+
+

२३ प्रतिशतले बढ्यो मेटाको आम्दानी, ३ महिनामा कमायो ३४ अर्ब डलर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १४:३८

खर्च कटौतिका कदम तथा डिजिटल विज्ञापन व्यवसायमा भएको सुधारसँगै चालु अंग्रेजी वर्ष २०२३ को तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानी तथा मुनाफामा सन्तोषजनक वृद्धि भएको छ ।

बुधबार सार्वजनिक रिपोर्ट अनुसार जुलाई देखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानीमा २३ प्रतिशत वृद्धि भई ३४ अर्ब १५ करोड डलर पुगेको छ । यसअघि बितेको त्रैमासिकमा मेटा कम्पनीको आम्दानी ३३ करोड ५६ लाख डलर हुने प्रक्षेपण गरिएको थियो ।

सन् २०२२ को तेस्रो त्रैमासिकको तुलनामा यो वर्षको त्रैमासिकमा मेटाको आम्दानी २३ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिको आम्दानी २७ अर्ब ७१ करोड डलर थियो ।

रिपोर्ट अनुसार यो वर्ष मेटा कम्पनीले आफ्नो खर्च समेत घटाएको छ । गत वर्षको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको खर्च २२ अर्ब पाँच करोड रहेकोमा ७ प्रतिशतले घटेर २० अर्ब ३९ करोड डलरमा कायम भएको छ ।

तेस्रो त्रैमासिकमा मेटा कम्पनीको खुद मुनाफामा गत वर्षको भन्दा १६४ प्रतिशतले वृद्धि भएर ११ अर्ब ५८ करोड डलर पुगेको छ । गत वर्षको तेस्रो त्रैमासिकमा मेटाले जम्मा ४ अर्ब ३९ करोड डलर मुनाफा कमाएको थियो ।

रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९ करोड पुगेको छ भने मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब ५ करोड छ । दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा यो वर्ष ५ प्रतिशतले वृद्धि हुँदा मासिक सक्रिय प्रयोगकर्ता गतवर्ष भन्दा ३ प्रतिशतले बढेका छन् । यो गत वर्षको तुलनामा ७ प्रतिशत धेरै हो ।

वर्षको अन्तिम त्रैमासिकमा कम्पनीको कुल आम्दानी साढे ३६ अर्ब देखि ४० अर्ब डलर सम्म पुग्ने प्रक्षेपण मेटाले गरेको छ ।

स्मरण रहोस् मेटा कम्पनीले खर्च कटाउने भन्दै पछिल्लो १ वर्षमा २१ हजार कर्मचारी कटौती गरेको छ भने मेटाभर्स परियोजनामा अर्बौं डलर लगानी गरेको छ ।

गत फेब्रअरीमा यो वर्ष मेटाका लागि कार्यदक्षताको वर्ष हुने प्रतिबद्धता जनाएका सिइओ मार्क जुकरबर्गले मेटा कम्पनीको पछिल्लो वित्तीय प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । यसले निकै अस्थीर विश्व बजारमा कम्पनीका दीर्घकालीन अभियानलाई अगाडि बढाउनका लागि स्थायित्व प्रदान गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?