+
+

प्रश्न ऋषि धमलालाई होइन, आफैंलाई

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० असोज २६ गते १८:३०

कतै पढेको थिएँ– मानव मस्तिष्कको प्रारम्भिक काम सत्यको खोजी गर्नु होइन, बरु आफ्नै पूर्वाग्रहहरूको पुनःपुष्टि गर्ने सामग्री जुटाउनु हो ।

टिकटक, युट्युब, एक्स र फेसबुकको प्लाटफर्म मार्फत नागरिकका कल्पनाहरूको अपहरण नहुँदो हो त दुर्गा प्रसाईं सर्वथा उपेक्षाका लायक बन्ने थिए । ज्यानमारा गुण्डा नाइके रिगल ढकालले ऋषि धमलाको टिभीमा ‘प्राइम स्पेस’ पाउने थिएनन् ।

देवी खड्काहरूले प्रतीक्षा गरेको न्यायको अन्तिम लडाइँलाई शर्मिला वाइवाका काजु गफ र नाबालक छोरो सहितको करुणरसले विस्थापित गरिदिने थिएनन् । मलंगवा, धरान र नेपालगञ्जमा धार्मिक सनकीहरूले मच्चाउन खोजेको तनावलाई एल्गोरिदमले सयौं गुणा बढाइँचढाइ गर्न पाउने थिएन ।

हर्क साम्पाङका सन्ध्याकालीन गुणस्तरहीन गीतहरूलाई आरएसएसका चरमपन्थीहरूको शब्द–आतंकले विस्थापित गर्नुमा तिनको मात्रै होइन, हाम्रा गलत अभिरुचिहरूको पनि हात छ ।

भारतीय धर्मवादी दक्षिणपन्थीहरूको लहलहैमा लागेर हामीलाई मानव र चराचर जगतको कल्याण होइन, आफ्नो सम्प्रदाय र समुदायको महिमामण्डन, बाँकी सबैको तुच्छ खण्डनमण्डन नै धर्म हो भन्ने पर्न थालेको छ । अधर्मीहरूले धर्मको माइक कब्जा गर्न थाले भने बुझे हुन्छ– त्यो सत्यानाशतर्फको यात्रा हो ।

कुनै बेला रेडियो नेपालको समाचारमा ‘कार्यक्रम रिपोटर्स क्लबका ऋषि धमलाको सभापतित्वमा भएको थियो’ लाइन घुसाउन लगाएर चर्चामा आउन थालेका धमलाबारे किस्सै किस्सा छन् ।व्यक्तिगत भेटघाटमा उनी आत्मीय पनि लाग्छन् ।

पत्रकारितालाई अरू कसैले सेन्सर गर्न सक्दैन, तर पत्रकार आफैंले स्वयं परीक्षण र आत्म–निगरानी गरिराख्नुपर्छ । तर यो कुरा ऋषिका हकमा लागू हुन सक्दैन । नेपाली पत्रकारितामा उनको अलग्गै विधा छ । धमलाले टिभी र युट्युबे (युट्युबर होइन) बीचको भेद मेटाइदिएका छन् ।

यो कुरा भन्नुपर्ने खण्ड किन आइलाग्यो भने ऋषि धमला जतिसुकै अनावश्यक पात्र भए पनि नेपाली समाजका लागि पन्छाउनै नसकिने वास्तविकता बनेर हाम्रो दैनिकीमा घुस्न पुगेका छन् ।

हाम्रो हातमा मोबाइल छ । त्यसमा छ सोसल मिडिया । अब उनलाई रेडियो नेपालको एक लाइन बिल्कुल चाहिएको छैन । समाजमा जतिसुकै बद्नाम र कुख्यात अभियुक्तलाई पनि उनी सत्यनिष्ठाको जलप लगाइदिन सक्छन् ।

उनले पछिल्लो हप्ता लिएका दुई अन्तर्वार्तामा रिगल र दुर्गा प्रसाईंले बोलेका अपाच्य संवादहरूलाई म यहाँ उद्धृत गर्न समेत लजाउँछु । दुर्भाग्य यो छ कि, अहिले नयाँ पुस्तामा आउँदै गरेका कतिपय सञ्चारकर्मीहरूको सुरुवात नै धमला जस्तै चर्चित कसरी बन्ने ध्याउन्नबाट हुन्छ ।

यसको पनि कारण छ : संसारैभरि लेखपढका माध्यमभन्दा दृश्यको भाषा बढ्ता बुझिन थालेको छ । तपाईं हामीमध्ये अधिकांशको दिनचर्यामा पढ्नु कतिन्जेल पर्छ भनेर आफैंलाई प्रश्न गर्‍यो भने जवाफ फेला परिहाल्छ । दृश्यको भाषामा हामी मदमस्त भएर लट्ठिएका छौं ।

बिहान उठ्नेबित्तिकैको अति महत्वपूर्ण समयमा हामी बिछ्यौनामै मोबाइल खेलाउन थाल्छौं । कति समय बित्यो भन्ने पत्तै हुँदैन । परिवारसँगको समयलाई मोबाइलले अपहरण गरिदिएको छ ।

अघिल्लो बुवाआमा पुस्ताले हेरेन भने घरको टिभी त्यत्तिकै थन्किन्छ । कानमा इयरबड ठोसे पनि हाम्रो मानसिकतामा अरू कसैले हल्ला गरिरहेको हुन्छ । त्यो ऋषि धमला पनि हुन सक्छ । किनभने त्यो नै भाइरल हुन्छ । चाहे धमला हुन् चाहे उनका चेला ।

प्रविधि मान्छेले बनाएको हो, तर यसले मान्छेलाई चलाउँदैछ । उसको चेतनालाई चलायमान होइन अतिरञ्जित गराउँदैछ । यसलाई सबैका विचार र भावना पोख्न पाउने लोकतान्त्रिक स्पेस नाम त दिइएको छ, तर अल्गोरिदमको नियन्त्रणमा थाहै नपाई कैद भइसकेको हामी आफैंलाई पत्तो छैन ।

चलाउनै छाडौं म भन्दिनँ, तर जसरी ह्विस्कीको बोतलमा लेखिएको छ ड्रिंक रेस्पोन्सिब्ली । त्यसैगरी भन्नैपर्ने हुन्छ ट्वीट रेस्पोन्सिब्ली । वाच, पोस्ट अर सेयर रेस्पोन्सिब्ली । नत्र हाम्रो आजको रमाइलोका लागि थालिएको आदतले कसैको घर जलाउन सक्छ, कसैको बस्ती सखाप पार्न सक्छ

चैतन्य मिश्रका शान्त आवाजहरू भाइरल गराउने क्षमता त्यो ‘लोकतान्त्रिक स्पेस’ सँग छैन, बरु दुर्गा प्रसाईं जस्ता पूर्व माओवादी र पूर्वएमालेदेखि रिगल जस्ता कांग्रेस कार्यकर्तासम्मलाई एम्प्लिफाई गर्न सक्ने ताकत त्यसमा छ । ऋषिले अपराधी करार भएका डीआईजी रन्जन कोइरालालाई प्राइम टिभीमा बोलाएर जति चर्काचर्की गरे, त्यसको तुलनामा त्यही टिभीले बनाएको अर्को स्तरीय कार्यक्रम कति उपेक्षामा पर्न गयो होला, सहजै अनुमान गर्न सकिन्छ ।

राजनीतिक संवादका नाममा ऋषिले कलाविहीन प्रहसन देखाउनु र त्यसलाई रमाइलो मानेर हामीले हेरिराख्नु आजको दुःखदायी यथार्थ हो । बाँकी समय अभिनेत्रीहरूलाई गसिप र थर्ड क्लास प्रश्नहरू सोधेर पंगु बनाउनु उनको ‘नैसर्गिक अधिकार’ हो । लाग्छ, अभिनेत्रीहरूको कुनै कलायात्रा वा करिअर छैन ।

उनीहरूको उपयोगिता यौन र ग्ल्यामर सम्बन्धी छाडा प्रश्नहरूको भागीदार हुने नै हो । सिनेमा, संगीत, नाटक, साहित्यमा अरू थुप्रै महत्वपूर्ण पात्र छन्, जसको आज जवानी नहोला, तर प्रशस्तै महत्व छ । तिनले धमलाको स्टुडियोमा छिर्ने कुनै सम्भावना छैन । त्यसरी हिरोइनहरूलाई कलासाधक होइन, ‘उपभोगको मालवस्तु’ बनाएर, हल्काफुल्का सोधेर उनी आफू त पंगु हुनेवाला नै छैनन् ।

किनभने संयम र सन्तुलनका सबै सीमा नाघेपछि बनिने ऋषि धमला हो । रवि लामिछाने टिभीमा रहिरहेका भए ऋषिले उनलाई समेत आफ्नो चेला बनाइसक्ने थिए ।

यो सबै भन्नुपर्ने दरकार किन आइलाग्यो भने, सुरु–सुरुमा सम्भ्रान्तहरूले विस्तारित लोकतन्त्र नाम दिएको प्लाटफर्म आज घृणा, असत्य र पाखण्डको उजागर गर्ने ठाउँ बनेको छ । सोसल मिडियामा चलेको गलत हावालाई कतिपय टिभी, अनलाइनहरूलाई नांगो संरक्षण मात्रै गरेका छैनन्, आफैं उनीहरूको अगुवा बन्न खोजेका छन् । के नेपाली समाजलाई फक्स न्युज वा अर्नव गोस्वामीहरूकै प्रतीक्षा हो ? यो विषयमा डिजिटल स्पेसका सञ्चालकहरूले घोत्लिएर सोच्नुपर्ने भएको छ ।

त्यसैले यो आलेख लेख्नुको तात्पर्य अनलाइनखबरका पाठकका लागि थप एउटा सामग्री दिन होइन, एउटा नागरिकले कुन विन्दुबाट आफ्नो जिम्मेवारीबोध गुमाउँछ, कुन विन्दुमा ऊ गलत एल्गोरिदमबाट बच्न आफैं सचेत हुनुपर्छ भनेर आम विमर्श गर्नु पनि हो ।

यो पंक्तिकारलाई मिडिया बजार अर्कैले लिन लाग्यो भन्ने असुरक्षाबोध एकरत्ति छैन, त्यस्तो दिन आउनेवाला पनि छैन । बरु अभिव्यक्ति स्वतन्त्रताको नाममा अर्काको निजी जिन्दगीभित्र अनधिकृत घुस्ने बनाउँदै स्वतन्त्रताकै अपहरण गर्न थालिएकामा तीव्र चिन्ता छ । सत्यका अन्वेषकहरू उठिनसक्दै भ्रमका संवाहकहरू भाइरल भइसकेका हुन्छन् ।

अब त हुँदाहुँदा यस्तो दिन पनि आयो, आशलाग्दा नेतालाई फेसबुकले अति आशलाग्दा नेता बनायो । अति आशलाग्दा नेतालाई टिकटकले अत्याशलाग्दा बनायो । यस्तो किन भयो भने भुइँतहबाट संघर्ष गर्दै स्थापित भएको नेता कुनै बेला आफ्ना विचारहरूका कारण चर्चित हुन्थ्यो ।

अब त ऊ शानका साथ लक्जरी कारबाट ओर्लन्छ । आसेपासे र कार्यकर्ताहरू माला लगाइदिन्छन् । अघिपछि पुलिसहरूको ताँती हुन्छ । टिकटकमा उसको कुनै विचार आउँदैन, बरु कर्पोरेट नाफाको लागि साउथ इन्डियन स्क्रिप्ट राइटरले लेखेको सस्तो डाइलग ‘शेर वो होते है, जो कईबार जंगलमे…’ टाइपको मसला डाइलग बज्छ । त्यही भिडियो भाइरल हुन्छ ।

उसोभए के समाज अब नागरिकले केही सोच्नै नसक्ने गरी सोसल मिडिया शासित भइसकेको हो ? के सोसल मिडियाभन्दा पर्तिर अर्को कुनै जीवनको सम्भावना छैन ? के बलिउड र साउथ फिल्मका डाइलगभन्दा छुट्टै नेताको अस्तित्व छैन ? के मन्त्री, नेताहरूसँग प्रश्न बेगरको पडकास्ट सम्भव हुन्छ ? समाजलाई भविष्यसम्म असर पार्ने जवाफलाई प्रस्तोताले कानमा हेडफोन झुण्ड्याएर कसरी ‘ए, हो है, हगि’ भनेर टार्न सक्छ ?

आँखाको दृष्टि, ढाडको कुप्य्राइदेखि मानसिक स्वास्थ्य, अनि अन्तरव्यक्ति सम्बन्ध समेतलाई हानि पुर्‍याउने गरी हामी आफ्नो सार्वजनिक कल्पना फैलाउँदैछौं कि साँघुरो पार्दैछौं ? यो प्रश्न ऋषि धमला र आउँदै गरेका दर्जनौं धमलालाई होइन, तपाईं र मैले एकपल्ट आफैंलाई गरौं ।

बजारमा धेरै किसिममा ओखती र बिखादी पाइन्छन् भन्दैमा हामी ती सबै किन्दैनौं । आफूलाई जे चाहिएको त्यो कुरा कि त विशेषज्ञको सिफारिसमा, कि त आफ्नो आवश्यकतामा किन्छौं ।

त्यसैगरी के हामी आफ्नो शारीरिक, मानसिक, सामाजिक तीनै खाले स्वास्थ्यलाई गम्भीर असर पारिरहेका सूचना, मनोरञ्जन आदि सामग्री खपतमा यस्तै होशियारी अपनाउन सक्दैनौं ? कि सबै जना मूर्ख बन्न प्रतिस्पर्धा गर्दैछन् भने म किन पछि परुँ भन्न हामी पनि लाग्ने हो ?

दृश्यको भाषा बढ्ता बुझिन थाल्यो भन्दैमा हामीले आफ्नो सोसल मिडिया प्रयोगको घण्टा घटाउनै पर्छ । तथ्य परीक्षण गरिएका प्रशोधित सामग्री लिने बानी गर्नैपर्छ । गलत प्रचारमाथि प्रश्न उठाउनै पर्छ । अनि मात्रै जिम्मेवार नागरिक भइन्छ

भारतको नियोजित राजनीति साध्न अघि बढेको समूहले फैलाएका हिन्दुत्ववादी सामग्री किन हामीले आँखा चिम्लेर इन्डोर्स गर्ने ? यही कुरा बुद्ध, इस्लाम, क्रिश्चियन, किरात वा कुनै पनि खाले अतिवादीहरूका हकमा पनि लागू हुन्छ । अतिवादको कुनै धर्म हुँदैन ।

हामीकहाँ यति ठूलो बेरोजगारी छ, जसलाई कुनै धर्मगुरुले समाधान गर्नेवाला छैन । लोभ वा धम्कीमा धर्म परिवर्तन गराउन पाइँदैन भनी संविधान कानुनमा प्रष्ट लेखिएको धारा, दफाको परिपालनामा राज्यका इकाइहरू सक्रिय भएर लाग्नुपर्छ ।

युवा पुस्ताले त झन् आज विश्व नागरिक बन्न सिक्नुपर्ने बेलामा आफ्ना प्राथमिकताहरू के हुन्, के होइनन् भन्ने दृष्टिकोण सस्ता भाइरल कन्टेन्टको ओभरडोजका आधारमा होइन, ध्यान दिएर तयार पारिएका संज्ञानात्मक सामग्रीबाट बनाउनुपर्छ । नत्र ‘इन्टरनेट मान्छेको उत्कृष्ट आविष्कार थियो, फेसबुक टिकटकले डुबाइदियो’ भनेर हामीले मान्नुपर्ने हुन्छ ।

यथार्थमा हामीकहाँ खाद्य उत्पादनको यति ठूलो खाँचो छ, जसलाई कुनै महन्त, मौलाना, पास्टर वा सद्गुरुका प्रवचनले पूरा गर्न सक्दैनन् । समाजमा जमेर बसेको जातपात, लिंगभेद, सम्प्रदायवादलाई सोसल मिडियाले घटाउन योगदान दिएको देखिंदैन ।

नेतालाई कि त हिरो, कि त अपराधी जसरी चित्रण गर्ने प्रवृत्तिलाई सोसल मिडियाले कैयौं गुणा बढाइदियो । पोलिटब्युरो र केन्द्रीय कार्यसमितिले अनेक गल्ती गरेका होलान्, तर तिनको विकल्प मिम, ट्रोल प्रजनन केन्द्रहरूले दिन सक्दैनन् ।

प्रचण्ड, ओली, देउवाहरूमाथि जति आलोचना, प्रश्न गरे पनि कम हुँदो हो तर तिनको टाउकोमा कुकुर, गधाको जीउ जोडिएका तस्बिर लाइक, सेयर गरिदिंदा बेइज्जती नेता, कुकुर र गधाको होइन, तपाईंको हुन्छ । मैले शेयर गरें भने मेरो हुन्छ ।

मेरा केही लेखक साथीहरू छन्, जसले आफूले हजारौं–लाखौं फलोअर कमाइसकेको ट्वीटर स्पेसबाट हात झिकिसके । मोबाइलबाट एप नै अनइन्स्टल गरिसके ।

कृत्रिम चिजहरूलाई वास्तविक हो झैं गरी मानसिक भाँडभैलो मच्चाउने, अझ रोजीरोटीका लागि लडिरहेको तल्लो वर्गलाई वास्तविक आवश्यकताभन्दा टाढा पुर्‍याएर धर्म, राजनीति, व्यक्तिका निजी मामिला आदिमा घुस्न उद्यत गराउने शैलीसँग सतर्क गराउनै पर्छ । नत्र हामी सबै बिरामी हुन्छौं । बिरामी मस्तिष्कले स्वस्थ समाज बनाउँदैन ।

चलाउनै छाडौं म भन्दिनँ, तर जसरी ह्विस्कीको बोतलमा लेखिएको छ ड्रिंक रेस्पोन्सिब्ली । त्यसैगरी भन्नैपर्ने हुन्छ ट्वीट रेस्पोन्सिब्ली । वाच, पोस्ट अर सेयर रेस्पोन्सिब्ली । नत्र हाम्रो आजको रमाइलोका लागि थालिएको आदतले कसैको घर जलाउन सक्छ, कसैको बस्ती सखाप पार्न सक्छ ।

मान्छे मारेर जेलको सजाय काट्नु साटो शक्तिकेन्द्रलाई प्रभावमा पारेर निस्केको व्यक्तिलाई टिकटकको डाइलग जोड्दै फोकस्ड भिडियो खिचिएका दृश्यहरूमा हिरो बनाउने, त्यसैलाई सत्य मान्ने जमातमा हामी आफू किन मिसिने ? रिगलको अघिपछि कुदेका दर्जनौं गाडीलाई हामी किन मनमोहक भएर हेर्ने ? बुवाआमासँगै हुन पाउने सन्तानको हक किन सोसल मिडियाको सेन्सेसनका पछि लागेर खोस्ने ?

त्यसैले दृश्यको भाषा बढ्ता बुझिन थाल्यो भन्दैमा हामीले आफ्नो सोसल मिडिया प्रयोगको घण्टा घटाउनै पर्छ । तथ्य परीक्षण गरिएका प्रशोधित सामग्री लिने बानी गर्नैपर्छ । गलत प्रचारमाथि प्रश्न उठाउनै पर्छ । अनि मात्रै जिम्मेवार नागरिक भइन्छ ।

हामीले बसाल्ने त्यो बानी स्वतः धमला प्रवृत्तिका लागि दण्ड हुन जानेछ । दृश्यम नामक भारतीय सिनेमामा भनिन्छ : देखिंदैमा सबै कुरा सत्य हुँदैनन् । हामी त्यसैगरी स्वीकार गरौं, हामीले भिडियोमा देखे, सुनेका सबै कुरा सत्य होइनन् । जे देखिन्छ, सत्य त्यसभन्दा पर कतै लुकिबसेको हुनसक्छ ।

के हामी त्यो सत्यको अन्वेषण गर्ने, असत्यसँग आमनेसामने हुने साहस गर्छौं ? यति साहस गर्ने हो भने युट्युब, टिकटक, फेसबुक आदिमा आउने गलत सामग्रीलाई गलत औषधि मानेर अस्वीकार गर्ने साहस हामीमा हुनैपर्छ । अरू कसैका लागि होइन, तपाईं हामी र स्वस्थ समाजका लागि ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?