+
+

एसियाडको करातेमा नेपाल पहिलो दिन निराश

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १५:००
मोहमद सेखु आलम

१८ असोज, हान्झाउ । १९ औं एसियाड अन्तर्गत बिहीबारदेखि सुरु भएको करातेमा पहिलो दिन नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

पहिलो दिन कातातर्फ दुई  र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ ।

पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण नै पार गर्न सकेनन् ।

पहिलो चरणमा महिला र पुरुष दुवैको दुई-दुई पुलमा राखेर प्रतिस्पर्धा गराइएको थियो । जसमा दुवै पुलबाट शीर्ष चार-चार खेलाडी अर्को चरणमा प्रवेश गरे । नेपाली खेलाडी भने शीर्ष चारमै पर्न सकेनन् ।

पहिलो चरणमा महिलातर्फ १६ र पुरुषतर्फ १३ खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

चतानयारा कुशांकु काता प्रस्तु गरेका  सोनिमले ३८.३ अंक जोड्दै पाँचौ स्थानमा रहे । उनी चौथो भएका भिएतनामका मिन फाम भन्दा थोरैले पछि परेका थिए । फामले ४० अंक जोडेका थिए । यस पुलमा ८ खेलाडी समावेश थियो ।

यस्तै महिलातर्फ एलिसाले ३७.३ अंक जोडेर ८ खेलाडी सम्मिलित पुलको छैटौं स्थानमा रहिन् ।

१९औं एसियाडमा करातेतर्फ नेपालबाट कातामा २ खेलाडीले मात्र सहभागिता जनाउँदा टिम काता सहभागि छैन् ।

कुमुतेतर्फ भने नेपालका ६ खेलाडी सहभागी छन् । जसमा बिहीबारै भएको कुमुतेतर्फ पुरुष ७५ केजी तौल समूहमा मोहमद सेखु आलम पराजित भएका छन् । उनी पहिलो खेलमा एसियन च्याम्पियनसिपका स्वर्ण विजेता कजाकस्तानका नुराकानात अझिकानोभसँग ५-० ले पराजित भए ।

अजिकानोभ फाइनल पुगेपछि सेखु आलमले रिपेचेज खेल्ने मौका पाएका थिए । रिपेचेजमा पनि उनले पहिलो राउण्डमा बाई पाएका थिए तर त्यसपछि रिपेचेजको दोस्रो राउण्डमा कीर्गिस्तानका नाजिम नुर्लानोभसँग २-० ले पराजित हुँदै बाहिरिए ।

कुमुतेकै विप्लभ श्रेष्ठले शुक्रबार ८४ केजी तौल समूहको अन्तिम १६ चरणमा ताजिकिस्तानका उमेद साफारोभसँग, निरुपा तामाङले ६१ केजी तौल समूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तरासँग खेल्नेछन् ।

यस्तै एरिका गुरुङले ६८ केजी तौलको क्वाटरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्नेछिन् भने सन्तोष श्रेष्ठले ६७ केजी तौल समूहको अन्तिम १६ मा थाईल्याण्डका चाइवाट फियान्दीसँग खेल्नेछन् ।

सविना श्रेष्ठले भने १९औं एसियाडको समापनको दिन आइतबार ५० केजी तौल समूहको अन्तिम ३२ मा चीनकै रानरान लीसँग खेल्नेछिन् ।

कुस्तीमा सिवाङ्गी पराजित

१९औं एसियाड अन्तर्गत कुस्तीतर्फ बिहीबार नेपालकी सिवाङ्गी दुवे पराजित भएकी छन् ।

महिला फ्रिस्टाइल ५७ केजी तौल समूहमाको प्रिक्वाटरफाइनलमा सिवाङ्गी थाइल्याण्डकी स्रिप्रापा थो काएवसँग ८-० ले पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?