+
+

५५ वर्षपछि पचली भैरव जात्रामा लिङ्गो ठड्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १५:२३

२ कात्तिक, काठमाडौं । यस वर्ष पचली भैरव जात्राका लागि यःसिं (लिङ्गो) ठड्याइएको छ । जात्रामा यो क्रियाकलाप करिब ५५ बर्षदेखि रोकिएको थियो ।

यसवर्ष रञ्जितकार समाजका युवाहरुको संस्कृति बचाउने भन्दै यःसिं ठड्याइएको हो । नेपाल मण्डलमा यःसिं (लिङ्गो) उठाएर जात्राका क्रियाकलाप सुरु गर्ने र ढालेर अन्त्य गर्ने चलन छ ।

यःसिं ठड्याएसँगै पचली भैरव (तेप आजु) जात्रा विधिवत सुरु भएको मानिन्छ । पचली भैरवको मन्दिर काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ मा रहेको । यस्तै जात्रा सञ्चालन गर्ने गुठियारहरु वडा नम्बर २० मा छन् । वडाहरुले जात्रा सञ्चालन व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् ।

जात्रा व्यवस्थापन समितिका अध्यक्ष रहेका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन भन्छन् ‘जात्रामा १९ वर्षसम्म रुद्रविनायकको सहभागिता थिएन । २०७१ सालमा समिति गठन गरेर पुनः आगमन गराइएको हो । यस वर्षदेखि यः सिं ठड्याउने चलनलाई पुनस्र्थापना गरेका छौं । जात्राका अङ्ग छुटाउँदै होइन, जोड्दै लैजानुपर्छ ।’

पचली भैरव क्षेत्र विकास समितिका महासचिव सन्तकुमार महर्जनका अनुसार यो पर्व किराँतकाल अघिदेखि नै राज्य र शक्तिसँग सम्बन्धित जात्रा हो । ‘राजा गुणकामदेवले दक्षिण कोलियोग्रामका क्षेत्रपालका रुपमा पचली भैरवको स्थापना गरेका हुन् । यो जात्रा राजासँग खड्ग साट्ने परम्परासँग जोडिएको छ ।

पचली भैरव शक्ति पीठ हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । यस ठाउँमा आएर नेपाली सेनाले पनि शक्ति पूजा गर्ने गरेको छ । काठमाडौंमा मनाइने २६ वटा जात्रा र पर्वमा गुर्जुको पल्टन लैजाने गरिएको छ । यसमध्ये पचली भैरवको जात्रा पनि एक हो ।

महानगरपालिकाको सम्पदा महाशाखा प्रमुख श्रृजृ प्रधानकाअनुसार रुद्रविनायक (मुक्ता गणेद्यः) को सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकाले ४ लाख रुपैयाँ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?