+
+

एमाले कर्णाली अधिवेशन : सहमतिको अन्तिम प्रयासमा नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:२२
नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षका दाबेदार सल्यानका गुलावजंग शाह र कालिकोटका मिनबहादुर शाही

१२ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबारदेखि जारी छ । अधिवेशनले नयाँ नेतृत्व चुन्ने छ । अधिवेशनको तेस्रो दिन शुक्रबार बिहानैदेखि नेताहरु सर्वसम्मत नेतृत्वका लागि छलफलमा जुटेका छन् ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह र कालिकोटका मिनबहादुर शाही प्यानल नै बनाएर चुनाव लड्ने तयारीमा छन् । शाह एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल निकट हुन् भने शाही अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहका नेता हुन् ।

तर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्वसम्मत तरिकाले नेतृत्व चएन गर्न दबाब दिएपछि वीरेन्द्रनगरमा नेताहरु सहति जुटाउने प्रयासमा छन् । ‘हिजो महासचिव कमरेडले मिनबहादुर जीलाई जसरी भएपनि मिलेरै जान निर्देशन दिएर जानुभएको छ’, एमालेका एक नेताले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘गुलाव कमरेडकै अध्यक्षतामा सहमति खोज्ने अन्तिम प्रयास भइरहेको छ । त्यसमा सहमति जुट्न सकेन भने निर्वाचन हुने पक्का छ ।’

महासचिव पोखरेलले बिहीबार दिनभर बन्दसत्रलाई थाती राखेर सहमतिको प्रयास गरेका थिए । तर, कुनै सहमति जुट्न नसकेपछि मिनबहादुर शाहीलाई अलि लचिलो भएर सहमति खोज्न निर्देशन दिएर उनी बन्दसत्रमा सहभागी नै नभएर काठमाडौँ फर्किएको नेताहरुको भनाइ छ । अधिवेशनको बन्दसत्र बेलुका पाँच बजेबाट मात्रै सुरु भएको थियो ।

आज बिहानैदेखि वीरेन्द्रनगरको एक होटेलमा प्रदेश इन्चार्ज लेखराज भट्टको रोहबरमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरख बोगटी र अध्यक्षका उम्मेद्वार शाह र शाहीबीच छलफल चलिरहेको छ ।

बुधबार अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न निर्देशन दिएर फर्किएका थिए । ‘सकेसम्म सर्वसम्मत गर्नुहोस्, यसले एकताको सन्देश जान्छ, नभए चुनाव लड्नुहोस्, हार्नुहोस्, जित्नुहोस् तर प्यानल बनाएर चुनाव लड्न पाइँदैन,’ ओलीले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?