+
+

‘बर्फी’को ११ वर्षपछि बलिउडमा पुनरागमन गर्ने तयारीमा भोलाराज, ‘कौसीद’बारे के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते ११:३३

काठमाडौं । ‘बर्फी’ रिलिजको ११ वर्षपछि भोलाराज सापकोटाले बलिउडमा ‘कमब्याक’ गर्ने भएका छन् । आगामी फिल्म ‘कौसीद’को प्रवर्द्धनमा व्यस्त यी अभिनेताले नयाँ बलिउड फिल्मको छायांकन चाँडै सुरु हुने जनाए ।

बर्फी, लुँडो, जग्गा जासूसजस्ता हिन्दी फिल्ममा सहायक निर्देशन गरेका सुनिल सुव्रमण्यमले गर्ने जनाइएको यो फिल्ममा आफू पनि जोडिने सापकोटाले अनलाइनखबरलाई जानकारी दिए । ‘यो फिल्मको कुरा भैराख्या छ । सम्भवतः छिट्टै होस् । सुटिङ सकिन थालेपछि मात्र हल्ला हुन्छ,’ उनले भने ।

‘बर्फी’मा रणवीर कपुरसँगै स्क्रिन सेयर गरेका सापकोटा त्यसपछि बलिउडमा समेत हिट भए । ‘रणवीरसँगै होइन बरु चिफ एडीहरुसँग निरन्तर सम्पर्कमा छु,’ उनले भने ।

सापकोटाको पहिलो शीर्ष भूमिका रहेको सोसल ड्रामा ‘कौसीद’ असोज २६ गतेबाट प्रदर्शन हुँदैछ । कौसीद आफ्नो अभिनय करिअरको महत्वपूर्णमध्येको फिल्म रहेको उनले बताए ।

बैंकबाट ऋण लिएको एक शिक्षक जो ऋण तिर्न संघर्ष गर्छ । उक्त पात्रको भूमिकामा भोलाराज देखिएका छन् । ‘लोन लिएको मान्छेलाई, लोन तिर्न खोज्दा के कस्ता अवरोध आउँछन् भन्ने कुरा दर्शकले हेर्न पाउँछन् र आफूलाई जोड्न पाउँछन् । एउटा टिचर लोनमा परेको छ । बैंकले ब्याज भनेर धुतिरहेको छ, खाइपाइ आएको तलबले पुग्दैन भने त्यसमा त्यो टिजरले कसरी जिउँछ ? बैंक र परिवारसँग मास्टरको द्वन्द्वमै दर्शक इन्गेज हुने हुन् भन्ने लाग्छ,’ फिल्मबारे उनले भने ।

कलाकारले भिन्न खालका पात्रको चित्रण गर्न सक्नुपर्ने उनको मत छ । ‘मलाई पनि फरक चरित्र गर्न पाए खुसी लाग्छ । हामी कलाकारलाई नाम कमाउने लोभ हुन्छ । कसैले क्यारेक्टर दियो भने पनि त्यसमा काम गर्न मन लाग्छ । एउटै दृश्यभित्र तीन प्रकारले चरित्र चित्रण गर्न पाइयो भने कलाकारका लागि राम्रो कुरा हो,’ उनले भने ।

‘जात्रा’बाट फिल्म करिअर थालेका भोलाराजले ‘कौसीद’सहित १५ नेपाली फिल्ममा अभिनय गरेका छन् । ‘कुम्भकरण’मा पनि उनको शिक्षकको भूमिकामा थिए । ‘कौसीदमा पनि टिचरको भूमिकामा छु तर यो अरुभन्दा भिन्न टाइपको छ,’ उनले भने ।

नाटकको अभिनय फिल्ममा र फिल्मको नाटकमा भन्ने भनाइमा उनी सहमत भए । ‘म यो भनाइमा म सहमत छु । म आफैंले महसुस गरेको छु । कहिलेकाहीं नाटकजस्तै हुने गर्छ फिल्म । कहिलेकाहीं फिल्म खेल्दा नाटकमा आउन मन छ । यो कुराबाट सफर हुन सक्छ, तर म सचेत छु,’ उनले अनुभव सुनाए ।

भोलाले गरेका अधिकांश फिल्म आर्टहाउस हुन् । किन त ? ‘कलाकार भएपछि व्यावसायिक फिल्म खेल्ने मन त भइहाल्छ । नाटक मात्र खेल्थें भने पाँच हजार दर्शक मात्र आउँथे होला तर फिल्म खेल्छु भनेपछि बढीभन्दा बढी दर्शकले हेरुन् भन्ने हो । धार भन्ने कुरा म मान्दिन । खुकुरी र हँसियातिर होला । तर कलाकारको हिसाबले जस्तो खालको फिल्म पनि गर्न चाहन्छु,’ उनले भने ।

उनले कुमार भाष्कर निर्देशित फिल्म ‘कौसीद’लाई लिएर आफू आशावादी रहेको सुनाए । ‘पहिलो लिड भएकाले पनि आशावादी छु ।  पात्रका लागि एकदम मेहनत गरेका छौं । यसमा कथावस्तुसँगै मनोरञ्जन पनि छ,’ फिल्मबारे उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?