+
+

सकिनुपर्ने बेलामा बल्ल सुरू भयो ग्वार्को ओभरपासको काम

पेनाल्टी लगाउनुपर्ने कम्पनीलाई म्याद थपिदिँदै सरकार

अमृत चिमरिया अमृत चिमरिया
२०८० कात्तिक १४ गते १८:५२

१४ असोज, काठमाडौं । चक्रपथ सडकखण्ड अन्तर्गत ललितपुरको ग्वार्को चोकमा ओभरपास सम्पन्न हुनुपर्ने म्याद चार महिनामात्रै बाँकी हुँदा बल्ल काम सुरु भएको छ । दुई वर्षमा सो ओभरपास बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो ।

त्यसअनुसार ११ फागुनसम्ममा परियोजना सम्पन्न हुनुपर्ने हो । तर, निर्माण कम्पनीले भर्खरै मात्रै काम सुरु गरेको छ । परियोजनाको काम करिब २० प्रतिशत मात्रै सकिएको र तीन सिफ्टमा काम गरे पनि यो समयमै सकिने सम्भावना नभएको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेश शाक्यले बताए ।

आशिष र समानान्तरको जेभीले इन्जिनियरिङ, प्रोक्योरमेन्ट तथा कन्स्ट्रक्सन (ईपीसी) मोडलमा १७ करोडमा सो परियोजनाको ठेक्का पाएको थियो । यो मोडलमा परियोजनाको लागत तथा समयावधि थप गर्न मिल्दैन । तर, सरकारले भने डिजाइनमा त्रुटि भएको भन्दै परियोजनाको म्याद थप गर्ने तयारी गरेको छ ।

नेपाल सरकारका पूर्वसहसचिव तथा सार्वजनिक खरिद विज्ञ कमल पान्डे ईपीसी मोडलको ठेक्कामा समय र लागत थप गर्न नमिल्ने बताउँछन् । सडक विभागले नै यसअघि स्वीकृत गरेको डिजाइनमा त्रुटि देखिएको भन्दै म्याद थप गर्नु गलत हुने बताउँछन् ।

‘डिजाइनमै त्रुटि भएर समयमा सम्पन्न नहुने अवस्था आएको हो भने त्यसमा हर्जना (लेट डिफल्ड पेनाल्टी) तिर्नुपर्छ, त्यसै म्याद थप गर्न मिल्दैन । काबुबाहिरको परिस्थिति हो र लागत नबढ्ने हो भने म्याद थपको विषय उठ्ला,’ उनले भने ।

परियोजनाको म्याद थप्नुपरेको खण्डमा लेट पेनाल्टी (हर्जना) तिर्नैपर्ने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिडिई राकेश महर्जन बताउँछन् । ‘ईपीसी ठेक्कामा म्याद थप्ने भन्ने नै हुँदैन तर काम समयमा गर्न नसकेको अवस्था आयो भने हर्जना लिएर निर्माण त सम्पन्न गर्नुपर्ने हुनसक्छ,’ महर्जनले भने ।

हर्जना कति लिन्ने विषय भने म्याद थप गर्नुपर्ने कारणअनुसार तय हुने उनले बताए । ‘अहिलेसम्म ओभरपासको भौतिक प्रगति २० प्रतिशत मात्रै भएको छ । पुलको जगको कामबाहेक अन्य खासै काम भएको छैन,’ महर्जनले भने । जमिनमुनिको माटो खँदिलो नभएका कारण डिजाइन परिवर्तन गर्नुपरेको उनी बताउँछन् । महर्जनका अनुसार ९ मिटर माटो पुरेर मात्रै ओभरपासको काम हुन्छ ।

निर्माण कम्पनी आशिष समानन्तर रेलिगेर जेभीका प्रतिनिधि विशाल कार्की माटोको कारणले निर्माणको प्रविधि नै परिवर्तन परेकाले परियोजना समयमा सकिन नसक्ने देखिएको बताए ।

‘पहिले डिजाइनमा राखेको प्रविधि अनुसारका मेसिन औजार यहाँको माटोमा काम लागेनन्, त्यहि भएर फेरि अर्को डिजाइन गरेर नयाँ मेसिन ल्याउन प¥यो त्यसकारण ढिला भएको हो,’ कार्की भन्छन्, ‘यो आर्थिक वर्षको अन्तिमसम्ममा सम्पन्न गर्ने गरी थप समय माग गर्नुपर्ने देखिएको छ ।’

ईपीसी मोडलमा पहिलो पटक काम गरेको र यो नेपालमै पहिलो भएकाले केही असहज भएको कार्कीले बताए । ‘लेट पेनाल्टीको कुरा अहिले भइसकेको छैन, हाम्रो कारणले भन्दा पनि प्राकृतिक रुपमा माटो कमलो हुँदा समस्या आएको हो, त्यही अनुसार सडक विभागले पनि हेर्छ होला,’ उनले भने ।

रिडजाइन र पाइल कास्टिङको लागि चाहिने मेसिन औजार विदेशबाट ल्याउनुपर्ने भएकोले समयमै काम नसकिने देखिएको विभागका इन्जिनियर शाक्यले बताए । ‘निर्माण कम्पनीले म्याद थपका लागि अहिलेसम्म औपचारिक माग गरेको छैन तर कम्तीमा २/३ महिना बढी समय लाग्ने देखियो,’ शाक्यले अनलाइनखबरसँग भने ।

मेकानिकल्ली स्टाबलाइज्ड अर्थ वाल निर्माण गर्दा जमिन मुनिको माटो सुधार गर्न धेरै समय लाग्ने भएकाले पनि म्याद थप्नुपर्ने देखिएको निर्माण कम्पनीले बताएको छ ।

के छ भौतिक प्रगति ?

आशिष समानन्तर रेलिगेर जेभीले २३ माघ २०७९ मा सडक विभागबाट डिजाइन स्विकृत गराएको थियो । सो डिजाइनमा काम गर्न नसकिने भन्दै गत १० भदौमा कम्पनीले पुनः परिमार्जित डिजाइन सडक विभागबाट स्वीकृत गरायो । नयाँ डिजाइनअनुसार १ दशमलव २ मिटर ब्यास र ३० मिटर लम्बाइका १२/१२ वटा पाइल गरी जम्मा २४ वटा पाइल निर्माण हुँदैछन् ।

फ्लाइओभर निर्माणका लागि साइटमा डिजाइनअनुसारको लेआउटको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । शाक्यका अनुसार र्‍याम्प निर्माणका लागि ४८ मिटर उचाइको डिजाइन तयार गरेको छ । फिलिङ गर्न चाहिने माटो काभ्रेको रोशी गाउँपालिकाबाट ल्याउने तय भएको छ ।

यस्तै ओभरपासको मुख्य पुलको जग हुने ठाउँमा रहेको ४३ केभीएको भूमिगत प्रसारण लाइन स्थान्तरण गर्ने काम भइरहेको छ । निर्माण व्यवसायीलाई सरकार हालसम्म १ करोड ३७ लाख २० हजार अग्रिम भुक्तानी दिइसकेको छ ।

ओभरपास छिटो बनाउन ललितपुर महानगरपालिकासहित अन्य निकायले संघीय सरकारलाई बारम्बार घचघच्याउँदै आएका छन् ।

संसदको विकास समितिका सभापति दिपकबहादुर सिंहले निर्माणको प्रगति सन्तोषजनक देखिएको बताए । ‘डिजाइनकै कारण धेरै समय गएको देखिन्छ । निर्माण पक्षबाट सकेसम्म काम चाँडै नै भइरहेको छ,’ सिंहले अनलाइनखबरसँग भने ।

    तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?