+
+

स्थानीय सरकारमा क्रिकेट क्रेज : बिदादेखि पुरस्कारसम्मको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १५:३१

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीहरुलाई सम्मानदेखि बिदा दिनेसम्मको घोषणा गर्न स्थानीय सरकारहरु एकपछि अर्को थपिएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । नगरपालिकाले भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही एक–एक लाख सहित सम्मान गर्ने निर्णय गरेको हो ।

धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षले कुनै खेलाडीले भारतविरुद्ध अर्धशतक हानेमा ५० हजार, शतक लगाएमा १ लाख र ह्याट्रिक गरेमा ५० हजार दिने घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले व्यक्तिगत रुपमा पुरस्कार उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यस्तै केही व्यक्ति र संस्थाहरुले पनि उत्कृष्ट प्रदर्शन गर्नेलाई राशीसहित पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

क्रिकेट हेर्न बिदाको घोषणा

केही स्थानीय तहले २ बजेदेखि सार्वजनिक विदा दिएका छन् भने केहीले विद्यालयहरु बिदा गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ । क्रिकेट हेर्नकै लागि महानगरपालिकाअन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना महानगरका अधिकृत हरि राउतले जारी गरेका हुन् । सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिकाले २ बजेदेखि सबै सार्वजनिक र संस्थागत विद्यालयहरुलाई क्रिकेट हेर्नको लागि बिदा दिएको छ । रौतहटको गौर नगरपालिकाले पनि २ बजेदेखि सबै विद्यालय बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?