+
+

कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको माओवादीद्वारा प्रतिवाद

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १५:२९

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गरेको राष्ट्रिय सरकार गठनको मागको माओवादी सांसदले प्रतिवाद गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर गौतमले राष्ट्रिय सरकार गठनको माग गरेका थिए । गौतम लगत्तै बोलेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको प्रतिवाद गरे ।

‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा रहने हो भने …’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारको विकल्प आवश्यक रहेको तर्क गर्दै कांग्रेस सांसद गौतमले भनेका थिए ।

कांग्रेस सांसद गौतमको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कामकारबाहीको बचाउ गरे । ‘सरकार सुशासन र सेवा प्रवाहमा दृढताका साथ अगाडि बढेको छ, यो अझ सशक्त बनोस्’, पाण्डेले भने ।

मुलुकको आर्थिक अवस्था सुधार हुन नसकेको कांग्रेस सांसद गौतमको भनाइप्रति लक्षित गर्दै माओवादी सांसद पाण्डेले भने, ‘देशको आर्थिक स्थिर अवस्थामा छ । यसलाई गतिशील बनाउनुपर्ने छ । उत्पादनमा जोड दिनपर्ने हुन्छ । प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ ।’

समग्रतामा वर्तमान सरकारको नेतृत्व बदलेर कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव सांसद गौतमको छ । उनले भनेका छन्, ‘यही गति र मतिमा चल्ने हो भने यस (सरकार)ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’

संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको उनको भनाइ छ । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ती र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन’ कांग्रेस सांसद गौतमले भनेका छन् ।

माओवादी सांसद पाण्डेले काउण्टर गरे, ‘सदनमा राष्ट्रिय सरकारको विषय पनि उठेको छ । म भन्न चाहन्छु- हामी देशलाई अगाडि बढाउने कुरा गरिरहेका छौं । फेरि अरु नयाँ नयाँ विषयहरु थप्दै, हामीलाई आफूलाई लागेका कुराहरु गरेका छौं । यो होइन ।’

देशले एउटा गति लिइरहेको दाबी गर्दै उनले थपे, ‘संविधान हामीले जो बनाएका छौं । यसलाई दृढताका साथ कार्यान्वयन गर्दै देशलाइ अगाडि बढाउन आवश्यक छ ।’

संविधानको रक्षा र संघीयताको कार्यान्वयनमा वर्तमान सरकारले काम गर्न नसकेको कांग्रेस सांसदको भनाइको प्रतिवाद गर्दै माओवादी सांसद पाण्डेले यसमा तीन वटै सरकार र संघीय संसद उत्तिकै जिम्मेवार रहेको बताए ।

संघीय संसदले समयमै कानुन बनाउन नसक्दा संघीयता कार्यान्वयनमा असर परिरहेको पाण्डेको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?