+
+

पुरुषले घर सम्हाल्ने कामलाई किन अझै सहज रुपमा लिइँदैन ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १४:०४

महिलाले घर, बालबच्चा र परिवार सम्हाल्ने विश्वव्यापी रुपमै आम चलन नै छ । अझ पूर्वीय मुलुकहरुमा त घर सम्हाल्ने महिलालाई राम्रो गुण भएकी महिला पनि मानिन्छ । तर यही काम पुरुषले गर्ने हो भने फरक दृष्टिकोणले हेर्ने गरिन्छ ।

पुरुष घरमा बसेर बालबच्चाको हेरचाह गर्छन् । र, महिला घरबाहिर काम गर्न जान्छिन् भन्ने सुन्दा हामी अचम्म मान्छौं । यसमा हाम्रो प्रतिक्रिया आश्चर्यजनक हुनसक्छ । र, हाम्रो मुखबाट वाह कस्तो राम्रो भन्ने हाम्रो प्रतिक्रिया नस्किन सक्छ ।

पुरुषले पहिला पनि घरमा बसेर काम नगरेका होइनन् । अहिले पनि काम गर्छन् । फरक यति मात्र हो कि अहिले मानिसहरू घरभित्रको जिम्मेवारी महिलाले मात्र लिनुपर्छ भन्ने मानसिकता छैन । यसबारे खुलेर बहस हुने गरेका छन् । अहिले धेरै देशमा महिला र पुरुष दुवैले घर हेर्ने गर्छन् ।

पछिल्लो समय केही देशमा ‘स्टे एट होम डयाड’को ट्रेन्ड बढ्दो छ । ‘स्टे एट होम डयाड’को मतलब हो बाबु घरमै बसेर आफ्नो बालबच्चाको ख्याल राख्नु ।

भारतको तमिलनाडुको विल्लुपुरम जिल्लाका वेंकट चालपाथी भन्छन्, ‘म घरमै बस्छु । म घरमै बस्ने बुबा हुँ ।’ वेंकटले सन् २०१० देखि घरमै बस्ने बुबाको भूमिका निर्वाह गरिरहेको बताउँछन् । सन् २००६ मा छोरी जन्मेपछि र २०१० मा सम्बन्धविच्छेद भएपछि वेंकटले अब जे गरे पनि छोरीको लागि मात्रै गर्ने सोचेका थिए ।

उनी भन्छन्, ‘मैले आफूलाई घरमा बस्ने बुबाको रूपमा चिनाउनेछु भन्ने लाग्दैन थियो । पहिले मान्छेहरु म घरमै बसेर रेखदेख गरेको कुरा गर्थे । तर मैले बेवास्ता गरें । ती कुराहरूले मलाई सताउँथे तर समयसँगै सबै शान्त भएका छन् ।’

उनी अगाडि भन्छन्, ‘घरमा छोरी राख्नुको मतलब जागिर र घर एकैपटक गर्ने अवस्था नहुनु हो । पैसा कमाउन घरबाटै सानोतिनो काम गर्छु । धेरैले घर सम्हाल्नका लागि दोस्रो विवाह किन नगरेको भन्ने गर्थे । तर मैले मानिसहरूका यी कुरामा कहिल्यै प्रतिक्रिया दिइनँ ।’

अमेरिकामा ‘स्टे–एट–होम डयाड’को अभ्यास सामान्य छ । बीबीसी संवाददाता अमान्डा रुगेरीको बीबीसी वर्क लाइफमा प्रकाशित रिपोर्टले सन् १९८९ र २०१२ को बीचमा अमेरिकामा ‘स्टे–एट–होम’ बुबाको संख्या द्रुत गतिमा बढेको उल्लेख गरेको छ । तर अझै पनि यस्ता परिवारको संख्या कम नै छ ।

अमेरिकामा ५.६ प्रतिशत महिला बाहिरको काम गर्छिन् भने पुरुष घरमै बस्छन् । २८.६ प्रतिशत परिवारमा बुबा बाहिर काम गर्ने र आमा घरमै बस्ने गर्छन् । यद्यपि, यी तथ्यांकहरुमा बेरोजगार र काम खोजिरहेका व्यक्तिहरू पनि समावेश छन् ।

युरोपियन युनियनको कुरा गर्ने हो भने यो संख्या अझ कम छ । एक अनुमानअनुसार १०० मध्ये एक जना पुरुषले आफ्नो करिअरबाट ६ महिनाको ब्रेक आफ्नो बच्चाको हेरचाह गर्ने गर्छन् भने तीनमध्ये एक जना महिलाले त्यसो गर्छन् ।

बाबुको भमिका बदलिदै

अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका वरिष्ठ लेक्चरर ब्रेन्डन चर्चिल भन्छन्, ‘अमेरिका र अष्ट्रेलिया जस्ता देशमा बुबाले आफ्ना छोराछोरीको पालनपोषणमा पहिलेभन्दा बढी चासो लिने अपेक्षा गरिन्छ ।’

ब्रेन्डन चर्चिल समाजशास्त्र पढाउँछन् । उनले अभिभावकत्वको विषयमा अनुसन्धान गरेका छन् । वेंकट पहिले जागिरे थिए । तर उनको जीवनले यस्तो मोड लियो कि उनले जागिर छोड्नुपर्‍यो ।

बेंगलुरुकी चिकित्सक एवं प्यारेन्टिङ कन्सल्टेन्ट डा. देवमिता दत्त भन्छिन्, ‘अमेरिकामा घरमै बस्ने बाबु हुनु सामान्य मानिन्छ । तर   नेपाल र भारत जस्ता देशमा पुरुष घर बस्नुलाई असमान्य रुपमा लिइन्छ । यो बिस्तारै परिवर्तन हुँदैछ ।’

उनी थप्छिन्, ‘विगत केही वर्षयता विशेषगरी कोभिडपछि ‘स्टे–एट–होम’ बुबाहरूको संख्या धेरै गुणा बढेको छ । मसँग काम गर्ने पुरुषहरू प्रायः घरबाट काम गर्छन् र यी सबै पुरुषहरूले घरमा धेरै जिम्मेवारी सम्हाल्छन् ।’

अमेरिकाको सेन्ट लुइसमा बस्ने मयंक भागवत पेशाले पत्रकार हुन् । २० वर्ष पत्रकारिता गरेपछि उनी अहिले घरमै बस्दै आएका छन् ।

उनी भन्छन्, ‘मेरी श्रीमतीले यहाँ अनुसन्धान गरिरहेकी छिन् । उनलाई सघाउन म यहाँ आएको हुँ । म घरमै बस्छु र घरबाट काम गर्छु । मयंक भागवत २०२१ मा आफ्नी श्रीमतीसँग अमेरिका आएका थिए ।

उनी भन्छन्, ‘यहाँ आएपछि हामीले केही कुरा परिवर्तन गर्नुपर्छ भन्ने सचेत निर्णय गरेका थियौं । म घरबाट काम गर्छु र म यो निर्णयमा खुसी छु ।

घरमा बस्दाका चुनौती

घरबाट काम गर्ने बुबाले काम मात्र गर्दैनन्, घरको जिम्मेवारी पनि निर्वाह गरिरहेको डा. देवमिता दत्त बताउँछिन् ।

उनी भन्छिन्, ‘हाम्रो समाजमा घरको काम पुरुषले पनि गर्नुपर्छ भन्ने पाठ सिकाएर हुर्काइएको छैन । तर मैले देखेको छु नयाँ जमानाका श्रीमान् र बुबाहरूले घरको काम सिक्न हरसम्भव प्रयास गर्छन् । मकहाँ आउने धेरैजसो घरका बुवाबाट काम गर्छन् । उनीहरु साँच्चै सबै कुरा सिक्न चाहन्छन् । मैले यो प्रवृत्ति सहरहरूमा बढी देखेको छु ।’

वर्क लाइफमा प्रकाशित एउटा लेखअनुसार पुरुष कुनै पनि स्तरमा हेरचाह प्रदान गर्न महिलाभन्दा कम छन् भन्ने प्रमाण छैन । हालै गरिएको एक अनुसन्धानले महिलाहरु जस्तै, पुरुषहरु पनि आमाबाबु बनेपछि हार्मोनल परिवर्तनबाट गुज्रिन्छन् । शरीरमा भएको यो परिवर्तनले व्यक्तिलाई धेरै पालनपोषण गर्ने वा बालबालिकाप्रति हेरचाह गर्ने भावना जागृत हुन्छ ।

वेंकट सुरुमा जब उनी पूर्ण समय घरमा बस्न थाले, सबै कुरा धेरै गाह्रो देखिन्थ्यो । उनका अनुसार हरेक दिन खाना पकाउनु ठूलो काम जस्तो लाग्थ्यो । ‘सबैभन्दा पहिले, खाना बनाउन धेरै समय खर्च गर्नुहुन्छ र त्यसपछि खाना खान अयोग्य हुन्छ । बाबुआमा सँगै बसेको भए अलिकति सहयोग हुन्थ्यो । तर अहिले धेरै वर्षपछि बिस्तारै सबै कुरा सहज भएको छ । अहिले छोरीको मनपर्ने खाना पकाउँछु र घरको बाँकी काम पनि गर्छु,’ उनी सुनाउँछन् ।

मंयक आफ्नो अनुभव सुनाउँछन्, ‘अमेरिकामा सबै काम आफैंले गर्नुपर्छ । विगत १० महिनादेखि घरको कामसँगै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएको छु । श्रीमतीले पनि घरायसी काममा सहयोग गर्छिन् । कहिलेकाहीं म थकित हुन्छु । त्यसैले उसले काम गर्छ । तर कार्यालयबाट आएपछि धेरै काम गर्न नपरोस् भनेर प्रयास गरिन्छ । तर एउटा कुरा प्रष्ट छ कि घर चलाउनु सजिलो काम होइन, धेरै मेहनत चाहिन्छ ।’

समाजको दृष्टिकोण

ठूला सहरहरूमा ‘स्टे–एट–होम ड्याड’ वा ‘वर्क फ्रम होम ड्याड’को अवधारणा देखिएको डा. देवमिता दत्त बताउँछिन् । जहाँ घरका पुरुषहरू घरबाटै काम गर्छन् वा व्यवसाय चलाउँछन् र महिलाहरू अफिस जान्छन् ।

मयंक भन्छन्, ‘अमेरिकी समाज निकै खुला छ, यहाँका मानिसहरु सानो परिवारमा बस्छन् । यहाँ आमाबुवा दुवैले घरमा बस्ने होस् वा काममा बाहिर जाँदा सबै कुरा गर्न आवश्यक छ । तर मेरो परिवारले यो निर्णयमाथि प्रश्न उठाएनन् ।’

तर सबैको कथा एउटै हुँदैन ।

वेंकट भन्छन्, ‘मेरी छोरी अहिले १२ कक्षामा छिन् । मैले घरमै बस्ने निर्णय गर्नुको कारण उनी बुझ्छिन् । जब मानिसहरू हामीसँग यसरी कुरा गर्छन्, हामी तिनीहरूलाई बेवास्ता गर्छौं र तिनीहरूमा कुनै ध्यान दिंदैनौं । म सोध्छु, के पुरुषलाई घरमा बसेर आफ्नो बच्चाको हेरचाह गर्ने अधिकार छैन? मयंक र वेंकट आफ्ना छोरीहरूलाई बढी समय दिन सक्षम भएकोमा सहमत र सन्तुष्ट देखिन्छन् ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?