+
+

नेपालमा गुटेरेसका अर्थपूर्ण पदचापहरु

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० कात्तिक १४ गते १८:१४

इजरायलमा हमासको क्रुर हमला, अनि त्यसको प्रतिवादमा इजरायलले निहत्था प्यालेस्टाइनी, अस्पतालका बिरामी तथा स्वास्थ्यकर्मी, केटाकेटी आदिलाई निशाना बनाउँदै थालेको जथाभावी आक्रमणले यतिबेला संसार स्तब्ध छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यस्तो बेला शान्तिको पहल थाल्नुसाटो बिदा मनाउन नेपाल गएको भन्दै अरु देशहरुमा आलोचित भइरहेका छन् ।

सगरमाथादेखि अन्नपूर्ण क्षेत्रसम्म, पाटनदेखि लुम्बिनीसम्म घुमेका राष्ट्रसंघ महासचिवको यो छुट्टीयात्रा भने होइन । यो उनको पूर्वनिर्धारित भ्रमण योजनाको कार्यान्वयन मात्रै हो, जो गाजामा हमास आक्रमणका कारण निर्धारित मितिभन्दा दुई सातापछि धकेलिएको थियो ।

चार दिने नेपाल यात्राका क्रममा उनले इजरायल–प्यालेस्टाइनको तनावबारे दोहोर्‍याएर अभिव्यक्ति दिइरहेका छन् ।

उनका अभिव्यक्तिहरुलाई शक्तिराष्ट्रहरुले गम्भीरतापूर्वक लिनेमा भने आशंका छ । यसै पनि कतिपय देशमा राष्ट्रसंघ अर्थात् युनाइटेड नेशन्सले थालेका प्रयास कि त असान्दर्भिक, कि त निरर्थक हुन पुगेको भन्दै तत् देशका नेताहरुले युनाइटेड नोथिङ भनी कटाक्ष गर्ने गरेको हामी इतिहासमा पढ्न पाउँछौं । कतिले त गीतै बनाएका छन्, राष्ट्रसंघलाई उडाउन ।

यति हुँदाहुँदै पनि बहुध्रुवीय हुँदै गएको विश्वमा राष्ट्रसंघजस्तो संस्थालाई ठाडो अस्वीकार गर्ने परिस्थिति भने कतै उत्पन्न भएको छैन । यसर्थ नेपालको हिमालदेखि मधेशसम्म गुटेरेसले छाडेका पदचापको मात्रै होइन, संसदमा उभिएर उनले बोलेका अभिव्यक्तिहरुको ठूलो अर्थ छ ।

आज मंगलबार अपराह्न नेपालको संसदबाट महासचिव गुटेरेसले ‘मध्यपूर्वको तनाव’ अन्त्य गर्न फेरि अपिल गरेका छन्, जबकि राष्ट्रसंघमै बलशाली सुरक्षा परिषद् राष्ट्रमध्ये संयुक्त राज्य अमेरिकाले गाजामा युद्धविरामको प्रस्तावको समेत समर्थन गर्न सकेको छैन ।

गुटेरेसले मंगलबार अपराह्न नेपालको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा शक्ति राष्ट्रहरुको खिचातानीमा साना मुलुक परिरहेको टिप्पणी गर्न छुटाएनन् ।

राष्ट्रसंघ महासचिवले भने, ‘गरिबी र भोकमरीमा विश्वले दशकौंयता प्राप्त गरेको उपलब्धि नै उल्टिँदैछ, महिलाको प्रतिनिधित्वदेखि पारिश्रमिकसम्म पुरुषभन्दा कम्ती छ । ठूला राजनीतिक शक्तिहरुको प्रतिस्पर्धामा साना मुलुकहरुले क्षति भोगिरहेका छन् । तर दुई ठूला देशहरुको बीचमा आफ्नो सम्प्रभुता र स्वाधीनताको यात्रा नेपाल आफैंले तय गरिसकेको छ ।’

पोर्चुगलको समाजवादी पार्टीका नेता हुँदै त्यहाँ प्रधानमन्त्रीसमेत बनिसकेका गुटेरेसले नेपालको युद्धबाट शान्तियात्राको विश्लेषण गर्दा आफ्ना वैचारिक दृष्टिकोणहरुलाई परोक्ष रुपमा अभिव्यक्त हुन दिए ।

उनले शान्ति प्रक्रिया टुंगो लगाउन २० वर्षयता भएका कामको प्रशंसा गरे । नयाँ गणतान्त्रिक संविधानले आफ्नो केन्द्रमा राष्ट्रसंघको बडापत्रलाई राखेको उनले चर्चा गर्न छुटाएनन् ।

युद्धबाट शान्तिका लागि नेपालले गरेको यात्रामा राष्ट्रसंघको समर्थन छ भन्न पाउँदा आफूलाई गर्व लागेको, तथा सत्यनिरुपण, क्षतिपूर्ति, न्यायको खोजीमा महिलाहरुको अर्थपूर्ण सहभागिता चाहिने उनले मत राखे । गुटेरेसले भनेका छन्, ‘अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने, यहाँको सर्वोच्च अदालतको निर्णय तथा पीडित केन्द्रित प्रक्रियालाई कार्यान्वयन गर्न राष्ट्रसंघ सघाउन तयार छ ।’

गुटेरेसले हरेकपल्टको नेपाल यात्रामा आफू आश्चर्यचकित हुने गरेको भन्दै यहाँको जैविकमात्रै नभई साँस्कृतिक विविधतासमेतको प्रशंसा गरे । जलवायु परिवर्तनले उत्पन्न संकट चिर्न कोप २८ को तयारीमा अग्रसर बन्न उनले आग्रह गरे ।

महासचिव गुटेरेसले जलवायुसम्बन्धी न्याय पूरा हुनुपर्ने बताए । विकसित देशहरुले वार्षिक एक खर्ब डलरको वाचा पूरा गर्नुपर्ने, जलवायु अनुुकुलनका लागि त्यो रकम खर्च हुनुपर्ने, संकटापन्न समुदायहरुलाई लक्षित गर्दै काम गर्नुपर्ने उनको मत छ ।

संसार बहुध्रुवीय बन्दै गएकामा राष्ट्रसंघ महासचिवले सन्तोष व्यक्त गरेका छन् । त्यसलाई सन्तुलनमा राख्नु आफैंमा चुनौतीपूर्ण रहेको, तर गतिला बहुपक्षीय संस्थाहरु बन्दै गए भने संसार शान्त र गतिशीलसमेत बन्दै जाने उनको भनाइ छ । गुटेरेसले संसार बहुपक्षीय हुँदै छ भन्नुको अर्थ सामान्य छैन । शीतयुद्द अन्त्यसँगै सन् १९९० यता महाशक्ति बनेको अमेरिकाको शक्ति अब चुनौतीरहित रहेन भन्नेमा स्वयं राष्ट्रसंघका प्रमुख नै समर्थक बन्न पुगेका छन् । युरोपबाट प्रतिनिधित्व गर्दै राष्ट्रसंघ नेतृत्व गरेका महासचिवले अमेरिकी भाष्यभन्दा भिन्न रहेर आज नेपालको संसदमा बोलेका शब्दहरुको दुरगामी अर्थ हुनेछ ।

गुटेरेसले विश्वको शान्ति स्थापनामा राष्ट्रसंघलाई दोस्रो ठूलो योगदानकर्ताका रुपमा नेपालले सेना प्रहरी पठाउने गरेकामा त्यसको कदरमात्रै गरेनन्, बरु त्यसक्रममा वीरगति प्राप्त गर्ने शान्ति योद्धाहरुप्रति गहिरो समवेदनाका लागि मौनधारणको अपिलसमेत गरे ।

उनले अरु देशमा व्यापक वन फँडानी र जलवायु क्षति हुँदैगर्दा नेपालले पुनः वन संरक्षणमा प्राप्त गरेको सफलताको मुक्तकण्ठले प्रशंसा गर्न भुलेनन् ।

यिनै प्रयासहरुका कारण नेपाल विश्वको साथी बनेको भन्दै उनले विश्व नै नेपालको साथी बन्ने बताउनुको खास परिप्रेक्ष्य छ । किनभने शक्तिराष्ट्हरुको किचाघानमा राष्ट्रसंघजस्तो संस्थासमेत परिरहेका बेला साना देशहरुले थाल्ने बहुपक्षीय अगुवाइमा नेपालसमेत अग्रभागमा आउन थालेको यथार्थ उनी आफैंले आत्मसात गरेका छन् ।

गुटेरेसको लुम्बिनी यात्रा पनि महत्वपूर्ण बन्न गएको छ ।  मंगलबार त्यहाँ पुगेर उनले विश्वशान्तिमा लुम्बिनी र गाैतम बुद्दका सन्देशहरुको महत्व अझ बढ्न गएको बताए ।  संसारमा शान्तिको खोजी भइरहेका बेला आफू लुम्बिन नआइरहन बस्न नसक्ने भन्दै उनले प्राथमिकतासाथ कुरा राखे । लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने पहलमा गुटेरेसको भ्रमणले बल नै दिनेछ । नेपालको  शिष्टाचार भ्रमणमा आएका महासचिव गुटेरेससँग तोकिएका खास एजेन्डा नभए पनि अहिलेको विश्व–तनावलाई राष्ट्रसंघ महासचिवले नेपालमा आएर सम्बोधन गर्न खोज्दा हाम्रो देशको महत्व बढ्न जानेछ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?