+
+

कर तिर्दैनन् कलाकार ?

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८० असोज १६ गते १३:१२

आजभन्दा दुई वर्षअघि एक टेलिभिजन अन्तर्वार्तामा अहिलेकी चर्चित गायिका रचना रिमालले त्यहाँ सोधिएको एक प्रश्नमा भनिन्, ‘कसलाई तिर्ने कर ? सरकारलाई कर तिर्नुपर्छ भन्ने थाहा छैन । बाइकहरूको पो तिर्ने होइन कर ? मलाई तिर्नुस् भनेर कसैले भन्नुभएको छैन । यदि कसैले भन्छ भने तिर्छु ।’

हामीले यसपाली रचनालाई सोही प्रश्न दोहो¥ययौं । उनको जवाफ यस्तो थियो, ‘अहिलेसम्म कर बुझाएकी छैन । व्यक्तिगत पाननम्बर लिएकी छु । अब छिट्टै बुझाउँछु ।’ रचनाका अनुसार मेला, महोत्सवमा आयोजकले केही प्रतिशत काटेर मात्रै पारिश्रमिक दिने गर्छन् । तर, उनले गीतमा आवाज भरेबापतको पारिश्रमिकबाट कर अहिलेसम्म नबुझाएको स्वीकारिन् । पहिला थाहा थिएन कर बुझाउनुपर्छ भन्ने, तर अब त थाहा पाएकी छु, छिट्टै तिर्छु, रचनाले भनिन् । एक हजार गीतमा आवाज दिइसकेकी अहिलेकी सबैभन्दा चलेकी, सबैभन्दा धेरै मनपराएकी गायिका रिमालले छोटो समयमा नाम, दाम र स्टारडम कमाएकी छिन्, संसारका दर्जनौं देश पुगेर स्टेज तताएकी छिन् ।

रचना मात्रै होइन फिल्म, गीत-संगीत, म्युजिक भिडियो लगायत नेपाली कला क्षेत्रमा आवद्ध सेलिब्रेटीहरू करको दायरामा आउनुपर्छ भन्ने त थाहा छ । तर, कर तिर्न तयार छैनन् ।

अभिनेता पुष्पा खड्का आफूले फिल्मबाट पाएको आम्दानी मार्फत करबुझाए पनि म्युजिक भिडियोहरूको पारिश्रमिकबाट कर नबुझाएको स्वीकारे । उनी भन्छन्, ‘व्यक्तिगत पान नम्बर लिएको छु । फिल्मबाट पाएको पारिश्रमिकबाट कति बुझाएँ हिसाब गरेको छैन, म्युजिक भिडियोको कमाइबाट करबुझाएको छैन ।’

गायक तथा कलाकार प्रकाश सपुत अहिलेका सबैभन्दा चल्तापूर्जा सेलिब्रेटी हुन् । देश भित्र–बाहिर हुने स्टेज कार्यक्रममा पहिलो नम्बरका आकर्षक बनेर पुग्छन् उनी । राम्रै पारिश्रमिक पनि बुझ्छन् । तर, उनले अहिलेसम्म कति करसरकारलाई बुझाएको छु भन्ने हिसाब राखेका छैनन् । उनी बाहिर हल्ला अनुसार आफ्नो आम्दानी नरहेको बताउँछन् ।

सपूत भन्छन्, ‘अहिले नियमित आम्दानी भनेको युट्युब सामाग्रीबाट हुने हो । त्यसमा अहिले चाहिँ सरकारले ५ प्रतिशत करलगाएकाले रेगुलर त्यहाँबाट काटिरहेको छ । त्यसबाहेक म्युजिक भिडियो, इभेन्ट, विज्ञापनहरूबाट करसहित लिने कि करबाहेकको लिने भनेर एग्रिमेन्ट हुन्छ, खासमा त्यस्तो धेरै ट्याक्सेबल इनकम रेगुलर त छैन ।’

आफूले लिने पारिश्रमिक कसरी लिनुहुन्छ ? भन्ने प्रश्नमा उनी थप्छन्- अलि पहिला इभेन्टहरूमा जाँदा खाममा राखेर पैसा दिने चलन हुन्थ्यो । अहिले बैंकिङ मार्फत जाने चलन सुरु भएको छ । उहाँहरूले कसरी कर तिरिदिनुहुन्छ, मिलाउनु हुन्छ थाहा छैन । हामी त अफिसियल मात्रै होइन, व्यक्तिगत रूपमा पनि काम गरेका हुन्छौं । यी सबैबाट अहिले ट्याक्सको प्राक्टिस भइरहेको छ । तर, करकति बुझाएँ भन्ने हिसाब छैन । हामीले काम गरेअनुसार सम्झौता अथवा भुक्तानि लिँदा लिंदा सरकारलाई कर जाने तरिकाले कामहरू भइरहेको छ । करको अभ्यास अर्गनाइजेशन, संस्थाहरूले पनि गर्नुपर्छ ।

उनले भने, ‘राज्यले कर लिएपछि कलाकारप्रतिको दायित्व पनि उसले पुरा गर्नुपर्छ ।’

गायिका अस्मिता अधिकारीले अहिलेसम्म लगभग १५०० भन्दा धेरै गीतमा आवाज दिइसकेकी छन् । प्रति गीत कम्तीमा १५ हजारदेखि ३० हजारसम्म उनको पारिश्रमिक छ । त्यस्तै ७० हजारदेखि १ लाखसम्म पारिश्रमिक लिएर उनी मेला, महोत्सवमा पुग्छिन् । तर, उनीसँग प्रत्यक्ष रूपमा आयकर बुझाएको हिसाब छैन । त्यस्तो धेरै आम्दानी त कमाएको छैन, आफूलाई पुग्ने मात्रै छ । उनले भनिन्, ‘निरन्तरता दिएकी छु । गीत–संगीत मार्फत मलाई पुग्ने मात्रै कमाइ भइरहेको छ ।’ अस्मिताले पान नम्बर लिए पनि आयकर यतिउति बुझाएँ भन्ने यकिन नरहेको प्रतिक्रिया दिइन् । ‘कति वटा कामहरू पान नम्बर बुझाएर हुन्छन्, कतिपय यत्तिकै हुन्छन् । त्यो भएर यति भन्ने छैन’, उनले भनिन् ।

२५०० भन्दा धेरै गीतमा आवाज भरेका लोकप्रिय गायक प्रताप दास राम्रै आम्दानी गर्ने सेलिब्रेटीको सूचीमा पर्छन् । नेपालदेखि विदेशका दर्जनौं देशमा आयोजित मेला महोत्सवमा पुग्छन् । तर, उनलाई आयकर नियमित बुझाएको भन्ने यकिन डाटा छैन । च्यारिटी शोहरू गरिरहेका हुन्छौं, सरकारी म्युजिकहरू आयो भने त्यसमा सहयोग गरिरहेका हुन्छौं । अनि पान नम्बरबाट जाने ट्याक्समा प्रति गीत मार्फत पाएको पारिश्रमिकबाट जाने प्रणाली चाहिँ छैन, उनले भने, ‘यति सरकारलाई बुझाएँ भन्ने तथ्यांक चाहिँ छैन । तर, ठूला शोहरू हुँदा डाइरेक्ट काटेर पारिश्रमिक आउँछ । एउटा नागरिकको हैसियतमा हरेक ट्याक्सहरू सरकारलाई बुझाइरहेको छु ।’

गायक दासले कलाकार अशक्त र असहाय हुँदा सबैसँग गुहार्नुपर्ने स्थिति रहेको भन्दै नेपाली कलाकारको आर्थिक हैसियत खासै राम्रो नरहेको संकेत गर्छन् । उनी भन्छन्, ‘यदि सरकारी क्षेत्रबाट सेलिब्रेटीहरूका यस्ता गुनासा सुनिदिए उनीहरूको जीवन सहज हुन्थ्यो ।’ एउटा गायकको गीत कहाँ कति पटक बजेको छ त्यसको पारिश्रमिक जिन्दगीभरि पायो भने विदेश पलायन हुनुपर्दैनथ्यो, सबैसँग गुहार माग्नुपर्ने थिएन । बाहिरी देशका कलाकार जस्तै सम्मानित जीवन बाँच्ने वातावरण बन्थ्यो कि !

अभिनेत्री स्वस्तिमा खड्काले ठ्याक्कै यति जति कर बुझाउँछु भन्ने आधिकारिक हिसाब बोकेर नहिंडेको बताइन् । खासमा हामीहरूले जति कमाउँछौं, त्यस अनुसार कर त बुझाएका छैनौं । बैंकमार्फत बैंकमा कारोबार नभएपछि कहीं पनि कर तिर्न गाह्रो हुन्छ नि ! उनले भनिन्, ‘तर, मेरो कुरा भन्नुपर्दा फिल्मबाट पाएको पारिश्रमिकको करमेकर्सहरूले नै तिरिदिनुहुन्छ । सानोतिनो कामहरूबाट तिर्न मिलिरहेको छैन ।’ वार्षिक कारोबार हेर्दा यति कमाइ हुन्छ भनेर भन्न नसक्ने अवस्था रहेको उनी बताउँछिन् । करत तिर्नुपर्छ नै, कुनै इभेन्टमा गएँ भने कसरी तिर्नु ? उनी भन्छिन्, ‘करनतिर्ने भन्ने त हुँदैन ।

मैले एक वर्षमा जति काम गर्छु त्यसको १५ प्रतिशत करतिर्छु भनेर त हुँदैन । किनभने, सानोतिनो कामहरू भइरहेको हुन्छ । करतिर्ने प्रोसेस पनि त छैन नि, कहाँ गएर तिर्ने, कसलाई कुन हिसाबले दिने ? जहाँसुकै बैंकिङ कारोबार छैन । उनी भन्छिन्, ‘विदेशमा करछली हुँदैन । प्रोसेस गतिलो छ । क्यास टु क्यास काम हुँदैन । हाम्रो त प्रणाली हुनुप¥यो नि !’

चर्चित गायक बद्री पंगेनी नेपाली सेलिब्रेटीलाई करको दायरामा ल्याउन राज्यले छुट्टै किसिमको नियम बनाउनुपर्ने बताउँछन् । नेपाली गायकहरूको मुख्य आम्दानी भनेको स्टेज हो । ‘युट्युबको करत काटिएर आउँछ’ उनी भन्छन्, ‘विदेशमा कार्यक्रम गरेर फर्किने इमानदार कलाकारले त यति ल्याएँ भन्ला । तर, सबैले भन्छन् भन्ने हुन्न । कतिपयले पैसा पाएन भन्ला । ३ लाख कमाएर ५ हजार पाएँ भने पनि भयो । सरकारले विदेशमा हुने शोमा जानुअघि कसरी, कतिमा र कुन-कुन कार्यक्रमका लागि जाँदैछ फिक्स गरेर पठाउने नियम बनायो भने हिसाबकिताब निस्किएला । नत्र गाह्रो छ ।’

पान नम्बर दिएर पनि कतिपय आयोजकले करनबुझाएको पंगेनीको गुनासो छ । धेरैजसो ठाउँमा क्यास टु क्यास हुँदा हिसाबकिताब बिग्रने गरेको उनी बताउँछन् । उनले भने, ‘राजस्व छली गर्ने कलाकारलाई राज्यले प्रक्रिया पु¥याएर नियममा ल्याउनु प¥यो । क्यास टु क्यास गर्न नदिने, बैंकिङ कारोबार अनिवार्य गराउने र राज्य बलियो भयो भने कलाकार यो दायरामा आउँछन् ।’

पंगेनीले पान नम्बर लिएर राखेको र ठ्याक्कै कति कर बुझाएँ भन्ने हेरेर मात्रै बताउन सकिने बताए । ‘कहिलेकाहीं आम्दानी र खर्च बराबर भइरहेको हुन्छ’ उनी भन्छन्, ‘सधैं कार्यक्रम हुँदैन, कहिलेकाहीं सहयोग स्वरुप गरिन्छ । तर, सबै करको दायरामा अनिवार्य आउनुपर्छ । सरकारले कलाकारलाई छुट्टै मापदण्ड बनाउनुपर्छ । नेपालमा कर्मचारी बाहेक कसैले पनि नियम अनुसार करतिरेको छ जस्तो मलाई लाग्दैन ।’

निर्माता तथा अभिनेता दीपकराज गिरीले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘मलाई पनि कतिले भन्छन्, कर तिर्नुहुन्छ ?’ उनी भन्छन्, ‘हामी फिल्म निर्माण गर्नेहरूले फिल्मको व्यापार, खर्च, आम्दानी मार्फत भएको बचत र शेयर सदस्यहरूलाई बाँडेपछि आएको पैसाबाट करतिरेको हुन्छौं । तर, कलाकारहरूले के कसरी तिरिरहेका छन् खासै जानकारी भएन ।’ हामीहरूलाई कम्पनीको आम्दानी मार्फत करत अडिटरले तिराइहाल्छ ।

उनी भन्छन्- कतिपय नायकले ४०-५० लाख कमाउँछ भनिन्छ । सामाजिक सञ्जालमा ५० लाख भनिन्छ, निर्माताले कतिमा कागज गरेको छ भन्नेमा आधारित हुन्छ । खासमा त्यतिमा साइन गरिएको हुन्न, वास्तविक अर्कै हुन्छ । आफ्नो हल्ला र ब्राण्डको लागि महँगो रकममा साइन गरेको बताउनेहरूले यति करबुझाएँ भनेर किन भन्न सक्दैन ? तर, आम कलाकारहरूबाट ट्याक्समा भइरहेको छलीलाई उनले स्वीकारे ।

‘हामीलाई कतिपयले १५ करोड, १८ करोड कमाउँछ भन्छन् । तर, शेयर सदस्य धेरै हुन्छन्, आम्दानी मार्फत बाँड्दा १ करोड हाराहारी पनि आउँदैन, त्यसबाट सबै खर्च कटाएर कर बुझाइरहेका छौं’ उनी भन्छन्, ‘बाहिरबाट हेर्ने र भित्री अवस्था फरक छ ।’ तर, राज्यले नियम कडाइ नगर्दासम्म ट्याक्सको दायरामा कोही नआउने उनको भनाइ छ ।

कति कमाएकाले कति तिर्नुपर्छ कर ?

एकल व्यक्तिको हकमा वार्षिक ५ लाखसम्म कमाउनेले आम्दानीको १ प्रतिशत कर बुझाउनुपर्छ । ५ देखि ७ लाखसम्म कमाउनेले १० प्रतिशत, ७ देखि १० लाखसम्म कमाउनेले २० प्रतिशत, १० देखि २० लाखसम्म कमाउनेले ३० प्रतिशत, २० देखि ५० लाखसम्म कमाउनेले ३६ प्रतिशत र त्योभन्दा माथि कमाउनेले ३९ प्रतिशत कर बुझाउनुपर्छ ।

त्यस्तै दम्पतीको हकमा ६ लाखसम्म कमाउनेले १ प्रतिशत, ६ लाखदेखि ८ लाखसम्म कमाउनेले १० प्रतिशत, ८ देखि ११ लाख कमाउनेले २० प्रतिशत, ११ देखि २० लाखसम्म कमाउनेले ३० प्रतिशत, २० देखि ५० लाखसम्म कमाउनेले ३६ प्रतिशत र ५० लाखभन्दा बढी कमाउनेले ३९ प्रतिशत कर बुझाउनुपर्छ ।

राजस्व कार्यालयलाई छैन मतलब !

मुलुकको वित्त नीतिको प्रमुख उपकरण कर-राजस्व अन्तर्गत आन्तरिक राजस्व परिचालनलाई महत्वपूर्ण मानिंदै आएको छ । आन्तरिक राजस्व संकलनमा सरकारले सधैं कडाइ गर्ने बताए पनि कलाकारहरूको विषयमा भने कहिल्यै कडाइ गर्न सकेको छैन । कलाकारहरूले नेपाल भित्र र बाहिरबाट वार्षिक करोडौं आम्दानी गर्दै आएका छन् ।

यो कलाकारले यति लाख पारिश्रमिक बुझ्यो, यो कलाकारको यति माग ग¥यो जस्ता समाचार दैनिक रूपमा मिडियामा सार्वजनिक भए पनि ती कलाकारले आय कर बुझाउँछन् कि बुझाउँदैनन् भन्ने खबर खासै आउने गरेको छैन । कार्यालय समेत यस विषयमा निकै उदार हुने गरेको छ ।

सामान्य म्युजिक भिडियो खेल्ने कलाकारले समेत दिनको १० हजारसम्म कमाइ गरेका छन् । महिनामा कम्तीमा दुई लाखसम्म कमाएका मोडलहरू धेरै छन् । नियमित लाखौं आम्दानी गर्ने नेपालमा दर्जनौं कलाकार भए पनि उनीहरूले कर बुझाउँछन् या बुझाउँदैनन् भन्ने विषयमा कार्यालयले अध्ययन गरेको छैन ।

‘कसैले ठगी गरेको छ भने तुरुन्तै कारबाही हुन्छ’

अर्जुनप्रसाद भट्टराई, उपमहानिर्देशक

आन्तरिक राजस्व विभाग, लाजिम्पाट काठमाडौं

कहाँ चोरी भएको छ, कसले ठगी गरेको छ, त्यो सूचना प्राप्त भयो भने तुरुन्त अध्ययन–अनुसन्धान गर्ने र कारबाही गरिन्छ । हामीसँग सिस्टम छ, सिस्टमबाट कोही पनि बाहिर गयो भने कारबाही हुन्छ । नियमित रूपमा कर छलीबारे हामीले यो क्षेत्रमा मात्रै होइन जहाँ पनि अनुसन्धान गरिरहेका हुन्छौं । हाम्रो विधि यही हो नै ।

कतैबाट छल्ने काम भयो भने अनुसन्धानको दायरामा ल्याइन्छ । हामीले यो गरिरहेका हुन्छौं, भइरहेको पनि छ । कतैबाट सूचना प्राप्त भयो भने हामीलाई प्राप्त होस्, त्यो जानकारी भयो भने समात्न सहज हुन्छ ।

कर तिर्नुपर्छ भन्ने सबैलाई थाहा छ, कतिपय हकमा यसबारे जनचेतना फैलाउने, म्यासेज पठाउनुपर्ने विषयमा केही कमी-कमजोरी होलान्, तर सबैलाई जानकारी त छ जस्तो लाग्छ । हामीले अध्ययन, अनुसन्धान गर्ने नियमित काम हो । कहीं कतैबाट कर छली भयो भने र त्यो अध्ययनबाट सत्य हो भन्ने लाग्यो भने यो विवरण हेर भनेर जहाँसुकै सम्बन्धित निकायमा पठाएर कारबाही प्रक्रिया सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?