+
+

राष्ट्रपतिलाई पूर्वराष्ट्रपति यादवको आग्रह : ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १९:४२

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासी सम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् ।

पूर्वराष्ट्रपति डा. यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरु सहित राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर सो ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति डा. यादव सहित विज्ञहरुले गर्नुभएको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्नभण्डार रहेको तराईमधेशको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि डा. यादव लगायतका विज्ञलाई बताएका थिए ।

मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द भएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको पनि डा. यादवले जानकारी दिए ।

पूर्व राष्ट्रपति डा.यादवले सो विधेयक संसदबाट जस्ताको त्यस्तै पारित भयो भने राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरु सहित राष्ट्रपतिसमक्ष आग्रह गर्न आउनुपरेको बताए ।

‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति नामको यो परियोजना राष्ट्रपतिको नाममा जोडिएको र म पनि यसमा संलग्न भइसकेको हुनाले राज्यले यसलाई बेवास्ता गरिरहँदा त्यसमा राष्ट्रपतिको ध्यानाकर्षण गराउनु आफ्नो पनि कर्तव्य हो भनेर भेट्न आएको हुँ’ डा. यादवले भने, ‘अन्नको भण्डार नष्ट भैरहेको छ, अब पनि चुरे दोहन नरोक्ने हो भने गम्भीर अवस्था सृजना हुन सक्छ ।’

सो अवसरमा पूर्व राष्ट्रपति डा. यादवसँग चुरे विज्ञ डा. विजयकुमार सिंह दनुवार, वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, जैविक विविधता विज्ञ डा. रामप्रसाद चौधरी, वन तथा चुरे विज्ञ डा. विनोद भट्ट, डा. नागेन्द्र यादव, कृषि विज्ञ डा. कृष्ण पौडेल सहभागी हुनुहुन्थ्यो ।

जैविक विविधता सम्बन्धी ६ जना विज्ञहरूले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासी सम्बन्धी प्रावधानलाई हटाउन लिखित आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?