+
+

टी-२० आई सिरिज : नेपाललाई विश्वकप छनोट तयारीको अवसर

नमिता दाहाल नमिता दाहाल
२०८० असोज ३० गते २०:१५

३० असोज, काठमाडौं ।  नेपालले भोलि कात्तिक १ गतेलेखि घरेलु मैदानमा हङकङ र यूएई सम्मिलित टी-२० आई सिरिज खेल्दैछ ।

दशैंको रमझमको बेलामा सुरु हुन लागेको त्रिकोणात्मक सिरजको लक्ष्य नेपाललाई आईसीसी टी-२० विश्वकपमा छनोट गराउनु हो ।

डबल राउण्ड रोबिनमा हुने र शीर्ष २ टिमले फाइनल खेल्ने त्रिकोणात्मक प्रतियोगिता नेपालले आयोजना गर्नुको मुख्य लक्ष्य विश्वकप छनोट नै हो । यो प्रतियोगितामा सहभागी नेपालसहितका तीनै टिमको धेय छनोट खेलमा राम्रो नतिजा निकाल्नु हो ।

१० गते फाइनल हुने क्रिकोणत्मक शृंखला सकिएको ३ दिनपछि कात्तिक १३ गतेबाट काठमाडौंमा नै टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सुरु हुने छ ।

छनोट खेलअघि यसरी तयारी खेल्न पाउँदा दुवै टिमको बलियो र कमजोर पक्ष थाहा पाउने राम्रो मौका हुने कप्तान रोहितकुमार पौडेलले बताए । ‘यूएई निकै राम्रो टिम हो,’ उनले भने, ‘यो त्रिकोणात्मक सिरिजमा वेष्ट क्रिकेट खेलेर हामी सोही मोमेन्टमलाई निरन्तरता दिन चाहन्छौं । उनीहरुको कमजोर र बलियो पक्ष थाहा पाउने छौं ।’

हङकङ र यूएईले पनि चासो दिएकाले दशैंको बेलामा पनि हतार हतार प्रतियोतिगा आयोजना गरेको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बताए ।

‘तीनवटा राम्रो टिमहरुबीच सिरिज हुँदैछ,’ पूर्वकप्तान समेत रहेका पारसले भने, ‘यो सिरजले विश्वकप छनोटको खेललाई सहयोग गर्ने भएकाले हामीले छोटो समयको तयारीमा यो खेल खेल्दैछौं ।’

८ टिम सहभागी विश्वकप छनोटमा हङकङ र यूएई पनि छन् । तर नेपालले उनीहरुसँग समूह चरणमा खेल्नु पर्ने छैन । नेपाल रहेको समूह एमा ओमान, मलेसिया र सिंगापुर छन् । हङकङ, यूएईसहित बहराइन र कुवेत समूह बीमा छन् । समूहका शीर्ष २ टिम सेफिाइनलमा पुग्ने छन् र फाइनल खेल्ने २ टिमले टी–२० आई विश्वकपमा स्थान बनाउने छन् ।

विश्वकप छनोटका लागि नेपालले भारतमा तयारी गरेको थियो । नागपुरमा हाइपर्फमेन्स क्याम्प गरेर र त्यहाँ टी–२० फर्म्याटका केही अभ्यास खेलेर फर्किएका पौडेलले आफूहरुको तयारी राम्रो रहेको बताए ।
इण्डियन प्रिमियर लिग आईपीएल टिम राजस्थान रोयल्सको एकेडेमीमा नेपालले १० दिनको प्रशिक्षण क्याम्प गरेको थियो ।

एक दिवसीयबाट टी–२० मा परिवर्तन

विगत २ वर्षयता एकदिवसीय क्रिकेट खेलिरहेको नेपाल चीनमा भएको एसियाली खेलकुदबाट टी–२० फर्म्याटमा फर्किको छ । टी–२० विश्वकप छनोट टी–२० फर्म्याटको नै प्रतियोगिता हो । त्यसअघि हुने टी–२० फम्र्याटकै त्रिकोणात्मक शृंखला खेल्न पाउनु राम्रो भएको कप्तान रोहितकुमार पौडेलले बताए ।

‘हाम्रो तयारी नेपालमा र नागपुरमा पनि राम्रो भएको छ,’ उनले भने, ‘विश्वकप छनोट अघि हामीले राम्रो टिमहरुसँग खेल्न पाउँदैछौं । यो निकै राम्रो पक्ष हो ।’

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट नेपालको घरेलु मैदानमा हुने भएकाले नेपाललाई ठूलो फाइदा हुनेछ । नेपालले विश्वकै उत्कृष्ट मानिएका घरेलु दर्शकको अगाडि छनोट खेल खेल्नेछ ।

टी–२० क्रिकेटमा मोन्टी

एकदिवसीय क्रिकेटमा उत्कृष्ट नतिजा निकाल्दै नेपाली क्रिकेटलाई एसिया कपसम्म पुर्‍याएका मोन्टी देशाईँको टी–२० फर्म्याटमा परीक्षण पनि हुँदै छ ।

भलै उनको प्रशिक्षणमा नेपालले एसियाली खेलकुदमा टी–२० फर्म्याटमा खेलिसकेको छ । तर उनको जिम्मेवारी भनेको नेपाललाई विश्वकपमा छनोट गराउनु हुनेछ ।

एकदिवसीय क्रिकेट आईसीसी लिग–२ का खेल चलिरहेको र नेपालको एकदिवसीय मान्यता नै नै धरापमा रहेको बेला मोन्टीले प्रशिक्षण सम्हालेका थिए ।

त्यसअवस्थामा १२ मा ११ खेल जिताउँदै उनी नेपालको एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा सहभागी गराउन सफल भए । विश्वकप छनोट र एसिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्रहरुसँग खेल्ने अवसर पायो ।

लोकेश र सूर्यको पुनरागमन, सागर विवेक र प्रतिसलाई मौका

त्रिकोणत्मक शृंखला घरेलु मैदानमै हुने भएकाले प्रशिक्षक मोन्टीले टिममा १८ जना खेलाडीलाई राखेका छन् ।

उनले एकदिवसीय र टी–२० दुई फरक फर्म्याटका लागि फरक खेलाडीको समूह बनाउने योजनाका साथ १८ जना खेलाडीलाई टिममा राखेको क्यानका सचिव पारस खड्काले बताए ।

‘हामीले घरेलु मैदान त्यहिमाथि तयारी सिरिज खेल्ने भएकाले १८ जनाको ठूलो समूह राखेका हौं,’ उनले भने, ‘यसमा विशेषत प्रशिक्षक सरले खेलाडीमा पनि एकदिवसीय र टी–२० को खेलाडी छुट्याउने योजनाका साथ यसो गरेका हौं ।’

खेलाडीको क्षमता र योग्यता पहिचान गर्ने आफूहरुको लक्ष्य रहेको कप्तान रोहितले बताए ।

नेपालमा घरेलु क्रिकेट र उमेर समुहमा राम्रो छवी बनाएका युवा क्रिकेटरद्वय लोकेश बम र सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् ।

२०७६ सालमा यू–१९ बाट यात्रा सुरु गरेका लोकेश मिडल अर्डरका लागि राम्रो विकल्प हुन् ।

स्पिनमा सूर्य तामाङले टी–२० फ्रेन्चाइज क्रिकेटमा राम्रो प्रदर्शन गरेका थिए । पहिलो सिजन नेपाल प्रिमियर लिगमा सूर्य इमर्जिङ खेलाडी हुँदै टिममा परेका थिए ।

उनी पनि यू–१९ मा उत्कृष्ट प्रदर्शन गरेका बाया हाते स्पिनर हुन् । उनी विशेषतः टी–२० क्रिकेटमा ललित राजवंशीको राम्रो विकल्प हुन सक्छन् । ललित भखरै चोटबाट निको भएर टिममा परेका छन् ।

त्रिकोणात्मक सिरिजमा लेगस्पिनर सन्दीप लामिछाने नाम फिर्ता लिँदा श्याम (मौसम) ढकालले टिममा मौका बनाउन सक्नेछन् ।

टिममा परेकामा सागर ढकालका लागि टिममा निरन्तरता पाउन यो ठूलो मौका हुनेछ । बायाँ हाते अर्थोडक्स सागरले एसियन गेम्समा ललितको स्थानमा प्रतिस्थापन गरे पनि खेल्ने मौका भने पाएनन् ।
टिममा रहेर पनि प्लेइङ सेटमा नपरेका प्रतिश जिसी र विवेक यादवले पनि यो प्रतियोगितामा मौका बनाउन सक्छन् ।

एक वर्षभन्दा लामो समयदेखि टिममा रहे पनि प्रतिसले खेलमा भने निकै कम मौका पाएका छन् । एकदिवसीयमा पीएनजविरुद्धको खेलमा २०२३ फ्रेब्रअरीमा डेब्यु गरेका उनले ३ एकदिवसीयमा २ विकेट लिएका छन् ।

पूर्वकप्तान पारसको व्यवस्थापन डेब्यू

नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितिबाट गर्न लागिएको यो पहिलो प्रतियोगिता हो । असोज ६ गते चयन भएको नयाँ व्यवस्थापन र व्यवस्थापकका लागि पनि यो प्रतियोगिता घरेलु अन्तर्राष्ट्रियमा डेब्यू प्रतियोगिता हुनेछ ।

पहिलो पटक क्रिकेट व्यवस्थापनमा आएका पूर्वकप्तान समेत रहेका सचिव पारस खड्काका लागि पनि यो व्यवस्थापकीय डेब्यू हुनेछ ।

‘क्रिकेट व्यवस्थापनबाट पक्षबाट हाम्रो पहिलो प्रतियोगिता हो । अहिलेको अवस्थामा हामी यो प्रतियोगिता र विश्वकप छनोटको प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न चाहन्छौं’, पारसले भने, ‘नेपाललाई जसरी पनि विश्वकप पुर्‍याउनु पर्ने छ । त्यसैले पनि हामी हाम्रोतर्फबाट उत्कृष्ट दिनेछौं ।’

‘निर्वाचनपछि क्यानको पहिलो प्रतियोगिता भएकाले जोस र जाँगरका साथ पूरा गर्नेछौं’, क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले बताए ।

‘सक्दो राम्रो गर्ने प्रयास रहनेछ । विभिन्न समस्याहरको बावजुत पनि अहिले हाम्रो प्राथमिकता भनेको राम्रोसँग यी दुई प्रतियोगिता सम्पन्न गर्ने हो’, उनले भने ।

मुलपानी मैदानको टी–२० डेब्यू

टी–२० अन्तर्राष्ट्रिय खेलमा मुलपानी मैदानले भोलि कात्तिक १ मा हुने नेपाल र यूएईको खेलबाट डेब्यू गर्नेछ ।

एकदिवसीय फर्म्याटको खेल भइसके पनि टी–२० अन्तर्राष्ट्रियमा भने मुलपानीको मैदान पहिलो पटक प्रयोग हुनेछ । पछिल्लो समय निकै कम समयमा तयार भएको मूलपानी मैदानले एसीसी प्रिमियर कपका बेला एकदिवसीय क्रिकेटमा डेब्यु गरेको थियो ।

मुलपानी मैदानको पिच अहिले निक्कै राम्रोसँग तयार गरिएको क्यानका सचिव तथा पूर्व खेलाडी समेत रहेका पारसले बताए ।

उनले भने, ‘पिच तयार छ । क्रिकेटरको हिसाबले पनि पिच राम्रो तयार भएको छ ।यो पिच पछिल्लो समय प्रिमियर कपको बेला हतारमा तयार भएको थियो । अहिले समय पाएर पिच राम्रो देखिएको छ । हामीले हाम्रो तर्फबाट सबै तयारी गरिसकेका छौं ।’

मुलपानीमा दर्शकको लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको क्यान सचिव पारसले बताए ।

एसिया कपमा छनोट हुन नसके पनि विश्वकप छनोट हुने यूएईको लक्ष्य

वैशाखको पहिलो साता सुरु भएको एसीसी प्रिमियर कपमा घरेलु टिम नेपालसँग पराजित हुँदै एसिया कप खेल्नबाट रोकिएको यूएई यस पटक राम्रो तयारीका साथ नेपाल आएको छ ।

यूएईका कप्तान मोहम्मद वासिमले आफूहरु एसियान कप छनोट नभए पनि राम्रो क्रिकेट खेलेर विशवकपमा छनोट हुने आशा राखेको बताए ।

‘हामीले पछिल्लो समय एसिया कपमा क्वालिफाइ गर्न सकेनौं, त्यो एकदिवसीय थियो, यो टी–२० हो त्यसैले हामीले यो सिरिज जित्ने कोशिस गर्नेछौं । नेपालको लागि घरेलु मैदान निकै ठूलो फाइदा हुनेछ तर हामी छनोट हुने आशा राखेका छौं’, उनले भने ।

‘नेपाल राम्रो टिम हो । नेपालले विगत १ वर्षयता राम्रो क्रिकेट खेलिरहेको छ । हामीले पनि राम्रो तयारी गरेका छौं’, उनले खेलअघि पत्रकार सम्मेलनमा भने ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?