+
+

सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १७:५७

काठमाडौं । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ मंगलबार इन्टरनेटमा रिलिज भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलबाट फिल्म सार्वजनिक गरेको हो ।

२०७९ सालको जेठ १३ गते हलमा रिलिज भएको १७ महिनापछि फिल्म युट्युबमा रिलिज भएको हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । हलमा मात्र यसका झण्डै आठ लाख टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

घरमा मात्र होइन, विदेशमा समेत फिल्मले १० करोडभन्दा बढीको कमाइ गरेको अनुमान गरिएको छ । हलमा रिलिज भएदेखि नै दर्शक यो फिल्मलाई युट्युबमा हेर्ने पर्खाइमा थिए । निर्देशक रामबाबु गुरुङले इन्टरनेट समुदाय र दर्शकमाझ फिल्म सार्वजनिक गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताए ।

मुस्ताङको थकाली समुदायको सेटिङमा प्रेमकथा प्रस्तुत गर्ने ‘कबड्डी ४’ टिकटकमा समेत उच्च पाइरेसी हुने नेपाली फिल्म हो । पाइरेसी गरिएका फेसबुक, टिकटक र युट्युब पृष्ठलाई रोक्न निर्माताले साइबर ब्युरोमा समेत उजुरी दिएका थिए ।

निर्देशक तथा निर्माता गुरुङ आगामी वर्ष पाँचौं श्रृंखला ल्याउने तयारीमा छन् । यस वर्ष ‘डिग्री माइला’ बनाएर त्यसपछि कबड्डीलाई पुनः दर्शकमाझ ल्याउने बाँसुरी फिल्म्सको तयारी छ । ‘कबड्डी ४’ को कुरा गर्दा यसमा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर लगायत शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?