+
+

हाम्री आमा

दिनेश थपलिया दिनेश थपलिया
२०८१ वैशाख २६ गते ६:०७

रहरलाई बाध्यताले कुल्चेर
सुरु भएको आदिम यात्रा
भावीले लेखिदिएको भाग्यमा विश्वास गरेर
भोगिरहेको जीवनको यथार्थ
आफू बुहारी हुँदा खेपेको बुहार्तन
आफू सासू हँुदा भोग्नुपरेको बुहारीको शासन,
उदासी फूलहरू फुलेका छन् मुहारभरि
बिहान सखारैदेखि
शीतको ऐनामा आफ्नो प्रतिबिम्ब हेर्दै काटेको
घाँसको भारी बोकेर
एक गाग्री पानीका लागि घण्टौं कुरेर
एक डोको दाउराका लागि कोसांै हिंडेर,
घाम डुब्नुअघि
रक्तिम आकाशको प्रतिच्छायासँगै बस्तुभाउको स्याहार
रातको पहिलो प्रहरसम्म
मेलापात, खेतीपाती र घरधन्दामा घोटिनुपर्ने बाध्यता,
वर्षाैं भयो
पाइतालाले जुत्ता–चप्पल नदेखेको
ढुक्कले भन्छिन्– जुत्ता फाट्छ खुट्टा फाट्दैन
धेरै भयो
चौबन्दी र फरिया नफेरेको
हाँसेर बोल्छिन्– नयाँले मात्र लाज छोप्दैन
रेखी हाले जस्ता कुर्कुच्चा र पैताला
भाग्यरेखा मेटिएका औंला र हत्केला
ओइलिएको फूल जस्तो मलिन अनुहार
उजाड बगैंचा जस्तो फिक्का जिन्दगी
त्याग र समर्पणको गाथा हो यो
सीमान्त जिन्दगी बाँच्नेको कथा हो यो
बितिरहेछ वर्षौंदेखि
दिन–रात यसैगरी
समयसँग सम्झौता गर्दै
परिस्थितिको मुकाविला गर्दै
आफ्नै आँखाले आफ्ना सपना लिलाम गरेर बाँचिरहेकी
वात्सल्यकी प्रतिमूर्ति हुन् हाम्री आमा ।

०००

पीडा छोडेर गएको विगत
अनिश्चित हुँदै गएको भविष्य
र, धुमिल वर्तमानलाई हत्केलामा राखेर
आँखाको कोषबाट झरेको नदी नियाल्दै
स्मृतिको झ्यालबाट
मनको आलमारीमा थन्क्याइएका
पुराना यादहरू ब्युँझाउँछिन्,
आत्मकथाको पानाबाट
बाल्यकालका कथाहरू कोरल्छिन्
थाहै नपाई भोग्नु परेका
मधुमासका किस्साहरू सुनाउँछिन्
थाहै छैन,
आफ्नो परिचय हराएको सत्य
पत्तो छैन
आफू बेखबर भएको खबर
कहाँ पूरा भयो कठै ?
खसमको चिठ्ठी सिरानीमुनि राखेर
मिठो सपना कोरल्ने रहर !
घरबारीको ऋण निखनेर
बुढेसकालमा परिवारसँगै रमाउने कल्पना,
उजाड छ
मनको फूल फुलाउने पाखो
विस्मृत छ
मनको दुःख बिसाउने आँखो
केवल बाँकी छ
हिमाल झैं सेतै फूलेको उमेर
अचेल त
पाइला हैन हिम्मत मात्र चल्छ
शरीर हैन साहस मात्र हिंड्छ
तैपनि
सन्तानको मुस्कान सम्झेर हाँसिरहेकी
सन्तानको खुसीमा सन्तुष्टि साँचेर बाँचिरहेकी
यथार्थमा
धेरै नाथहरू हुर्काएर आफू अनाथ भएकी,
ममताकी खानी हुन् हाम्री आमा ।

०००

स्कुल नटेके पनि
पौरख र स्वाभिमान पढाउने प्रतिबद्धता
पुस्तक नदेखे पनि
परिवर्तन र अग्रगमनको मार्ग देखाउने अठोट
भोगाइ र अनुभवको अथाह भण्डारले
चेतनाको ज्योति बाल्ने महानता
भेट हुँदा होस् वा छुट्टिंदा
आँखाको डिलबाट आशीर्वाद बर्साएर
न्यानो स्पर्शले ऊर्जा दिने सामथ्र्य
घटेन कहिल्यै
चलिरह्यो निरन्तर
परिस्थितिको तारेभीरमा
जिन्दगीको उकालो चढ्दै गर्दा
कैयौंचोटि जिस्कायो मृत्युले
समयको अप्ठ्यारो मोडमा
विवशताको ओरालो झर्दै गर्दा
धेरै पल्ट तर्सायो भयले
कहिलेकाहीं
परिश्रम र मिहिनेतको देउरालीमा
निष्ठा र इमानको फूलपाती चढाउँदा
साथ दिइरह्यो आँट र भरोसाले
अभावको अजिङ्गरसँग जुध्दै
खाएर आधा पेट
मेटेर आधा भोक
रातसँग पौंठेजोरी खेल्दै
धेरै रात जाग्राम बसेर
कहिलेकाहीं अर्धनिद्रा सुतेर
चलिरह्यो जीवन संघर्ष
देखेन कसैले
घायल मनभित्र छिपेको नमिठो चोट
बुझेन कसैले
दुःख र पीडाले भरिएको आँशुको लेखोट
जीवनभरि
सन्तानको सुखको खातिर हावा जस्तै चलिरहे पनि
सन्तानको उज्यालोको लागि मैनबत्ती झैं बलिरहे पनि
जीवनको उत्तराद्र्धमा
आफ्नै घरमा शरणार्थी हुँदा पनि हाँसिरहेकी
मृत्युलाई अन्तिम प्राप्ति ठानेर बाँचिरहेकी
सृष्टिकी धरोहर हुन् हाम्री आमा ।
०००
(मातातीर्थ औंसी– आमाको मुख हेर्ने दिनको अवसरमा सबै आमाहरूप्रति समर्पित)
खाँदबारी–८ संखुवासभा,
हालः लोकन्थली भक्तपुर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?