+
+

रुपन्देहीका उद्योगीले भने : ट्रंकलाइनको महसुल तिर्न सक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १५:३०

१४ असोज, बुटवल । बुटवल-भैरहवा औद्योगिक कोरिडोरका उद्योगीले आफूहरुले प्रयोग गर्दै नगरेको ट्रंकलाइन महशुल तिर्न नसक्ने बताएका छन् ।

प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइनमार्फत विजुली उपयोग गरेको भन्दै ४ बर्षपछि २०७६ फागुनमा ६६.६७ प्रतिशत बढी महशुल भुक्तानी गर्न भनेको थियो ।तर उद्योगीले प्रयोग नै नगरेको ट्रंकलाइन महशुल तिर्न नसक्ने भन्दै अस्वीकार गर्दै आएका छन् ।

विद्युत महशुल विनियमावली २०७३ को विनियम ५ (५) बमोजिम, दैनिक २० घण्टा वा सो भन्दा बढी विद्युत उपभोग गर्न पाउने गरी निवेदन दिई स्वीकृति भएको उद्योगले मात्र ट्रंक लाइन सरहको महशुल वुझाउनुपर्ने व्यवस्था भएको तर रुपन्देहीका उद्योगहरुले कुनै किसिमको माग, स्वीकृति र खपत नगरेको र ट्रंकलाइन सम्वन्धी छलफल र सहमति नै नभएको उद्योगीहरुको भनाइ छ ।

मन्त्रिपरिषद्ले २०७७ साउन १९ मा विद्युत नियमन आयोगलाई विवादको निरुपणका लागि निर्देशन दिएकामा आयोगले हालसम्म निर्णय दिएको छैन । तर प्राधिकरणको भैरहवा वितरण केन्द्र, नयांमिल वितरण केन्द्र र बुटवल वितरण केन्द्रले असोज मसान्तसम्म बक्यौता नबुझाएमा नियमानुसार कारवाही हुने बताएपछि उद्योगीहरु आन्दोलित भएका छन् ।

उद्योगीले आइतबार रुपन्देही उद्योग संघमा पत्रकार सम्मेलन गरी प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको दावी गरे । उद्योगले ट्रंक लाइन माग नै नगरेको हुँदा ४ वर्षसम्म बिल नदिएको भन्दै उद्योगीहरुले प्राधिकरणका कर्मचारीले गैर कानुनी ढंगले बक्यौता बिल पठाएको बताए ।

भलबारीका उद्योगी चन्द्रमान श्रेष्ठले ट्रंकलाइन उपभोग गरेको भए टिओडी मिटर दिएको हुनुपर्ने र लकसिटमा खपत भएको परिमाण उल्लेख हुनुपर्नेमा त्यो दुबै नभएकाले उद्योगीहरुले उपभोग नगरेको लाइनको महशुल तिर्न नसक्ने बताए ।

‘प्राधिकरणका कर्मचारीको गल्तीको भारी उद्योगीले बोक्न सक्दैनन्’, श्रेष्ठले भने, ‘अरु बेला महिना महिनामा आउने बिल २०७२ देखि ७६ सालसम्म नदिएर एकैचोटी ४ वर्षको बक्यौता देखाउनु सरासर गैरकानुनी र अन्याय हो ।’

२०७६ मा आफ्नो उद्योगको नाममा ४७ लाख बक्यौता देखाइएकोमा अहिले जरिवाना जोडेर ६३ लाख रुपैयाँ पुर्‍याइएको भन्दै उनले प्रयोग नै नगरेको विद्युतको महशुल नतिर्ने बताए ।

रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहराले उपभोग नै नगरेको विद्युतको महशुल उद्योगीले तिरेनन् भनेर प्राधिकरण र सरकारले दुष्प्रचार गरेको भन्दै आपत्ति जनाए ।

‘उद्योगीहरुले देखाएका प्रमाण हेर्दा ट्रंक लाइन प्रयोग गरेको देखिन्न तर पनि प्राधिकरणले जबरजस्ती तिराउन खोज्दा उद्योगीको मनोबल गिरेको छ, पलायन हुने अवस्था आएको छ’–बोहराले भने, ‘बिलको महशुल समयमै भुक्तानी गर्दै आएका उद्योगीमाथि प्राधिकरणले ४ बर्ष पछि ६६.६७ प्रतिशत वृद्धि गरी थप महशुल भुक्तानी लिन खोज्नु न्यायसंगत छैन ।’

नेपाल विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्रले प्राविधिक अस्पष्टता र आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्ने क्रममा उद्योगहरुलाई ट्रंक लाइनको विजुली दिएको थियो । त्यसैलाई उद्योगीहरुले नै ट्रंकलाइन सेवा लिएको भनेर व्याख्या गरेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए ।

प्राधिकरणले एकाधिकारको चरम दुरुपयोग गर्दै न्याय र कानुनको समेत अवहेलना गर्दै एकलौटी ढंगबाट उद्योगहरुमाथि पटकपटक प्रहार गर्नुले प्राधिकरणको नियतमाथि नै शंका लागेको पौडेलको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?