+
+

मनसुन अवधिमा मानवीय क्षति कम, भौतिक पूर्वाधारमा अर्बौंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ८:२७

१ कात्तिक, काठमाडौं । यस वर्ष मनसुनजन्य विपदबाट ९२ जनाको मृत्यु र १६८ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् ।

यस वर्ष तुलनात्मक रुपमा कम मानवीय क्षति भए पनि निजी आवास तथा अन्य भौतिक पूर्वाधारमा अर्बौंको क्षति पुगेको छ ।

गत वर्ष २०७९ सालमा एक सय दिनको मनसुन अवधिमा प्राकृतिक विपत्तिका ५१२ वटा घटना हुँदा १०७ जनाको मृत्यु भएको थियो भने ११ जना वेपत्ता र १९३ जना घाइते भएका थिए । सबैभन्दा बढी चट्याङबाट ४६ जनाको, पहिरोबाट २७ जनाको र बाढीबाट १४ जनाको मृत्यु भएको थियो ।

२०७४ सालमा बाढीपहिरोजन्य प्राकृतिक विपदबाट १५० जनाभन्दा बढीको ज्यान गएको रेकर्ड छ । त्यसपछि क्रमशः कम हुँदै जानुमा औसतभन्दा कम वषर्ा हुनु प्रमुख कारण रहेको जलस्रोत विज्ञ राजेन्द्र शर्मा बताउँछन् ।

यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो भने सरदर मिति (अक्टुबर २) भन्दा १३ दिनपछि असोज २८ गते पूर्णरूपमा बाहिरिएको थियो । नेपालमा १२४ दिनसम्म मनसुन रहँदा पूर्वप्रक्षेपण अनुसार नै सरदरभन्दा कम पानी परेको थियो । यो वर्ष करिब ८८ मिलिमिटर हाराहारी वर्षा भएको अनुमान छ । यसको एकिन विवरण जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गर्ने छ । औसत वर्षा भन्नाले ९० देखि ११० मिलिमिटरसम्मको वर्षालाई बुझाउँछ ।

भौतिक पूर्वाधारमा बढी क्षति

मनसुनको सुरुवाती दिनमै कोशी प्रदेश बढी प्रभावित भएको थियो । ताप्लेजुङ, पाँचथर र संखुवासभामा बढी प्रभावित भए । कोशीमा बाढीपहिरो र चट्याङका २४० घटना रेकर्ड छन् । त्यहाँ २५ जना बेपत्ता छन् । बागमतीमा ३ तथा कर्णाली र गण्डकीमा १/१ जना बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

यस वर्षको मनसुन अवधिमा जलविद्युतमा मात्रै ९ अर्ब र पक्की पुलमा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी निजी आवासमा करिब ३३ करोड, सडक, करिडोर तथा राजमार्गमा २८ करोड, झोलुङे पुलमा १२ करोड र खानेपानी संरचनाहरुमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

मनसुनबाट सबैभन्दा बढी प्रभावित कोशी प्रदेश भए पनि मानवीय क्षति भने लुम्बिनी प्रदेशमा धेरै भएको छ । लुम्बिनी प्रदेशमा मात्रै २० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

बाढीपहिरो, चट्याङ र डुबान लगायतका विपदबाट कोशी प्रदेशमा १९, बागमतीमा १८, गण्डकीमा १४, कर्णालीमा ११, सुदूरपश्चिममा ६ र मधेश प्रदेशमा ४ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

६१३० परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने २४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको छ । यसबाट निजी आवासतर्फ करिब ३३ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ ।

मनुसन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोडको क्षति अनुमान छ । त्यसैगरी २७ वटा झोलुङे पुलमा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा २८ करोड अनुमानित क्षति पुगेको छ ।

खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति अनुमान गरिएको छ । कृर्षितर्फ ३२१ पशुचौपाया र १२३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ । सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार संचालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

मनसुनकै अवधिमा बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी एकजनाको मृत्यु भयो भने ३० जना घाइते भएका छन् । भूकम्पबाट ३ हजार १४८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ११ हजार २२४ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी १२४ सार्वजनिक भवनमा पूर्ण र २०५ मा आंशिक क्षति पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?