+
+
यू-१९ एसीसी प्रिमियर कप :

इरानमाथि नेपालको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १३:००

२५ असोज, काठमाडौं । इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।

वाईएसडी (यूकेएम क्रिकेट ओभल) बाङ्गीमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ३५३ को विशाल योगफल खडा गर्यो ।

जवाफमा इरानलाई ३०.४ ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेट्यो । उसका लागि ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । २२ बल सामना गरेका उनले ५ छक्का र १ चौका प्रहार गरेका थिए ।

उनले पहिलो विकेटका लागि समन शेखीसँग ३६ रनको साझेदारी गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा सुवास भण्डारीले पहिलो विकेटका रुपमा शेखीलाई ५ रनमा पभेलियनको बाटो देखाएपछि इरानको निरन्तर विकेट गुमायो ।

घातक बलिङ गरेका दीपेश कँडेलले ७ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए भने सुवासले ८.५ ओभरमा ६ रन खर्चिएर समान ३ विकेट हात पारे । हेमन्त धामी र आकाश चन्दको नाममा २–२ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने निकै खराब थियो । ओपनर अर्जुन कुमाल शून्य र तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी ३ रनमा आउट हुँदा नेपालको स्कोर १०/१ थियो ।

तर चौथो नम्बरमा आएका कप्तान देव खनालले दीपक बोहोरासँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरे । त्यसक्रममा खनालले ५९ बलमा शतक पुरा गरे । अर्को बलमा उनी आउट भए भने अर्को ओभरमा बोहोरा पनि पभेलियन फर्किए । ५९ बलको सामना गरेका उनले ६५ रन बनाए ।

त्यसपछि नेपालीको पारी दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले सम्हाले । दुबैले पाँचौं विकेटका लागि ९१ रनको साझेदारी गरे । डुम्रे ४४  बलमा ६९ रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर २७६/५ थियो ।

थप थप रन जोड्दा दीपक पनि आउट भए । बल बलको सामना गरेका उनले २९ रन बनाए । दीपक बोहोरा १ र मिलन बोहोरा शून्यमै आउट भए । तर तल्लो अर्डरका ब्याट्सम्यानले नेपालको स्कोरलाई ३५३ रनसम्म पुर्याए । त्यसक्रममा मेहन्त धामीले १९ बलमा २३ र आकाश चन्दले ११ बलमा १९ रन बनाए । सुवास भण्डारी १८ रनमा अविजित रहे ।

इरानका डाडरहमान राइसी र सलमान नयाज्माले समान ३–३ तथा जेइद राएसी र समान शेखीले समान २÷२ विकेट लिए ।

नेपालका कप्तान खनाल म्यान अफ दि म्याच भए । टिमको स्कोर र आफ्नो शतकप्रति खुसी रहेको उनले बताए । उनले इरानको फिल्डिङको तारिफ गरे ।

नेपालले दोस्रो खेल आइतबार बहराइनसँग बायोमास ओभलमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?