+
+
टी-२० विश्वकप एसिया छनोट :

नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १४ गते ६:५५

१४ कात्तिक, काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।

मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

लय कायम राख्ने र दीपेन्द्रको रिप्लेसमेन्ट खोज्ने चुनौती

सिंगापुरलाई पहिलो खेलमा ८ विकेटले हराउँदा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे भने ब्याटिङमा कुशल भुर्तेलको अर्धशतक र आसिफ शेखसँगको साझेदारी महत्वपूर्ण थियो ।

कुशल र आसिफले ८४ रनको साझेदारी गरेपछि नेपालले १४६ रनको लक्ष्य २१ बल अगाडि पूरा गरेको थियो ।

पहिलो खेलमा प्राप्त जितको लयलाई नेपालले निरन्तरता दिन चाहन्छ । मलेसियाले पहिलो खेलमा ओमानलाई टक्कर दिएको थियो तर १५४ रनको लक्ष्य पछ्याउने क्रममा ३२ रनले पराजित भएको थियो ।

मलेसियाका युवा अलारउण्डर विरनदिप सिंह लयमा छन् र नेपालमा पनि फ्रेन्चाइज लिगलगायत अन्य प्रतियोगिता खेलिसकेका छन् । उनले पहिलो खेलमा ओमानविरुद्ध ३ विकेट लिनुका साथै अविजिते ५७ रनसमेत बनाएका थिए ।

पछिल्लो पटक नेपालले लगातार मलेसियालाई हराउँदै आएकोले आजको खेलमा पनि सोही लय कायम राख्दै जित निकाल्ने नेपालको योजना छ ।

तर मलेसियाविरुद्ध पछिल्लो भेटमा शतक प्रहार गर्दै अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी भने आज खेल्ने छैनन् ।

सिंगापुरविरुद्ध पहिलो रोजाइँमा रहेपनि खेलअघि वार्म अफ गर्ने क्रममा घाइते भएपछि उनले खेल नै गुमाएका थिए । उनको एंकलमा चोट लागेको छ ।

उनले विश्वकप छनोटका बाँकी खेलहरु गुमाउने सम्भावना छ । नेपालले गत वर्ष मलेसियालाई ८५ रनले हराउँदा दीपेन्द्रले क्याटिङमा अविजित ११० रन बनाएका थिए भने बलिङमा २ विकेट लिनुका साथै एक क्याचसमेत लिएका थिए ।

मलेसिया परिचित प्रतिद्वन्द्वी  भए पनि टी-२० खेल भएकोले कुनै टिमलाई कमजोर आँक्न नहुने क्रिकेटर शरद भेषावकर बताउँछन् । उनले मलेसियाको खेलाडीहरु पनि नेपालमा आएर फ्रेन्चाइज लिग खेलेकोले एक अर्काबारे जानकार रहेको बताए ।

‘मलेसियालाई सजिलो लिन मिल्दैन । मलेसियाले नेपालमा पहिला पनि खेलेको छ । मलेसियाका खेलाडीहरुले यहाँ आएर फ्रेन्चाइज लिगहरु पनि खेलिरहेका छन् । उनीहरुलाई हाम्रो बलियो र कमजोर पक्ष थाहा छ । हामीलाई पनि उनीहरुबारे थाहा छ,’ शरदले सिंगापुरविरुद्धको खेलपछि भनेका थिए, ‘निश्चित रुपमा नेपाल फेवरेट हुन्छ । तर हामी राम्रो खेलिरहे पनि पार्टीकुलर गेममा राम्रो खेल्नुपर्छ ।’

पहिलो खेल बिहान खेलेको नेपालले मलेसियासँग दिउँसो खेल्ने हुँदा टसले खासै असर नगर्ने शरदको भनाइ छ ।

दीपेन्द्रलको चोटले भने नेपाली टिममा चिन्ता थपेको शरद बताउँछन् । ‘दीपेन्द्र बलिङ ब्याटिङ र फिल्डिङमा उत्कृष्ट भएकोले यस्ता प्रतियोगितामा उनको प्रदर्शन भाइटल हुन्छ । प्रेसर सिचुएसनमा नै खेल चेन्ज गर्ने क्षमता उनीसँग छ,’ उनले भने, ‘अबको खेलमा उनको स्थान कसले कभर गर्छ हेर्न बाँकी छ । उनको रिप्लेसमेन्टमा बेन्च स्ट्रेन्थ कस्तो छ भनेर टेष्ट हुन्छ । पहिलो खेलमा विवेक यादवले उनको स्थानमा खेले । अब विवेक र सन्दीप जोराको भूमिका महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।’

नेपालले दीपेन्द्रको सट्टा दोस्रो स्पीनर खेलाउने वा अरुलाई मौका दिने भन्ने कुरा पिच कन्डिसनमा पर्ने उनले बताए ।

मलेसियामाथि हाबी नेपाल

नेपालका लागि मलेसिया नयाँ प्रतिद्वन्द्वी होइन । नियमित अन्तरालमा यी दुई टोलीबीच खेल हुँदै आएको छ । केही खेलमा मलेसियाले टक्कर दिए पनि नतिजामा नेपाल नै हाबी छ ।

टी-२० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच अहिलेसम्म ८ खेल भएकोमा नेपालले ७ खेल जितेको छ । मलेसियाले एक खेल मात्र जितेको छ ।

सन् २०२० यताको पछिल्लो पाँच टी-२० आई खेलको नतिजा हेर्दा नेपाल चार खेलमा विजयी भएको छ ।

नेपाल र मल्सियाबीच २०२१ र २०२२ मा त्रिकोणात्मक टी-२० शृङ्ला हुँदा कीर्तिपुरमा चार खेल भएको थियो र सबै खेल नेपालले जितेको थियो ।

२०२१ मा भएको त्रिकोणात्मक शृङ्लामा नेपालले मलेसियालाई ९ विकेट र ६९ रनले हराएको थियो भने २०२२ को शृङ्लामा नेपाल ६ विकेट र ८५ रनले विजयी भएको थियो ।

सन् २०२० को फेब्रुअरीमा भएको एसीसी इस्टर्न रिजन टी-२० मा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो ।

यस्तो छ नेपाल भर्सेस मलेसिया हेड टु हेड

टी-२० आई खेल : ८

नेपाल विजयी : ७

मलेसिया विजयी : १

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी-२० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०

नेपाल २२ रनले पराजित

 २०२१ त्रिकोणात्मक सिरिज

पहिलो खेलमा नेपाल ९ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६९ रनले विजयी

२०२२ त्रिकोणात्मक टी-२० शृङखला

पहिलो खेलमा नेपाल ६ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ८५ रनले विजयी

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?