+
+

युरोपेली मुलुकसँगको श्रम सम्झौता नेपालका लागि कति महत्वपूर्ण ?

अच्युत पुरी अच्युत पुरी
२०८० असोज २५ गते २०:०६

२५ असोज, काठमाडौं । मंगलबार नेपाल र युरोपेली मुलुक जर्मनीबीच श्रम सम्झौता भयो । त्यसअघि अघिल्लो शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको थियो । यी दुवै मुलुकसँग श्रम सम्झौता गर्न गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको सरकारी टोली अझै युरोप भ्रमणमा छ ।

मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपालको श्रम गन्तव्यलाई तुलनात्मक रुपमा कामदारमैत्री श्रम कानुन रहेका र बढी आम्दानी हुने युरोपेली मुलुकतर्फ मोड्नु सकारात्मक पक्ष भएको सरोकारवालाहरुको विश्लेषण छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी खाडी र मलेसियाको तुलनामा कम्तीमा दोब्बर आम्दानी हुने र श्रमिकमैत्री कानुनहरु रहेका युरोपेली मुलुकमा नेपाली कामदारको वैधानिक यात्रा खोल्नु अनिवार्य जस्तै भएको बताउँछन् । ‘जुन सुरुवात भएको छ, यो निकै सकारात्मक काम हो,’ उनले भने, ‘युरोपको श्रम बजारमा नेपाली श्रमिकले मूल्य पनि राम्रो पाउँछन् ।’

जर्मनीमा दक्ष कामदारलाई अवसरको ढोका खुल्दै

नेपाल र जर्मनीबीच ‘दक्ष श्रम आप्रवासन तथा ज्ञान आदान प्रदान सम्बन्धी संयुक्त घोषणा पत्र’मा हस्ताक्षर भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलका अनुसार यस सम्झौताका दौरान जर्मनीको संघीय श्रम तथा सामाजिक मन्त्रालयकी उपमन्त्री लियोनी गेबर्सले जर्मन रोजगार बजारको आवश्यकताअनुसार नेपालका दक्ष कामदारलाई आप्रवासनका लागि संस्थागत बाटो खुला गर्ने बताएकी छिन् ।

सो अवसरमा उनले जर्मनीमा विदेशी दक्ष कामदार भर्ना गर्ने प्रक्रिया सहज बनाउन अहिले कार्यान्वयनमा रहेको ‘जर्मन स्किल्ड इमिग्रेसन एक्ट’का सकारात्मक पक्षबारे जानकारी गराएकी थिइन् ।

पोखरेलका अनुसार यसले जर्मनीसँग नेपाली कामदार लैजान वैधानिक बाटो खोलेको छ । अब सो मुलुकलाई चाहिने जनशक्ति तयार पार्न सके नेपालीले समेत जर्मनीमा अवसर पाउनेछन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसमेत अब नेपालको ध्यान अब ती मुलुकलाई चाहिने जनशक्ति उत्पादनमा जानुपर्ने बताउँछन् । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिएर ५१ जना जर्मनीमा रोजगारीका लागि पुगेका छन् ।

रोमानियासँग महत्वपूर्ण समझदारी

नेपालबाट गएर ठूलो संख्याका काम गरिरहेका नेपालीको गन्तव्य बनिसकेको रोमानियासँग सरकारी स्तरमा भने अघिल्लो शुक्रबार मात्र श्रम सम्झौता भएको छ । रोमानिमा रहेका र अब जाने नेपाली कामदारको हक, हित सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोमानियाले आगामी दिनमा पारदर्शी रुपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो राखेको छ ।

नेपालमा छिट्टै रोमानियाको राजदूतावास स्थापना गर्ने र आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरुका लागि सम्भावित सिपयुक्त श्रम वजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने गरी रोमानिया सहमत देखिएको छ ।

यो मुलुकसँग दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीप जस्ता विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने सहमतिसमेत भएको छ ।

रोमानियामा अहिले पनि ठूलो संख्यामा आप्रवासी कामदार कार्यरत छन् । त्यसमा पनि नेपाली कामदारको कार्य स्वभाव, इमान्दारी, लगनशीलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकाले नेपालबाट कामदार छोटो समयमा वैधानिक बाटोबाट लैजाने विषयमा रोमानियाले विशेष चासो राखेको श्रम मन्त्रालयले जनाएको छ ।

पछिल्लो सम्झौतासँगै कामदारको सामाजिक सुरक्षाको हकमा रोमानियामा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने बाटो समेत खुला गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर १३ हजार १३७ जना नेपाली रोमानिया पुगेका छन् ।

नेपालले लिन सक्ने फाइदा

जानकारहरुका अनुसार युरोपबाट आउने कामदारको माग एउटै क्षेत्रमा ठूलो संख्यामा हुँदैन । बरु गुणस्तरीय र दक्ष कामदार तर थोरै संख्यामा माग आउँछ । उनीहरुले राम्रो पारिश्रमिक पाउँछन् । सोहीकारण आगामी दिनमा बढी दक्ष जनशक्ति यी मुलुक पठाएर धेरै रेमिट्यान्स प्राप्त गर्न सक्नु नै नेपालले लिन सक्ने फाइदा हुनेछ ।

संघका अध्यक्ष भण्डारीका अनुसार युरोपमा कृषि, खाद्य उद्योग, निर्माण र सेवा क्षेत्रमा बढी आप्रवासी कामदारको खपत हुने गरेको छ ।

के हुन नेपालका चुनौती ?

वैदेशिक रोजगार विभागको आँकडा अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ७ लाख ७१ हजार ३२७ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । त्यसमध्ये एक वर्षमा उच्च दक्ष कर्मचारी मात्र २५७ जना विदेशिएका छन् । एक वर्षमा नेपालबाट विदेशिनेमध्ये २ लाख २ हजार ६१६ जना कामदार अदक्ष छन् । सामान्य काम सिकेर जाने कामदारको संख्या ५ लाख ६ हजार ७४६ जना रहेको छ । प्रोफेसनल कामदार मात्र १ हजार १५३ जना मात्र विदेश गएको तथ्यांक छ ।

यसबाट नेपालले अहिले पनि दक्ष कामदार उत्पादन गर्न नसकेको र उनीहरुलाई युरोपको यात्रा अझै जटिल छ भनेर देखाउँछ । सोहीकारण अब नेपालले गन्तव्यको मागअनुसार जनशक्ति विकासमा लाग्नुपर्ने संघका अध्यक्ष भण्डारी बताउँछन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?