+
+

१९०० विन्दुमुनि झर्‍यो नेप्से, हाइड्रोपावरमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १५:४४

२३ असोज, कठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो ।

राष्ट्र बैंकले उक्त सीमा बढाएपनि सेयर लगानीकर्तामा भने त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ । ४ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो । यसअघि १८ जेठ २०८० मा नेप्से १८६६.३४ को विन्दुमा बन्द भएको थियो ।

राष्ट्र बैंकले १२ करोडको सीमा बढाउनुअघि गत बिहीबार नेप्से १९५६.९२ को विन्दुमा बन्द भएको थियो । बिहीबार साँझ १२ करोडको सीमा हटाएपछि आइतबार नेप्से ३५.६७ अंकले गिरावट हुँदा सोमबार १२.५८ अंकले गिरावट भएको थियो ।

मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १.६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबारमा भने सोमबार भन्दा केही सुधार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब १७ करोडमा सीमित भएको थियो । मंगलबार भने कारोबार रकम बढेर १ अर्ब २८ करोड ३२ लाख पुगेको हो । मंगलबार नेप्सेमा ४४ हजार ६९ वटा कारोबारमा ४२ लाख ८७ हजार ४२४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

मंगलबार कारोबार भएकामध्ये सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक २० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ३४ लाख र एनआईसी एशिया बैंकको ३ करोड ३ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २३३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

मंगलबार कारोबार भएकामध्ये अप्पर लोहोर खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशतले वृद्धि भएको छ । यस्तै इन्फिनिटी लघुवित्तको सेयरमूल्य ४.१९ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले बढेको छ ।

बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले गिरावट हुँदा गरिमा ऋणपत्र २०८५ को मूल्य ५.३८ प्रतिशतले गिरावट भएको छ । यस्तै रावा इनर्जी डेभलमेन्ट कम्पनीको सेयरमूल्य भने ५.४८ प्रतिशतले गिरावट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?