फ कलम चलाउन लेखकहरुलाई आग्रह गरे । यथार्थ छोडेर स्वैरकल्पना मात्रै लेख्न नसकिने उल्लेख गर्दै जीवनको यथार्थ लेखनको केन्द्र रहनुपर्नेमा जोड दिए । विश्वव्यापी रूपमा स्थानीयतालाई महत्त्व दिई नलेखिएका विषयमा लेख्न थालिएको र आतोओडा पनि त्यसको एक सशक्त उदाहरण बनेकोमा लेखकलाई बधाइ दिए ।

लेखक जानुका खतिवडाले सन्थालहरुको जीवनलाई लेखनमा ल्याउन आवश्यक भएको महसुस भएर त्यसलाई औपन्यासिक स्वरूप प्रदान गरेको बताइन् । आफूले देखेको र आफ्नो निकटको समुदायले भोगेको जीवनको कथा उपन्यासमा उतारेको उनले बताइन् ।

पुछारसिटे अभियानले आयोजना गरेको कार्यक्रमको सभाध्यक्षता संस्थाका संयोजक सञ्जीव पौडेलले गरेका थिए । अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ ले सञ्चालन गरेको कार्यक्रममा सुरज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?